अदृश्य शक्तिले ढुङ्गा बर्साएपछि...
झापाः पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् ।
स्थानीय ज्यामिरगढी–९ गोमनसरीमा एक सातायता चारवटा घरमा ढुङ्गा बर्सिन थालेपछि सर्वसाधारण आतङ्कित भएका हुन् । एक स्थानीयवासीले भने, ‘सुरुमा एउटै घरमा मात्रै ढुङ्गा बर्सिन्थ्योे, अहिले चारवटा घरमा पालैपालो बर्सिन थालेको छ ।’
नागपञ्चमीका दिन बेलुका ६ः३० बजे स्थानीय विमला निरौलाको घरमा ढुङ्गा बर्सिएको थियो तर अहिले नरबहादुर निरौला, कमल निरौला, तुलसा बढाथोकीका घरमा पनि ढुङ्गा बर्सिन थालेको छ ।
ढुङ्गाले लागेर स्थानीयवासी तुलसा बुढाथोकी, तारा निरौला र मञ्जु कार्की घाइते भएका छन् । अदृश्य रुपमा आउने ढुङ्गाले आतङ्कित बनेपछि सतीघट्टा प्रहरी चौकीका इञ्चार्जको टोलीले सुरक्षा दिइरहेको छ ।
दैनिकजसो भेला भएका स्थानीयवासीले ढुङ्गा कहाँबाट कसले हान्छ भन्ने विषयमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय धामी दीर्घबहादुर बुढाथोकीले ढुङ्गा भूतप्रेतले हानेको दाबी गरेका छन् । रासस