‘प्रधानमन्त्रीको भारत भ्रमण अघि नै राजदूत नियुक्ति हुन्छ’
काठमाडौंः परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ति हुने बताएका छन्। मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि नै भारतका लागि नेपाली राजदूत नियुक्ति गर्नेबारे कुराकानी भइरहेको स्पष्ट पारे।
रिपोटर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री महतले भने,‘भारत र चीन दुवै ठाउँमा राजदूत नियुक्ति गर्छौं र खाली रहेका अन्य मुलुकहरुमा पनि नियुक्ति गर्छौं।’
मन्त्री महतले विश्वासमा आधारित भएर छिमेकी भारत र चीन लगायतका मुलुकहरुसँग सम्बन्ध विकसित गर्ने पनि बताए। मन्त्री महतले आर्थिक रुपले प्रगति गरिरहेका दुई ठूला छिमेकी राष्ट्र भारत र चीनबाट नेपालले बढी भन्दा बढी फादा लिन सक्ने गरी विश्वासिलो सम्बनध विकसित गरी अघि बढ्ने बताए।
मन्त्री महतले विदेशमा बसेका नेपालीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राख्ने पनि बताए। उनले खाडी मुलुकका दूतावासलाई नेपाली नागरिकको सुरक्षामा केन्द्रित हुने गरी सक्रिय पार्ने आफ्नो योजना रहेको पनि बताए।
नेपालको अर्थतन्त्र खाडी मुलुकमा नेपालीहरुले पठाउने बिप्रेषणबाट धानिएको भन्दै महतले उनीहरुको सुरक्षा आफ्नो प्रमुख प्राथमिकतामा रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !