८ महिनाभित्र १८ जहाज किन्ने पर्यटनमन्त्री शाहीको घोषणा
काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय र आन्तरिक उडानका लागि १८ वटा विमान किन्ने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय उडानका लागि कम्तिमा ६ वटा र आन्तरिक उडानका लागि १२ वटा विमान किन्ने बताए।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले भने,‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकता छ, मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ५÷६ वटा बोयिङ अथवा एयरवस र आन्तरिक उडानको लागि १०÷१२ वटा विमान ल्याउने योजना बनाएको छु, त्यसको लागि गृहकार्य सुरु गर्छु, यसमा पत्रकारहरुको साथ र सहयोग चाहिन्छ, विमान किन्न म पछि हट्दिन।’
मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याएमात्रै पर्यटन क्षेत्रको विकास हुने बताए। उनले भने,‘विगतमा जहाज ल्याउने तयारी गर्दा सँधैभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चन थियो, अब त्यो नहोस भन्ने म चाहन्छु, यसमा सबैको सहयोग चाहिन्छ, पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि हामीले फराकिलो मनले सोच्नुपर्छ, पर्यटन क्षेत्रको विकास भयो भने मात्रै मुलुक समृद्ध हुन्छ।’
उनले भने,‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो वीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौं, पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौं।'
उनले हाल वर्षमा ५०÷६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै आफ्नै अन्र्तराष्ट्रिय उडानको लागि जहाज भए उक्त रकम स्देशी पुँजीको रुपमा रहने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !