वर्तमान सरकार चटकको भरमा आयो, चटककै भरमा जान्छ : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले पाटीबिरुद्ध देशद्रोही भाष्य र घेराबन्दी गरेर अलोकप्रिय बनाउन खोजेको भन्दै त्यसका बिरुद्ध डटेर सामाना गर्ने बताएका हुन् ।
ओलीले वर्तमान सरकार चटकको भरमा आएको भन्दै चटककै भरमा जाने टिप्पणी समेत गरेका छन् । उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी भएको धारणा राखे । पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए ।
उनले पार्टी नेतृत्वमा रहेकाले आफूले पार्टी सफल हुँदा वा असफल हुँदा दुवै अवस्थामा आफूले जिम्मेवारी लिने स्पष्ट पारे । तर, पार्टी सफल हुँदा सबैले श्रेय लिने तर अलिकति धक्का खाँदा वा विरोधीहरू एकजुट हुँदा सबै दोष अध्यक्ष एक्लैको टाउकोमा थुपार्ने प्रवृत्ति उपयुक्त नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले लोकतन्त्र विरोधी र देशद्रोही कार्यहरू भइरहेको भन्दै समाजमा फैलिएका अन्योल र भ्रमहरू चिर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस !