दक्षिण कोरियाले प्रतिरक्षा बजेट बढाउने
सोलः आगामी वर्षको आफ्नो प्रतिरक्षा बजेटमा भारी वृद्धि गर्ने दक्षिण कोरियाको योजना भएको योन्हाप समाचार एजेन्सीले खुलासा गरेको छ ।
प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गरिरहँदा देशको सामरिक सुरक्षा व्यवस्थामा चुनौती थपिएकाले आणविक शक्ति तथा क्षेप्यास्त्र प्रतिरोध क्षमता बढाउने उद्देश्यले प्रतिरक्षा बजेटमा वृद्धि गर्ने दाबी गरिएको छ ।
वृद्धि गरिएपछि पुर्याइने प्रतिरक्षा बजेट रकम अब ४ नील ३ खर्ब ३० अर्ब कोरियाली वन को हुनेछ । यस रकममध्ये उल्लेखनीय रकमः १५ खर्ब ८० अर्ब कोरियाली वन (१ अर्ब ४३ करोड अमेरिकी डलर बराबर) किल चेन एन्ड कोरिया एयर एन्ड मिसाइल डिफेन्स (केम्याड) कार्यक्रममा खर्च गरिनेछ ।
केम्याड कार्यक्रममा देशभित्रै शक्तिशाली क्षेप्यास्त्र प्रतिरोधक (एन्टी मिसाइल) उपकरण उत्पादन गर्ने तथा बाह्य देशबाट खरिद गर्ने कार्य समेत परेका छन् । प्रतिरक्षा बजेटमा वृद्धि गर्ने प्रस्ताव संसद्को राष्ट्रियसभामा स्वीकृतिका लागि शीघ्र पेस गरिने जनाइएको छ ।
केम्याड कार्यक्रमअन्तर्गत इन्टरकोप्टर वायुयानको परिमार्जन र विकास, जमिनबाट १ सय किलोमिटर उचाइसम्मको आकाशमा प्रहार गर्ने क्षमता राख्ने मध्यम दूरीका प्रतिरोधक क्षेप्यास्त्र तथा लामो दूरीका प्रतिरोधक क्षेप्यास्त्र उत्पादन तथा खरिद आयोजनासमेत पर्दछन्
दक्षिण कोरियाले हरेक वर्ष आफ्नो प्रतिरक्षा बजेटमा वृद्धि गर्ने गरेको छ । ४ नील वन नाघ्ने भएको यो पहिलोपटक हो । यसअघिसम्म एन्टी मिसाइल उपकरणमा कमै मात्र रकम खर्च गर्ने गरिन्थ्यो ।