राष्ट्र र राजनीति
![राष्ट्र र राजनीति](https://annapurnapost.prixacdn.net/media/albums/basuko-skech-57d76714a26642.36715785_lXzStYr9Ns.jpg)
राष्ट्र र राजनीति एकअर्काका पर्यायवाची हुन् । विनाराजनीति न राष्ट्र हुन्छ न त राष्ट्रविनाकै राजनीति । फरक यति हो, राष्ट्र सबैको लागि प्यारो हुन्छ । नागरिकता नै त्यागेर बिदेसिएकाका लागि पनि आफ्नो जन्मथलो प्यारो लाग्छ ।
बा, आमा र पूर्खाकै राष्ट्रको नाता पनि हुन्छ । यसको ठीक उल्टो राजनीति धेरैको लागि बेमतलब हुन्छ, खराब लाग्छ । बेमतलब कुन अर्थमा भने राजनीतिले जनताको न्यूनतम आवश्यकता सम्बोधन गर्न सकेन । तिनका लागि राज्यको उपस्थितिको केही माने भएन । खराब कुन अर्थमा भने राजनीति आआफ्ना स्वार्थपूर्ति र फोहोरी खेलभन्दा माथि उठेन । अर्को शब्दमा, राष्ट्रले राजनीतिलाई आमाले आफ्नो बच्चालाई झैं निस्वार्थ पोसिरह्यो, तर राजनीतिले राष्ट्रलाई निसंकोच लुटिरह्यो ।
जे होस्, राष्ट्र विकासको लागि सबैभन्दा ठूलो पक्ष राजनीति नै हो । दुर्भाग्य, नेपालमा राजनीति नै सबैभन्दा बेइमानी र घृणाको विषय रह्यो । यस्तो किन भयो ? उत्तर सबैलाई थाहा छ, राजनीति गर्नेहरूलाई पनि थाहा छ । के विनाबेइमानीको राजनीति हुन सक्दैन ? हामी राजनीतिलाई घृणा गर्छौं, तर राजनीति गर्नेहरूलाई मानसम्मान पनि दिन्छौँ । यसरी ‘घृणा’ र ‘सम्मान’ नेपाली राजनीतिका दुई पाटा बनेका छन् ।
लोकतन्त्रमा आधारित राजनीति भनेको जनतामाथि राज गर्नलाई होइन, जनताको लागि जनताबाटै चुनिएकाहरूले निश्चित अवधिको लागि राज्य सञ्चालनमा नेतृत्व गर्ने प्रक्रिया हो । यो अर्थमा जबसम्म राजनीति गर्नेहरूले राजनीति आफ्नो पेवा ठान्छन्, आफ्नो खानदानी पेसा ठान्छन्, आफ्नो शुभलाभको माध्यम बनाउँछन्, त्यो राजनीति हुनै सक्दैन । राजनीति भनेको राष्ट्रको लागि गर्ने हो ।
हुन त, नेपालमा जोगी हुनको लागि राजनीति गरिन्न भन्नेहरू पनि छन् । तिनका लागि राजनीति पेसा हो । जीविकोपार्जनको स्रोत हो । सन्तान दरसन्तानको लागि कमाउने बाटो हो । एकाधको लागि नहोला, अपवाद जहाँ पनि हुन्छ । यसको अर्थ राजनीति गर्नेहरूले कमाउनु हुन्न, घरखेत जोर्नु हुन्न भन्ने होइन । फगत, कमाउन र घरखेत जोर्नकै लागि राजनीति गर्ने होइन भन्ने मात्र हो ।
नेताहरू प्रजातन्त्र, अनि लोकतन्त्र हुँदै गणतन्त्र प्राप्तिको लागि लडेकै हुन् । विकासका मार्ग कोरेकै हुन् । तिनमा राजाहरू पनि पर्छन् । तीमध्ये कोही अल्पायुमै बिते, कोही दुर्घटना र काण्डमा बिते त कोही तिरस्कृत बनेर गए । बाँकीले आफ्नै लागि राजनीति गरे । बाँचुञ्जेल राजनीति गरे, गरिरहेका छन् । नेताले कहिल्यै आफ्नो लागि सोच्दैनन् । राष्ट्र र जनताको लागि सोच्छन् । तिनका लागि मेरो र तेरो भन्ने हुँदैन । नेपालमा त्यस्ता नेता बनेनन् । त्यसैले नेताको सट्टा राजनीति गर्नेहरू भनेको हुँ । आजसम्म राष्ट्र तिनै राजनीति गर्नेहरूबाट चल्दै आए, चल्दै जानेछ । कतिसम्म चल्ने हो, थाहा छैन ।
राजनीति गर्नेहरू थुप्रै छन् । तीमध्ये औसतबाहेक दुई किसिमका छन्, प्रभावशाली र प्रतिभाशाली । प्रभावशालीहरू जहिले पनि अग्रपंक्तिमा हुन्छन्, तिनैका कुरा बिक्छन्, तिनैका पछाडि कार्यकर्ता हुन्छन् । किनकि प्रभावशाली तिनै बन्छन्, जो राजनीतिका सबै धारिला अस्त्रहरूबाट सुसज्जित हुन्छन् । प्रतिभाशालीहरूमा केही सुविचार र केही गरौ भन्ने भावना हुन्छ । तर ती अक्सर अस्त्रविहीन हुन्छन् र क्रमशः सेलाउँदै जान्छन् । तीमध्ये कुनै प्रभावशाली बन्न पुगेमा त्यसबेलासम्म तिनका प्रतिभा हराइसकेको हुन्छ र सत्ताको मीठो रसमा पल्किसकेका हुन्छन् ।
राजनीति गर्नेहरूले जनतालाई भेडा मान्छन् । हो, जनता भनेका भेडा नै हुन्, किनकि यी आफू शासित भएर अरूलाई शासक बनाउँछन् । राजनीति गर्नेहरू फटाहा र बदमास (सबै होइनन्, तर जो छैनन् ती पनि फटाहा र बदमासकै चंगुलमा हुन्छन्) हुन् भन्ने थाहा हुँदाहुँदै तिनैलाई मत दिन जनता निर्वाचनका दिन लाम लाग्छन् । निर्वाचन तिनको लागि एउटा मेला हो । भरे को जित्छन् र को हार्छन् सुनेर, हेरेर एकछिन रमाइलो मान्नु र गफका विषय बनाउनुबाहेक तिनका लागि अरू केही अर्थ राख्दैन । म यो निख्खर जनताको कुरा गर्दैछु ।
हार्ने र जित्नेका नजिकका मसिहाहरूलाई शुभलाभ र नाफा–नोक्सानबारे म बोलिरहेको छैन । तिनका कुरा गर्दा जित्नेका लागि मौसम र हार्नेका लागि बैमौसम हुने नै भो । राजनीतिको एउटा अर्को घृणित पक्ष हो, कर्मचारीतन्त्रमा राजनीतीकरण । जनताले तिरेको करबाट बनेको राज्यको ढुकुटीबाट तलब, भत्ता र सुविधा उपभोग गर्ने कर्मचारीलाई नै बकायदा दलका कार्यकर्ता बनाएर तिनै जनतामाथि राज गर्ने नेपाली राजनीति अपरम्पार छ । यसको जति विरोध गरे पनि पुग्दैन ।
तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेलले आफ्नो दलका अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई कसरी अघि बढाउने भन्ने विषयमा दुईदिने अन्तत्र्रिmया गराए । त्यसमा म पनि निम्तालु थिएँ । प्रचण्ड पनि पूरै दिन बस्ने कार्यक्रम थियो रे, तर एकजना मित्रको असमायिक निधन भएकाले अन्त्येष्टिमा सहभागी हुन पहिलो दिनको पहिलो सत्रमा केही निर्देशन दिएर बिदा भए । मन्त्रीचाहिँ पूरै दिन बसे र अन्तिमसम्म हल खचाखच थियो ।
मलाई पनि उक्त दिनको कार्यक्रमको उत्तराद्र्धतिर केही बोल्न लगाए । आपूmले जानेका केही कुरा सुनाएँ । अनि माथि उल्लिखित प्रसंग उठाएँ– म जनताले तिरेको करबाट तलब भत्ता खाने कर्मचारीले कुनै जिम्मेवारी पाउन दलविशेषको सदस्यता लिनुपर्ने ? मेरो संस्थाको विधानमा लेखेको छ, मैले कुनै दलको राजनीति गर्न पाउँदैन । के मैले मेरो संस्थाको खिलाफ जानुपर्ने ? मन्त्री चुपचाप सुनिरहेका थिए, कसैले प्रतिक्रिया जनाएनन्, ताली बजेनन् । किनकि अधिकांश सहभागी दलका कार्यकर्ता न थिए ।
‘नयाँ शक्ति’ को दल घोषणा कार्यक्रमपछि फेसबुकमा पोस्ट गरिएको एउटा सामग्रीमाथि टिप्पणी गर्दै कर्मचारीलाई कार्यकर्ता बनाउनेबारे उक्त दलको नीति के हो भनेर जिज्ञासा राखेँ । नयाँ शक्तिको राजनीति
गर्ने एकजना जिम्मेवार पदाधिकारीले हाम्रो पार्टीले कर्मचारीलाई सदस्यता पनि दिँदैन र कर्मचारीको संगठन पनि खोल्दैन भन्ने जवाफ फेसबुकमा पोस्ट गरे ।
त्यसो हो भने यो नीतिसहित कुनै कर्मचारी सदस्य छन् भने स्वतः खारेज हुनेछ भनेर दलको तर्पmबाट आधिकारिक घोषणा होस् भन्ने सुझाव दिएँ । जवाफ आएन । त्यसको केही समयपछि नयाँ शक्तिको कर्मचारी संगठनको फलाना पदाधिकारी भ्रष्टाचार अभियोगमा फरार भन्ने समाचार आयो । फेरि सोधेँ, यो भ्रष्टाचार गरेरनगरेको बारे होइन, फलाना व्यक्ति नयाँ शक्तिको कर्मचारी संगठन सम्बद्ध हो, होइन । त्यसको पनि जवाफ आएन । कुरा बुझियो, धेरै किन कोट्याइरहने भन्ने लाग्यो ।
अहिलेसम्म जनस्तरको नाममा दलगत सुविधा र स्वार्थको लागि विरोध र आन्दोलनका कार्यक्रम हुँदै आए । तिनका बीच भागबन्डा मिलेपछि विरोध र आन्दोलन सकियो । अब त्यस्ता विरोध र आन्दोलनलाई तिरस्कार गरेर साँचो अर्थमा जनता सजग होऔँ र खबरदारी गरिरहौँ ।
राष्ट्र र राजनीतिसँग जोडिएको अर्को पक्ष छ, ‘संकट’ । यहाँ केही कुरा उठायो कि के झीनामसिना कुरा गर्छन््, राष्टै« यस्तो संकटमा छ भनिन्छ । केही महिनाअघि अन्नपूर्ण पोस्टमा मेरो एउटा लेख ‘संकटमा मेरो मातृभाषा’ प्रकाशित भयो । केही मित्रले प्रतिक्रिया जनाए- केको मातृभाषाको चिन्ता गरेको, राष्टै« संकटमा छ । म के जवाफ दिऊँ ?
नितान्त प्राकृतिक प्रकोपबाहेकका संकट जहिले पनि राजनीतिकै कारण उब्जन्छन् । संकट निम्त्याउने पनि तिनै राजनीति गर्नेहरू नै हुन् । एकले अर्कोलाई वञ्चित गरेर हुन्छ कि, अवाञ्छित माग राखेर हुन्छ कि, या दलभित्रै गुट, उपगुट बनाएर हुन्छ कि । मानौँ राष्ट्रमा संकट आएन भने राजनीति गर्नेहरूको लागि खेल्न मैदान नै भएन । त्यसैले संकट आउनु भनेको तिनको लागि प्रतियोगिता आयोजना हुनुजस्तै हो । जनताले तिनका लागि जीउधन खर्चेर र कष्ट सहेर तिनका खेल हेरिदिनुपर्ने ।
०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सिर्जित संकटबाट पनि फाइदा लिन खेल खेलिरहेका छन्, दलहरू । यो सबैले देखेकै र भोगेकै कुरा हुन् । संकट राष्ट्रको हो भने त्यो सबैको लागि संकटै हुनुपथ्र्यो, तर त्यसो हुँदैन । संकट मात्र जनताको लागि बन्दछ । किनकि राजनीतिक कारण उत्पन्न हुने संकट बनावटी हुन्छ । जुन उद्देश्य पूर्तिका लागि संकट निम्त्यायो, त्यो उद्देश्य पूरा भएपछि संकट पनि टर्छ र त्यसको मीठो प्रतिफल राजनीति गर्नेहरू बाँडीचुँडी खान्छन् । तर त्यसको नमीठो असर जनताले लामो अवधिसम्म भोगिरहन्छन् । नेपाल र नेपालीको यही नियति बनेको छ ।
अन्त्यमा, अहिलेको खराब राजनीति नसुध्रिई सुखै छैन । कहिलेसम्ममा सुध्रिएला भन्ने मात्र हो । अर्को १०, २५, ५० या १०० वर्ष ? जे होस्, राजनीति सुध्रिन जनता उठ्नैपर्छ । जनताकै मतबाट यी राजनीति गर्नेहरूले जे गर्दा पनि हुने र आफूलाई जनताभन्दा माथि ठानेका छन् । यिनलाई नियन्त्रण र सही ठाउँमा ल्याउने काम पनि अब जनताकै हो । यसो भनिरहँदा अर्को निर्वाचनमा यिनलाई मत नदिऊँ भन्ने पनि अर्थ लाग्ला । त्यो पनि हो, तर भोलि निर्वाचनमा उठ्ने पनि यिनै हुन् र निर्वाचित हुने पनि यिनै हुन् । मात्र केही अनुहार फेरिएलान् । प्रवृत्ति फेरिन्न ।
जनता उठ्ने भनेको चक्काजाम गर्ने, ढुंगामुढा गर्ने भन्ने होइन, बन्दुक र बम बोक्ने पनि होइन । यी धेरै भइसके । अब जनता संगठित भई आन्दोलित हुनुपर्छ, दलका अगुवाइमा होइन, जनस्तरबाटै । अहिलेसम्म जनस्तरको नाममा दलगत सुविधा र स्वार्थको लागि विरोध र आन्दोलनका कार्यक्रम हुँदै आए । तिनका बीच भागबन्डा मिलेपछि विरोध र आन्दोलन सकियो । अब त्यस्ता विरोध र आन्दोलनलाई तिरस्कार गरेर साँचो अर्थमा जनता सजग होऔँ र खबरदारी गरिरहौँ । यसको अर्थ दललाई तिरस्कार गर्ने भनेको होइन । दल चाहिन्छ । फगत दललाई जनताबाट परिचालित गर्ने हो । न कि दलगत स्वार्थबाट जनता परिचालित हुने ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)