थवाङका बर्मन बुढा प्रचण्डलाई भेट्न बालुवाटारमा
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रोल्पा थवाङका बामपन्थी अग्रज बर्मन बुढाले भेट गरेका छन् । शनिबार साँझ भएको भेटमा बुढाले प्रचण्डसँग थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गरेका छन् ।
प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवासमा पुगेका बुढाले स्थानीय तह पुनसंरचना आयोगले मगर बाहुल्य बस्तीलाई अलग–अलग गाउँपालिका प्रस्ताव गरेको भन्दै रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन माग गरेका हुन् । उनले गाउँपालिकाको केन्द्र थवाङलाई बनाउनु पर्नेसमेत माग गरेका छन् ।
प्रचण्डसँगको भेटमा बुढाले भने, ‘जनयुद्धको बेला अजम्बरी गाउँ थवाङ जनसत्ताको केन्द्र थियो, अहिले हामीले गाउँपालिकाको केन्द्र मात्रै मागेका छौँ ।’
उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालय भन्छ, ‘प्रधानमन्त्रीले थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम मिलाएर एउटै गाउँपालिका बनाएर त्यसको केन्द्र थवाङलाई बनाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
बर्मन बुढासहित १५ जनाको प्रतिनिधि मण्डलले बालुवाटार पुगेको थियो । उनीहरुले एउटै भाषा, संस्कृति, मनोभावना, साझा आर्थिक निर्भरता, आर्थिक स्रोत उपलब्धता, प्रशासनिक सुगमता जस्ता अनुकूलताका कारण ६ गाविसलाई एउटै गाउँपालिका बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।
प्रतिनिधि मण्डलले जनयुद्धको अजम्बरी गाउँ थवाङलाई थप परिचित बनाउनसमेत माग गरे ।
भेटमा प्रधानमन्त्रीले बर्मन बुढासँगको भेट आफ्ना लागि उर्जा भएको भन्दै चुनौतीलाई अवसरमा बदल्ने संकल्पसहित दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताएका छन् । थवाङबासीको मागबारे प्रधानमन्त्रीले भने, ‘स्थानीय तह पुनसंरचना समितिले आफ्नो काम गरिरहेको छ । यसको कार्यदेश निष्कर्षमा पुग्छौँ । थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउन मेरो पुरै सहमति छ । त्यसका लागि आवश्यक पहल गर्नेछु ।’
प्रतिक्रिया दिनुहोस !