'कर्मचारीले राजनीति होइन, जनताको काम गर्नुस्’
!['कर्मचारीले राजनीति होइन, जनताको काम गर्नुस्’](https://annapurnapost.prixacdn.net/media/albums/krishna-Prasad-Sitaula-57c2e15cbeae89.91429827_vksSV5L7FA.jpg)
भद्रपुरः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेता जस्तो नभइ सरकारी कर्मचारी भएर काम गर्न झापाका स्थानीय विकास अधिकारी खेमराज ओझालाई चेतावनी दिएका छन्।
झापाको भद्रपुरस्थित भद्रपुर प्रेस क्लबको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय विकास अधिकारी ओझालाई नेता भएर एकथरी कार्यकर्तालाई मात्र च्यापेर नहिड्न चेतावनी दिए।
झापा क्षेत्र नम्बर–३ का सांसद समेत रहेका कांग्रेस नेता सिटौलाले भने, ‘तपाईं सरकारी कर्मचारी हो, राजनीति गर्ने काम हाम्रो हो तपाईंको होइन। २ सय ४० निर्वाचन क्षेत्रका सांसद छन्, समानुपातिक सांसद छन्। तिनीहरुले गर्छन् राजनीति। तपाईंको काम जनताको काम गर्ने हो।’
नेता सिटौलाले स्थानीय निकायदेखि सरकारसम्मलाई खबरदारी गर्ने काम पत्रकारको भएको बताएका थिए। नेता सिटौला बोल्न अघि आफूविरुद्ध पत्रकारले लेखेको भन्दै पत्रकारहरुमाथि स्थानीय विकास अधिकारी ओझाले आक्रोश पोखेका थिए।
सिटौलाले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक रहेको बताए। विकास निर्माण सबैको चासो र सरोकारको विषय भएकाले दलहरु जुट्नु पर्नेमा जोड दिँदै उनले विकास भए त्यसको जस सबैले पाउने उल्लेख गरे।
सिटौलाले विकास निर्माणका काममा सरकारी कर्मचारीको ढिलासुस्ती भएको भन्दै कार्यक्रममै रहेका कार्यालय प्रमुखहरुप्रति आक्रोश पोखे। उनले भने,‘भद्रपुर–विर्तामोड, मेची पुल, भद्रपुर शीत भण्डार, भद्रपुर राजगढ हुलाकी सडकको निर्माण कार्यलाई भद्रपुर नगर अधिकृत, स्थानीय विकास अधिकारी, स्थानीय प्रशासनले किन ध्यान दिइरहेको छैन?’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)