बन्दीगृह बासले चर्चित साहित्यकार बन्न सफल राजनेता विपी

बन्दीगृह बासले चर्चित साहित्यकार बन्न सफल राजनेता विपी

काठमाडौं: प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन सरकारले २०१७ साल पुस १ गतेको ‘कु’ पछि राखेको सुन्दरीजल बन्दी गृह साहित्य सिर्जनाको स्थल बन्न पुग्यो। वरिपरि डाँडाकाँडा र हरियालीबीच ग्रामीण परिवेशमा रहेको जेल नेपाली साहित्यका मनोवैज्ञानिक धारका सुरुवातकर्ता कोइरालाका लागि साहित्य रचनाको थलो बन्न पुगेको हो।

बिपीलाई जेलमा लैजानुअघि उहाँको एउटामात्र कृति ‘दोषी चश्मा’ प्रकाशित भएकामा त्यसपछिका सबै कृति सुन्दरीजल बन्दीगृहमै जन्मिएका हुन्। बिपीको पहिलो कथा सङ्ग्रह ‘दोषी चश्मा’ २००६ सालमा प्रकाशित भएकामा राजनीतिक व्यस्तताका कारण २००७ देखि २०१७ साल पुस १ अघिसम्म अन्य कुनै साहित्य रचना प्रकाशित भएको पाइँदैन।

रोकिएको साहित्यिक क्रियाकलापका लागि बिपीलाई राजा महेन्द्रको ‘कु’ सिर्जनाको सुवर्ण अवसर बन्न पुग्यो। बन्दीगृहको प्राकृतिक सौन्दर्य र रमणीयताले बिपीलाई साहित्यिक कृति तयार पार्न थप उत्प्रेरणा प्रदान गरेको त्यस क्षेत्रको प्राकृतिक रमणीयताबाटै अनुमान गर्न सकिन्छ। यही उत्प्रेरणाले गर्दा बिपीले जेलमा छ वटा उपन्यास, एउटा कथा सङ्ग्रह, आफ्नो कथा र जेल जर्नल जस्ता साहित्यिक सिर्जना गरेको ‘बिपीको उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गर्नुभएकी साहित्यकार प्रा डा ज्ञानु पाण्डेले बताए। 'बिपीको सर्वाङ्गीण पक्षलाई हेर्ने हो भने उहाँको साहित्यलाई हेर्नुपर्छ, राजनीतिकरुपमा मात्र मूल्याङ्कन गरेर हुँदैन,'उनले भने। 

सुन्दरीजल बन्दीगृह २०६१ साल भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा घोषणा भयो। सङ्ग्रहालयमा बिपीको राजनीतिक व्यक्तित्वलाई झल्काउने चीजबीजको मात्र सङ्ग्रह गरी उनको साहित्यिक व्यक्तित्वलाई ओझेलमा पारिएकामा साहित्यकारले असन्तुष्टि जनाएका छन्। 'बिपीको व्यक्तित्वबाट साहित्य झिकिदिने हो भने बाँकी व्यक्तित्वले मात्र उनलाई पूर्णता दिन सक्दैन,' नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ समेत रहेका प्रा डा पाण्डेले  भने। 

बिपीले सुन्दरीजल जेलमै बसेर लेखेका उपन्यासमा ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’, ‘बाबु आमा र छोरा’ एवम् ‘हिटलर र यहुदी’ गरी छ कृति छन्। चार वटा कथाको सङ्ग्रह ‘श्वेतभैरवी’, चर्चित ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ र ‘आफ्नो कथा’ लगायतका कृतिको रचना पनि बिपीले सुन्दरीजल जेलमै गरे। 

जन निर्वाचित सरकारलाई सैनिक शक्तिको भरमा २०१७ साल पुस १ गते ‘कु’ गरेपछि बिपीसहितका नेतालाई २०१७ साल फागुनसम्म सिंहदरबारमा बन्दी बनाइयो। नेतालाई राख्न सुन्दरीजल आर्सनलका प्रमुख बस्ने सरकारी निवासलाई रातारात वरिपरिबाट पर्खालले घेरी २०१७ साल फागुनमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, नेपालकै इतिहासमा पहिलोपटक निर्वाचित भएको संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङदेम्बे र सहायक मन्त्री दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलाई सुन्दरीजल बन्दीगृहमा सारियो।

सुन्दरीजल बन्दीगृहमा सारेपछि नै बिपी गृहभित्रको बुढो कपुरको रुखमुनि बसेर पुस्तक पढ्ने र लेख्ने गरिरहेको देखिने गरेको जेलमा दूध लैजाने अनुमति पाउनुभएका स्थानीय मोदनाथ पोखरेल बताउँछन्। 'बिहान दूध लैजाने र दिउँसो बन्दीगृहभित्र घाँस काट्न अनुमति दिएकाले बिपीले कपुरको रुखमुनि बसेर लेखपढ गरिरहेको देख्थेँ, सुरुमा कुराकानी गर्न पहरा दिई बसेका सैनिकले कडाइ गरेपनि पछि केही खुकुलो भएका बेला बिपीले नै बोलाएर कुराकानी पनि गर्नु हुन्थ्यो,'उनले भने। 

अन्य राजबन्दी केहीलाई जेल सरुवा र केहीलाई रिहा गरेपछि बिपी तथा गणेशमानलाई २०२५ साल कात्तिक २५ गते रिहा गरियो। विसं २०१७ देखि २०२५ सालसम्म बिपीले बन्दीगृहमै लेखेको दैनिकी नै ‘जेल जर्नल’ का रुपमा चर्चित छ। उपचार र राजनीतिक कामका लागि २०२५ सालपछि बिपी र गणेशमान भारत निर्वासनमा गए। विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै नेतालाई फेरि सुन्दरीजल बन्दीगृहमा लगियो । यसपछि लेखिएको बिपीको दैनिकीलाई ‘फेरि सुन्दरीजल’ का नाममा प्रकाशित गरियो।

सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल सङ्ग्रहालयलाई राजनीति, साहित्य र दर्शनको त्रिवेणी धामका रुपमा स्थापित गर्ने अभियानमा लागिपरेको बताउँछन्। 'सङ्ग्रहालयमा बिपीको साहित्यिक सबै कृतिका साथै उनको साहित्यिक चीजबीजको पनि सङ्ग्रह छ, भूकम्पपछि भवन भत्किएकाले सङ्गृहित चीजबीजलाई एउटा कोठामा चाङ लगाएर राख्न बाध्य हुनुपरेको छ,'उनले भने। 

बिपीलाई जतिबेला अर्राष्ट्रिय तत्वका नाममा जेलमा राखिएको थियो। त्यही समयमा बिपीको साहित्य भने विश्वविद्यालयमा पढाइन्थ्यो। साहित्यबाट बिपीले सामाजिक सन्देश दिन खोजे पनि त्यस समयमा मनोवैज्ञानिक धाराका साहित्यकारका रुपमा चिनाइएको प्रा डा पाण्डे बताउँछन्। बिपीको साहित्यमै विद्यावारिधि गर्ने साहित्यकार पनि डेढ दर्जन पुगिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.