अस्मिता जोगाउँदै ‘अस्मिताको लुट’

अस्मिता जोगाउँदै ‘अस्मिताको लुट’

काठमाडौंः रक्सीको नशा लागेपछि उसले भाउजू भनेन, आमाझैं कसले हुर्कायो भनी उसले सोचेन... बलात्कारका घटना बेहोर्न नारीले टाढा जानै पर्दैन, घरैभित्र असुरक्षा भएपछि भन्दै ज्योति पौडेलले कविताका अंशहरू गुन्गुनाउँदा राष्ट्रकवि माधव घिमिरे गम्भीर बने । उनले विधवाका पीडालाई पनि साहित्यिक मनहरूमाझ प्रस्तुत गरिन्, ‘त्यै पुरुष आज गर्दछ उनकै सतित्व हरण, मान्छेको यस्तो सोचले पार्‍यो जिउँदै हरण... ।’

राजधानीको लैनचौरस्थित राष्ट्रकवि आफ्नै घरको भेटघाट कक्षमा थिए । उनी दुई दशकदेखि अमेरिकामा बस्दै आएकी कान्छी छोरी ज्योतिको पहिलो खण्डकाव्यको घुम्टो उघार्न तम्तयार थिए । बुधबारदेखि तेस्रो कृतिको धनी बन्दै गरेकी ज्योति नेपालमात्र होइन, विश्वभर हुने बलात्कारका घटनाको एकपछि अर्को सन्दर्भलाई काव्यमा उन्दै थिइन् ।

देवरले भाउजूलाई गरेको बलात्कारको कवितांशबाट सुरु गरेकी उनले विधवापछि घरभित्रकै बुवा, हजुरबुवा, काका, मामा, दाजु, ससुरा, जेठाजु, भिनाजुले गरेका बलात्कारका सन्दर्भलाई प्रस्तुत गर्दै गइन् । घरभित्रबाट बाहिरका सन्दर्भ जोड्दै उनले थपिन्, ‘अस्मिताको लुट शीर्षकमा मैले खण्डकाव्यको दोस्रो शृंखलामा घरबाहिर बूढीआमा, असहाय, बालिका, विधवामाथिको शोषण, समलिंगीको प्रसंग र सामाजिक सञ्जाललगायत सन्दर्भ समेटेकी छु ।’

खण्डकाव्यको तेस्रो खण्डमा उचनीचका प्रसंगहरू छन् । चौथो खण्डमा सामूहिक बलात्कारबारे बेलीविस्तार लगाइएको छ । पाँचौंमा रक्षक नै भक्षक बनेका उदाहरणहरू पस्किएकी छन् । खण्ड ६ मा युगगुगान्तरदेखि यौन शोषण भइरहेका घटना पोखिएका छन् भने अन्तिम खण्ड सातौंमा न्याय पाउने, अपेक्षाका आशा र मनको दियो बाल्न सबैमा गरिएका अनुरोध र आग्रह आएका छन् ।

राष्ट्रकविको घरमा बुधबार भिन्दै खुसी छाएको थियो । ९७ वर्षीय आफ्नै बुवा प्रमुख अतिथि बनेर किताब विमोचन गर्दा ज्योतिको मुहारमा अनौठो भाव थियो । छेउमा राष्ट्रकविकी पत्नी महाकाली थिइन् । पतिले विमोचन गरेपछि उनी पनि अघि सरिन् । कान्छी छोरी ज्योतिले आमाको उत्साहलाई जगाउँदै तिनै दुई कृति पुनः विमोचन गर्न दिइन् ।

राष्ट्रकवि घिमिरेले काव्यमा घरभित्र र बाहिरका विविध पात्र, प्रवृत्ति र परिवेशलाई नारी अस्मिता अपहरणका विभिन्न पक्ष प्रस्तुत गरेको बताए । बलात्कारका मार्मिक घटना समेटेर समाजभित्र लुकेर रहेका पात्र र प्रवृत्ति उजागर गरेको उनको भनाइ छ । उनले भने, ‘जबसम्म महिला योग्य छन् भन्ने मानसिकता सबैको दिमागमा भरिन्नँ तबसम्म बलात्कारको अन्त्य हुँदैन र लेख्नका लागि खुराक बनिरहन्छन् ।’ प्राडा उषा ठाकुरले समाजमा महिला र बालिकाप्रति गरिने विकृत ज्वलन्त उदाहरणहरू काव्यमा समेटेको बताइन् ।

कार्यक्रमको रौनक बुवाको प्रेरणाबाट संगीत क्षेत्रमा रहेकी जेठी छोरी शान्ति अधिकारीले कार्यक्रम सञ्चालन गरिन् भने पाँचौं नम्बरकी छोरी ठूलीकान्छी स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. किरण रेग्मीले सबैलाई धन्यवाद दिँदै कृति स्वास्थ्य क्षेत्रमा प्रेरणादायी भूमिका खेल्ने खालको भएको बताइन् । काइँली छोरी सहप्राध्यापक उषा अधिकारीले समाजमा विकराल रूप लिएको बलात्कारका विविध आयामलाई एउटै कृतिमा समेट्नु चानचुने नभएको बताइन् ।

पति बद्री पौडेल प्रकाशक रहेको र संसारभरि छरिएर रहेका विभिन्न किसिमले शोषितपीडित नारी र बालिकामा समर्पित कृतिमाथि समीक्षा गर्दै बालकृष्ण अधिकारीले भने, ‘कुरूप विषयलाई पनि काव्यमा सुन्दर फूलझैं उनेकाले अस्मिताको लुटले सबैको मन जित्न सफल हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.