आइएस प्रवक्ता अल अदनानी मारिए
बेरुतः रूसी रक्षा मन्त्रालयले आतंकवादविरुद्ध मंगलबार सिरियामा गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट (आइएस) का प्रवक्ता तथा प्रमुख रणनीतिकारको मृत्यु भएको जनाएको छ ।
रूसी रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी आफ्नो गुप्तचर संस्थाले रूसद्वारा अलेप्पोमा गरेको हवाई आक्रमणमा आइएसका ४० जना लडाकुसहित यसका प्रवक्ता अबु मोहम्मद अल अदनानी मारिएको खुलासा गरेको छ ।
आइएस प्रवक्ता अदनानीको मृत्यु आइएसका लागि निकै ठूलो क्षति हुने रूसले बताएको छ । आइएसका प्रमुख नेताहरूका लागि सिरिया र इराक महत्वपूर्ण आ श्रयस्थल मानिँदै आएका छन् ।
त्यसैगरी अमेरिकाले पनि अदनानीविरुद्ध लक्षित गरी सिरियाली प्राचीन सहर अलेप्पोको उत्तरपूर्वी भागमा हवाई आक्रमण गरेको पेन्टागनका प्रेस सेक्रेटरी पिटर कुकले दाबी गर्दै कारबाहीमा भएको क्षतिबारे सूचना लिइरहेको बताएको छ ।
आइएस प्रवक्ता अदनानी पश्चिमा मुलुकविरुद्ध कारबाही सशक्त बनाउन आफ्नो समूहलाई निरन्तर प्रोत्साहित एवं निर्देशन दिँदै आएका आइएस समूहका महत्वपूर्ण व्यक्ति भएको जनाइएको छ ।
सिरियामा गरेको कारबाहीमा ३२ सर्वसाधारण मारिए
टर्कीको सेनाले आइतबार र सोमबार टर्कीसँग सीमा जोडिएको सिरियाली क्षेत्रमा गरेको हवाई आक्रमणका क्रममा ३२ जनाको ज्यान गएको छ । यसअघि उक्त हमलामा २० सर्वसाधारणको मृत्यु भएको समाचार आएको थियो ।
इस्लामिक स्टेट (आइएस) जिहादी समूह र कुर्दिस लडाकुलाई लक्ष्य गरी टर्कीले जारी राखेको हवाई आक्रमणमा सोमबार पनि जारी रहेको थियो । पश्चिमा समर्थित सिरियाली मानवअधिकारवादीले भने मारिने सबै सर्वसाधारण मात्र रहेका दाबी गर्दै आएका छन् । उक्त कारबाही कुर्दिस समूह र आइएसलक्षित रहेको टर्कीले जनाएको छ ।
यस हवाई आक्रमणका क्रममा अन्य ५० भन्दा बढी घाइते भएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्दुल रहमानले बताएका छन्। सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै सुरु भएको आन्दोलनले पछिल्ला कैयौं वर्षदेखि गृहयुद्धको रूप लिएको छ ।
जारी गृहयुद्धको क्रममा आइएस, अल कायदा र कुर्दिस लडाकुहरूको बिगबिगी जारी रहेको बताइन्छ । यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशको सिमानामा हिंसा पनि बढेको पाइन्छ । सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी २ लाखभन्दा बढी व्यक्तिको निधन भएको छ ।