भारतको इशारामा संविधान संशोधन: चुरे भावर
काठमाडौंः चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले भारतको इशारामा संविधान संशोधन हुन लागेको आरोप लगाएको छ। कसैलाई खुसी बनाउनकै लागि संविधान संशोधन हुन विडम्बनापूर्ण रहेको सो पार्टीले जनाएको छ।
रिपोर्टर्स क्लव नेपालमा आइतबार पत्रकार सम्मेलन गरी चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान संशोधन गरेर मधेसी मोर्चाका अराजनीतिक माग कुनै पनि हालतमा पूरा गरिनु नहुने बताए। ‘कसैलाई खुसी पार्न भारतको इशारामा संविधान संशोधन हुनु दुःखद् हो’, उनले भने, ‘भारत भ्रमण अगाडि नै संविधान संशोधनको प्रस्ताव किन दर्ता गर्नु पर्यो? संशोधनमा जानुअघि विभिन्न दलहरूसँग भएका सहमतिको पनि ध्यान दिनुपर्छ।’
हिन्दी भाषालाई नेपालमा किन महत्वका साथ मधेसी मोर्चाले उठाएको छ? भन्दै उनले प्रश्न समेत गरे। न्यौपानेले भने, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा कदापि बनाउनु हुँदैन।’ उनले भने,‘हिन्दी भाषा भारतका कतिपय राज्यमा अहिले पनि बोलिँदैन भने नेपालमा किन राष्ट्रिय भाषा बनाउने?’
अंगीकृत नागरिकलाई उच्च पदमा लैजान नहुने चुरेभावर पार्टीको माग छ ।
‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका नाममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग अप्राकृतिक र कथित तीन बुँदे सहमति भएको छ’, न्यौपानेले भने, ‘सरकारमा जानका लागि गरिएको उक्त तीन बुँदेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय अखण्डतामाथि गम्भीर रुपमा प्रहार भएको यस पार्टीको ठहर छ ।’
सिंगो तराईलाई दुई प्रदेशमा सीमित गर्ने योजनाको विरोध गरेको चुरेभावर राष्ट्रिय पार्टीले मधेसी मोर्चाले भने जस्तो गरेर संविधान संशोधन हुन नहुने बताए । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा फास्ट ट्रयाक, नौमुरेजस्ता कुनै पनि खाले राष्ट्रघाती र देशघाती सम्झौता नगर्न चुरेभावर पार्टीले सरकारलाई सचेत गराएको छ।
प्रतिक्रिया दिनुहोस !