‘राजनीतिक दलहरु जनताका मुद्दा छोडेर बरालिन थाले’
काठमाडौंः नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पछिल्लो समयमा राजनीतिक दलहरु जनताका मुद्दा छाडेर बरालिन थालेको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार सर्वसाधारणसँगको नियमित भेटघाटका क्रममा डा. भट्टराईले नयाँ शक्तिले जनताका सरोकारका सवाललाई प्रमुखताका साथ उठान गर्ने र नीतिगत रुपमा जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताएका हुन्।
उनले अहिलेसम्म मुलुकमा राजनीतिक अधिकारका लागि संघर्षहरु गरिएकोमा अबको संघर्ष आर्थिक समृद्धि र प्रगतिका लागि हुनुपर्ने बताए। ‘नेपालमा लोकतान्त्रिक र समन्यायिक अधिकारका लागि यति धेरै संघर्ष भए’ उनले भने,‘ अब हामी विकास र समृद्धिको दिशामा नगएसम्म त्यो राजनीतिक अधिकार पूरा हुँदैन, त्यसैले अबको राजनीतिक एजेण्डा विकासमुखी नै हुनुपर्छ ।’
भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने बताए। उनले नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाबमार्फत चेतना अभिवृद्धि गर्ने बताउँदै त्यसका लागि युवा विद्यार्थीहरुको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिए।
उनले मुलुकमा बढ्दै गएको युवा पलायनतालाई रोकेर मात्र मुलुकको विकास सम्भव भएको बताए।
प्रतिक्रिया दिनुहोस !