नेविसंघमा नयाँ नेतृत्व
काठमाडौंः कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् ।
बिहीबार दिउँसो सम्पन्न मतगणनामा महर आफ्ना निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यभन्दा १ सय १९ मत बढी ल्याएर निर्वाचित भएका हुन् । महरले १४ सय ४७ मत ल्याएका छन् ।
झन्डै नौ वर्षपछि निर्वाचित कार्यसमिति पाएको संघका नवनिर्वाचित अध्यक्ष महर सभापति शेरबहादुर देउवापक्षीय हुन् भने आचार्य नेता रामचन्द्र पौडेल पक्षधर हुन् । देउवाको गृहजिल्ला डँडेल्धुराकै महर यसअघि नेविसंघका उपाध्यक्ष थिए । सुरुमा डँडेल्धुरामै पत्रकारिता गरेका महर झन्डै दुई दशकदेखि नेविसंघको राजनीतिमा छन् । नेविसंघका विषयमा पुस्तक पनि लेखका महर अध्ययनशील विद्यार्थी नेताका रूपमा पनि परिचित छन् ।
देउवा पक्षबाट महर र अर्का नेता जितजंग बस्नेतबीच को अध्यक्षमा उम्मेदवार हुने भन्ने तीव्र मतभेद थियो । अन्त्यमा देउवाले अध्यक्षका आकांक्षी बस्नेतलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने वचन दिएर महरलाई उम्मेदवार बनाएका थिए । देउवा पक्षबाटै खुमबहादुर खड्का निकट शुभराम बस्नेत पनि अध्यक्षमा चुनाव लडेका थिए । बस्नेतले मात्र ४७ मत पाए ।
यता पौडेलको प्यानलमा भने आचार्य आधिकारिक अध्यक्षका उम्मेदवार बनेपछि अर्का बलिया उम्मेदवार आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेनसिंह ठकुरी र बच्चन कार्कीले बागी उम्मेदवारी दिएका थिए । त्रिपाठीले ३ सय ४८ मत, आचार्यले १४ मत, ठकुरीले ६९ र कार्कीले १२ मत पाएका छन् ।
त्यसैगरी संघका दुवै महामन्त्री देउवा प्यानलका कुन्दनराज काफ्ले र सरोजकुमार थापा निर्वाचित भएका छन् । काफ्ले १७ सय ९४ मत र थापा १२ सय ९० मत पाएर विजयी भएका हुन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी पौडेल प्यानलका दीपक भट्टराईले १२ सय ८६ र हिमालदत्त श्रेष्ठले १२ सय ६५ मत पाएका छन् ।
संघको उपाध्यक्षमा प्रदेश नम्बर १ बाट विकास केसी, दुईबाट सञ्जय यादव, प्रदेश ३ बाट रामप्रसाद अधिकारी, प्रदेश ४ बाट डिल्लीराम सुवेदी, प्रदेश ५ बाट श्रीप्रकाश राना, प्रदेश ६ बाट खड्गबहादुर डाँगी र प्रदेश ७ बाट पुष्पकुमार शाही निर्वाचित भएका छन् । त्यस्तै समावेशीतर्फ दलितबाट सागर परियार, महिलाबाट उर्मिला थपलिया, जनजातिबाट नवीन राई र मधेसीबाट पवन यादव निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा शिव रिमाल १२ सय ८७ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निमा गिरीले ९ सय ३४ मत पाएका छन् ।
त्यस्तै सहमहामन्त्रीमा प्रदेश नम्बर १ बाट कृष्ण कार्की, प्रदेश २ बाट राजेशकुमार रौनियार, प्रदेश ३ बाट माधवप्रसाद ढकाल, प्रदेश ४ बाट हरिहर शर्मा, प्रदेश ५ बाट प्रकाश घिमिरे, प्रदेश ६ बाट ईश्वरबहादुर बिष्ट र प्रदेश ७ बाट अत्युतराज कलौनी निर्वाचित भएका छन् ।
त्यस्तै समावेशीतर्फ महिलाबाट साधना घिमिरे, दलितबाट ललिता सुनार, जनजातिबाट दीपेन राई, मधेसीबाट परमेश्वार साह, उपत्यकाबाट प्रेमराज जोशी र पिछडिएको क्षेत्रबाट अम्बिका चलाउने निर्वाचित भएका छन् ।
सदस्यमा प्रदेश नम्बर १ बाट प्रमिका रानामगर, ममिता राई, चन्द्रसुन्दर खेवाङ, तीर्थराज राई, सन्तोषी उप्रेती र सागर प्रसाईं निर्वाचित भएका छन् । त्यस्तै प्रदेश नम्बर २ बाट अमृता यादव, मेघा शाही, नवराज देवकोटा, रघुवीर कार्की, राकेशकुमार यादव र राजाबाबु प्रसाद निर्वाचित भएका छन् । प्रदेश नम्बर ३ बाट कल्पना पौडेल, ज्ञानु तिमिल्सिना, जयराम दाहाल, तेजबहादुर बानियाँ, भोला नेपाल र रत्नहरि ढुंगेल निर्वाचित भएका छन् । त्यस्तै प्रदेश नम्बर ४ बाट वानुका पन्त, पुनम भट्ट, देवकृष्ण पराजुली, भानुभक्त ढकाल, रामचन्द्र भट्टराई र शंकरराज घिमिरे निर्वाचित भएका छन् ।
त्यस्तै प्रदेश नम्बर ५ बाट अप्सरा अधिकारी, अर्चना रेग्मी, जाहेन्द्रप्रसाद शेरचन, लेखनाथ भट्टराई, सुदर्शन खनाल र हरिबोल भट्टराई निर्वाचित भएका छन् । त्यस्तै प्रदेश नम्बर ६ को सदस्यमा रमा थापा, सुशील गिरी, खड्गबहादुर बुढा, तारकप्रतिभा केसी, पूर्णबहादुर शाही र हरिप्रसाद शर्मा निर्वाचित भएका छन् । त्यस्तै प्रदेश नम्बर ७ बाट ईश्वरी वन, कौशिला भट्ट, गणेश भट्ट, दीपेन्द्र चन्द, देवराज जोशी र वीरेन्द्र गिरी निर्वाचित भएका छन् ।
आदिवासी जनजाति महिलाबाट गीता गुरुङ, पुन लामा र शारदा लामा विजयी भएका छन् । जनजाति पुरुषबाट उमेश थापामगर, गोपाल गुरुङ, चेतबहादुर मगर, दीपेशराज भण्डारी, मिलन आले र लिखितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
मधेसी महिलामा अस्मिता बर्मा र ममताकुमारी महतो निर्वाचित भएका छन् । त्यस्तै मधेसी पुरुषमा दिनेश साह, निरज अग्रवाल, विजय राय, विशाल गुप्ता र शिवशंकरकुमार गोइत निर्वाचित भएका छन् ।
दलित महिलामा पम्फा गान्धारी र रेखा परियार निर्वाचित भएका छन् । त्यस्तै दलित पुरुषमा चन्द्र विश्वकर्मा, पवन नेपाली र पूजन गन्धर्व विजयी भएका छन् ।
त्यस्तै थारू महिलामा नमिता चौधरी र पुरुषमा अशोककुमार चौधरी निर्वाचित भएका छन् । मुस्लिम महिलामा सितारा बानु र पुरुषमा फिरोज आलम निर्वाचित भएका छन् । अपांग महिलामा कल्पना खड्का र पुरुषमा दीपेन्द्र खड्का निर्वाचित भएका छन् ।
त्यस्तै उपत्यका महिलामा एलिजा ढकाल र रूपा पोखरेल निर्वाचित भएका छन् भने पुरुषमा कमल बुढा, जयन्द्रबहादुर स्वाँर, सुशील भट्ट र डम्बरराज जोशी निर्वाचित भएका छन् ।
प्राविधिक महिलामा मेली शाह, पुरुषमा कुलराज खनाल र पुष्पराज बस्नेत निर्वाचित भएका छन् । संस्कृत विश्वविद्यालयबाट लक्ष्मण पन्थी र विजय गौतम निर्वाचित भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट उज्ज्वलराज घिमिरे, विप्लव खड्का र सुवास कठायत निर्वाचित भएका छन् ।
पोखरा विश्वविद्यालयबाट नवराज त्रिपाठी, मध्यपश्चिम विश्वविद्यालयबाट अनिलबहादुर शाही, त्रिवि केन्द्रीय क्याम्पसबाट प्रकाश सेढाईं, त्रिवि आंगिक क्याम्पसबाट शैलेन्द्र शर्मा र सुनिल पोखरेल निर्वाचित भएका छन् । काठमाडौं विश्वविद्यालयबाट रितेश चिमोरिया, सामुदायिक क्याम्पसबाट प्रेमबहादुर शाही र रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रबाट सुमित्रा शाही र ईश्वर धामी निर्वाचित भएका छन् । विदेश क्षेत्र खुलाबाट पदम भट्टराई र मदन भण्डारी, सीटीईभीटीबाट अर्जुन बम र राजेश केसी निर्वाचित भएका छन् ।
पदाधिकारीमा देउवाका ११, सिटौला र पौडेलका नौ/नौजना
नेविसंघका नवनिर्वाचित पदाधिकारीमा सभापति देउवा पक्षका अध्यक्ष र एक महामन्त्रीसहित १० जना निर्वाचित भएका छन् ।
त्यस्तै पौडेल पक्षबाट नौ र नेता कृष्णप्रसाद सिटौला पक्षका पनि नौजना पदाधिकारी विजयी भएका छन् । यो समीकरणले नेविसंघको केन्द्रीय समितिमा पनि सिटौला पक्ष निर्णायक रूपमा देखिएको छ ।
देउवा पक्षबाट अध्यक्ष महर, महामन्त्री थापासहित प्रदेश नम्बर १, २ र ३ का उपसभापति, मधेसी उपसभापति, प्रदेश नम्बर ५ र ६ का सहमहामन्त्री, उपत्यका र पिछडिएको क्षेत्रको सहमहामन्त्री विजयी भएका छन् ।
त्यस्तै पौडेल पक्षबाट प्रदेश नम्बर ५ र ६ का उपसभापति, महिला, जनजाति र दलित उपसभापतिका साथै महिला, जनजाति र प्रदेश नम्बर ४ को सहमहामन्त्री जितेका छन् । त्यस्तै पौडेल पक्षकै रिमाल पनि कोषाध्यक्ष निर्वाचित भएका छन् ।
त्यस्तै सिटौला अर्थात् गगन थापा र प्रदीप पौडेल पक्षका महामन्त्री कुन्दन काफ्लेसहित प्रदेश नम्बर ३ र ४ का उपाध्यक्ष, प्रदेश नम्बर १, २, ३ र ७ का सहमहामन्त्री र मधेसी र दलित सहमहामन्त्रीले जितेका छन् ।
नेविसंघमा देउवासँग समीकरण गर्नुपर्ने अडान प्रदीप पौडेलले राखेका थिए ।
प्रतिक्रिया दिनुहोस !