लेखाइमा संविधानले सबै दियो, व्यवहारमा केही पाइएको छैन

लेखाइमा संविधानले सबै दियो, व्यवहारमा केही पाइएको छैन

भारतका सबभन्दा धनी मानिस अम्बानीले मुम्बईमा एउटा घर बनाएका छन् । त्यो भारतको सबभन्दा धेरै एक अर्ब डलर खर्चिएको घर हो । नेपाली रुपैयाँमा हिसाब गर्दा झन्डै एक खर्ब मूल्य पर्छ । यो घर मुम्बईको झुपरपट्टी क्षेत्रमा बनेको छ, तर त्यो घरमा अम्बानी परिवार बस्न सकेको छैन । गृह प्रवेशको दिन उनीहरूले एउटा आवाज सुनेछन् । केको आवाज थाहा छ ? एउटा बच्चा रोइरहेको आवाज ! कसको बच्चा कहाँ रोइरहेको भनेर खोजतलास भएछ, तर कतै फेला परेन ।

आवाज घरैभरि नै सुनिएछ, तर त्यहाँ कुनै जिउँदो बच्चा फेला परेन । त्यो आवाज प्रेतात्माको हो भन्ने ठहर भएछ । यस घरमा बसे परिवारको खती हुन सक्छ भन्ने डर-त्रासले त्यो घरमा आजसम्म उनीहरू बसेका छैनन् भन्ने समाचार अखबारमा पढ्न पाइयो ।

अम्बानीको घरजस्तै नेपालमा करिब ३० अर्ब रुपैयाँ खर्च गरेर एउटा नयाँ संविधान बन्यो । आलिशान महल बनेर पनि बस्न नसकेको घरजस्तै नेपालको संविधान पनि काम नलाग्ने भएको छ । घरलाई प्रेतात्माले सताएजस्तै संविधानलाई पनि कुनै अदृश्य शक्तिबाट सताइएको छ । यसका दुर्गुणहरू हटाउने अनेक प्रयत्न भए । प्रारम्भमै दुईपटक संशोधन भइसकेको छ, तर सताउने काम हट्न सकेको छैन ।

अहिले पुनः चारवटा संशोधन प्रस्ताव पेस हुने भएको छ । त्यसबाट पनि यसको शुद्धीकरण होलाजस्तो छाँटकाँट देखिएन । नेपाली समाजमा कुनै ठूलो काम गर्दा साइत अथवा असल बेला देखाउने चलन छ ताकि सो काम सम्पन्न गर्दा देखिने र नदेखिने ठाउँबाट कुनै वाधा-अड्चन आइनलागोस् । धर्म-संस्कृति नमान्ने संविधानका लेखकहरूले कुनै साइतको वास्ता नगरी संविधान बनाए र घोषणा गरे । त्यही साइत नजुरेकाले अम्बानी गृहलाई जस्तै नेपालको संविधानलाई पनि दशा लागेको देखिएको छ ।

हुन पनि संविधान आएदेखि नेपाली जनताले दुःख मात्र भोग्नुपरेको छ । त्यसैको कारण मधेसमा चार महिनासम्म आन्दोलन भयो, जुन आजसम्म साम्य भएको छैन । त्यसै सिलसिलामा ५० जना मानिसहरूको ज्यान गइसकेको छ । भारतसित सम्बन्ध नै बिग्रियो, जुन आजसम्म सुध्रिएको छैन । ६ महिनासम्मको भारतीय नाकाबन्दीको कारण नेपालीले न राम्ररी खान पाए न सुत्न पाए । न दसैं नै मनाउन पाए ।

संविधानका सम्बन्धमा मधेसका आन्दोलनकारीहरू र भारतलाई खुसी पार्न अनेक संशोधन गर्न थालिएको छ, तर त्यो पनि प्रभावकारी होलाजस्तो छैन । किनभने उनीहरूको चित्त बुझाउने प्रकारले संशोधन गर्दा प्रस्ताव नै संसद्मा पास नहुने डर छ । संसद्मा पास हुन सक्ने किसिमको संशोधन गर्दा असन्तुष्ट पक्षको चित्त बुझ्दैन । वास्तवमा काम सकिएको छ तर न घर घरजस्तो भएको छ, न संविधान संविधानजस्तो चलेको छ ।

सहमतिबाट बन्ने संविधानको गति ऊँटजस्तो हुन्छ भनेर कतिपटक भनिएको हो । हुन पनि त्यस्तै भयो । उँट एउटा सारै उपयोगी जनावर हो । मरुभूमिमा यसको ठूलो महत्त्व भएको सबैलाई ज्ञात छ । तर नेपालका पहाड र तराईमा यसको कुनै उपयोगिता छैन । यहाँको हावापानी र भूबनावटमा यो बाँच्न पनि सक्दैन । तर सहमतिबाट बनाइएको संविधानमा सबैको चित्त बुझाउन सबैको सुझाव समावेश गरिएको छ ।

यो तथ्यलाई विनय कसजूको एउटा लघुकथाले अरू प्रस्ट्याउँछ । साउदी अरेबियामा काम गर्न गएका एकजना नेपालीले घरमा फोन गरेर आफ्नो छोरोलाई सोधेछन्, 'बाबुलाई के ल्याइदिऊँ ?' छोरा सानै थियो र स्कुलमा पढ्दै थियो । उनले आफ्नै बुबासँग सोधेछन्, त्यहाँ के पाइन्छ ? बुबाले भनेछन्, 'यहाँ त ऊँट पाइन्छ ।' छोराले भनेछन्, 'त्यसो भए मलाई एउटा ऊँट ल्याइदिनुस् ।' बुबा फसादमा परेछन् र बालक छोरोलाई सम्झाउन थालेछन्, 'ऊँट नेपालमा पाल्न सकिन्न, काम पनि लाग्दैन ।' छोराले जिद्दी गरेपछि बुबाले भनेछन्, 'स्कुलमा सरसित सोधेर आऊ उनले हुन्छ भनेछन् भने ल्याइदिन्छु ।' बालकले सरसित सोधेछन् । सरले सम्झाएपछि मात्र बालकले ऊँट ल्याइदिने जिद्दी छोडेछन्, तर नेपालका संविधानका लेखकहरूले बालकले जति पनि बुद्धि नपुर्‌याएर आफ्नो जिद्दी छोडेनन् । फलस्वरूप उनीहरूले चाहिने-नचाहिने, आवश्यक-अनावश्यक कुरा यसमा थोपरिदिए । यहीकारणले ऊँटको आकारको संविधान बन्न गएको हो । फाल्न पनि गाह्रो, पाल्न पनि गाह्रो र जिउँदो राख्न पनि गाह्रो । हेर्दै जानुस्, यो बाँच्दासम्म यसले कति दुष्परिणाम ल्याउने हो ।

हुन त संविधानले सबैथोक दिएको छ । झूटो बोल्नु हुँदैन । तर एउटा हातले दिएको छ, अर्को हातले फर्काएर लिएको छ । यसका पक्षमा मानिसहरूले यसले दिएको कुरा मात्र देखाउँछन् । यसको विपक्षका मानिसहरूले यसले खोसेको कुरा मात्र गर्छन् । उदाहरणको लागि मौलिक हकलाई हेर्नुस् । के दिएको छैन ? खान पाउने, रोजगार, आवास, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, श्रम, स्वतन्त्रता, समानता आदि सबै क्षेत्रमा नेपालीलाई मौलिक हक दिएको छ ।

मौलिक हक भन्नाले सो हक नेपालको न्यायालयले दिलाउन सक्छ । तर के यो सम्भव छ ? यो सम्भव छैन किनभने संविधानप्रदत्त हकहरूको कार्यान्वयनको लागि आवश्यकताअनुसार राज्यले सो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ भनेर लेखिएको छ । यस भागमा आँखा गयो भने मानिसहरू लोभिन्छन् तर आखिरमा निराश हुन्छन् ।

संसद्ले महिनामा एउटा बिल पास गर्ने गरेको छ । त्यो गतिमा संविधान लागू गर्न चाहिने सयभन्दा बढी बिलहरू पास गर्न १० वर्षभन्दा बढी समय लाग्छ । तर तीन वर्षपछि यसको कानुनी हैसियत के हुन्छ, कसैलाई थाहा छैन । त्यतिबेलासम्म यो संविधान नै रहन्छ कि रहन्न भनेर कसैले भन्न सक्दैन । संविधानको यो चरित्र पनि एउटा कथाबाट उजागर गर्न सकिन्छ । एउटा गाउँको साहुका घरमा एकजना जोगी वास बसेछन् ।

जोगीले झोलाबाट एउटा शंख निकालेर प्रार्थना गरेछन्- हे शंख प्रभु, मलाई सय रुपैयाँ बक्सियोस् । शंखबाट आवाज आएछ- हे भक्त, मागेको आधा मात्र म दिन सक्छु । बाँकी आधा तिमीले कमाउनुपर्छ । जोगीले शंखबाट एउटा पचासको नोट पाएछ र साहुले दिएको खानाको पैसा तिरेछ । यो चर्तिकला साहुले देखेछन् अनि साहुले जोगीको राम्रो खातिर गरेछन् । जोगीलाई एकमुष्ठ ठूलो रकम दिएर साहुले सो शंख पाएछन् । हरेक बिहान शंखको नित्य पूजा गर्दै साहुले भनेको रकमको आधा भाग पाउन थालेछन् ।

संविधानका सम्बन्धमा मधेसवादी र भारतलाई खुसी पार्न अनेक संशोधन गर्न थालिएको छ, तर त्यो पनि प्रभावकारी होलाजस्तो छैन । संसद्मा पास हुन सक्ने किसिमको संशोधन गर्दा असन्तुष्ट पक्षको चित्त बुझ्दैन । वास्तवमा काम सकिएको छ तर न घर घरजस्तो भएको छ, न संविधान संविधानजस्तो चलेको छ ।

साहुले सुरुमा केही सय मात्र माग्ने गरेछन् किनभने आधा पैसा आफैँले कमाउन सक्नुपर्‌यो । जब उनी धनी हुँदै गए ठूलो-ठूलो रकम माग्न थालेछन् । किनभने उनको व्यापार धन्दा पनि ठूलो हुन थालेछ । केही वर्षपछि यस्तै अर्को जोगी साहुकहाँ वास बसेछन् । उनले पनि एउटा शंखलाई प्रार्थना गर्न थालेछन् । तर यो शंखले भने आफ्नो भक्तले मागेको रकमभन्दा दोब्बर पैसा दिन्छु भन्ने रहेछ । हजार माग्दा दुई हजार, दस हजार माग्दा २० हजार दिन्छु भनेको साहुले सुनेछन् । साहुलाई लोभ लागेछ र जोगीलाई शंख साट्न मनाएछन् ।

अर्को दिन जोगी पुरानो शंख लिएर गएपछि साहुले नयाँ शंखको पूजा गरेर रकम माग्न थालेछन् । नभन्दै साहुले १० हजार मागेछन्, शंखले २० हजार दिएँ भनेछन् । साहुलाई अरू लोभ लागेर पचास हजार मागेछन् । शंखले त्यसको दोब्बर एक लाख दिएँ भनेछन् । साहुले दस लाख माग्दा शंखले बीस लाख दिएँ भनेछन् । त्यसै क्रममा साहुले एक करोड मागेछन् शंखले दुई करोड दिएँ भनेछन् । साहुले हवस् आजलाई यति भए पुग्छ भनेछन् र रकम बक्सियोस् भनेछन् ।

शंखले मेरो काम खाली मुखले दिने हो, त्यो मैले दिइसकें । रकमै दिने शंख त तिमीले अरूलाई नै दिइपठायौ । यो सुनेर साहुले आफ्नो टाउको ठोकेछन् । आज संविधान सम्बन्धमा नेपालीहरूको हालत पनि यस्तै भएको छ । लेखाइमा सबै दिएको छ, तर व्यवहारमा कसैले केही पाएको छैन ।

जनताले केही नपाए पनि सत्तामा पुगेका नेताहरूले मनग्य पाएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, गृहमन्त्री, सांसद र उनीहरूका आसेपासेहरूले सबै पाएका छन् । घर पाएका छन्, मोटर पाएका छन्, टेलिफोन पाएका छन्, नोकरचाकर पाएका छन् । तलब, भत्ता पाएका छन् । बिमारी भए पनि नभए पनि औषधोपचार खर्च पाएका छन् । ससानो बिमारीको बहानामा विदेश जान खर्च पाएका छन् ।

त्यतिले नपुगेर उनीहरूले पेन्सन पनि पाउने व्यवस्था मिलाउन लागेका छन् । आखिर संविधान कसले बनाए र कसको लागि बनाइयो ? नेताहरूले बनाए र नेताहरूले नै सबथोक पाए । जनता हेरेको हेरै रहे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.