बदलिएका बालबालिका

बदलिएका बालबालिका

नवलपरासी: हिजोसम्म विद्यालय जाने जाँगर थिएन पुनर्बासका बालबालिकालाई । घरबाट तयार भएर हिँडिहाले पनि बीच बाटैबाट फर्किन्थे उनीहरू । फर्किने भन्दा पनि आफूलाई लैजाने अभिभावकको आँखा छलेर कहिले झाडीतिर लुक्थे त कहिले पछाडिबाट सुटुक्क मोडिएर नदेख्ने गरी हराउँथे ।

विद्यालय गइहाले पनि बाटोमा कहिले काँक्रा टिप्ने त कहिले बेलौती अनि कहिले निबु, कागती गोजीमा हाल्ने गर्थे । पुनर्बासबाट झन्डै दुई घन्टाको खोला र जंगलको बाटो हुँदै दर्जनौं बालबालिकालाई विद्यालय पुर्‌याउने जिम्मा लिएका टेकबहादुर माझीको १२ बज्थ्यो । समूहको अगाडि रहेर ती बालबालिकालाई विद्यालयतर्फ लैजाँदा पछाडिकाले छल गर्ने, पछाडि बसेर अगाडि बढाउन खोज्दा अगाडि हुनेले दुःख दिने गर्थे ।

नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिकास्थित पुनर्बासमा रहेका करिब ८० घरपरिवारका बालबालिकाको अवस्था हो यो । बाढीपीडित र दलित समुदायका कारण उनीहरूको आर्थिक अवस्था कमजोर भएपछि छोराछोरीलाई नजिकको बोर्डिङ स्कुल पढाउन नसकेपछि यस्तो अवस्था आएको हो । नगरपालिकाको वडा नम्बर २ मा पर्ने पुनर्बासमा यसरी बस्ने घरपरिवारको संख्या एक सय ९० भए पनि बसाइँसराइका कारण अहिले करिब ८० घरमात्र छन् ।

उनीहरूका करिब ५५ बालबालिका अहिले खोला र जंगलको करिब दुई घन्टाको लामो बाटो पैदल हिँड्नुपर्ने सास्तीबाट जोगिएका छन् । युनिसेफको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभरका ७५ जिल्ला विकास समिति, दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाउँ विकास समितिमा बालमैत्री स्थानीय शासन लागू गरेपछि बालमैत्री नगरपालिका घोषणा गर्न प्रगतिनगर नगरपालिकाले बसको व्यवस्था गरेपछि पुनर्बासका बालबालिकाको जीवनशैली फेरिएको हो ।

बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक पर्ने प्रारम्भिक बालविकास केन्द्र र त्यसभन्दा माथिको अध्ययनका लागि प्रगतिनगर नगरपालिकाले करिब ५५ जना बालबालिकालाई घरदेखि विद्यालयसम्म बसको व्यवस्था गरेपछि विद्यार्थी पढ्न उत्साहित भएका हुन् ।

'पहिले विद्यालय नै जाँदैनथे, एक दिन नवजागरण प्राथमिक विद्यालय पुग्दा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले विद्यार्थी चार, पाँचजना छन् बन्द गर्नुपर्ने अवस्था भयो भने केटाकेटी ल्याइदिनोस् भन्नुभयो', अभिभावक एवं बाढीपीडित संघ पुनर्बासका अध्यक्ष टेकबहादुर माझी भन्छन्, 'खोला र जंगलको बाटो झन्डै दुई घन्टा लाग्ने भएकाले विद्यालय नै पठाउन नमान्ने, पठाए पनि विद्यार्थी जान नमान्ने । गइहाले भने पनि बाटोमा काँक्रा, निबु, कागती, बेलौती आदि जे भेटे पनि चोर्ने । फर्कंदा सबैको गाली मैले खानुपर्ने ।' गाउँका बालबालिका विद्यालय लैजाँदा बीचैबाट भाग्ने र गएकाले चोरी गर्दा दिनैपिच्छे गाली खानुपर्ने उनको भनाइ छ ।

यसरी नै झन्डै एक वर्ष बितेपछि नगरपालिकाको पहलमा बाल श्रम र बालविवाह न्यूनीकरण सम्बन्धमा पुनर्बासमा पनि बैठक राख्यो । माझीलगायतले यसलाई अवसर ठानेर प्रस्ताव राखे । बैठकमा सहभागीले निवेदन दिन भने । निवेदनमा प्रारम्भिक बालविकास केन्द्रसहितको विद्यालयको माग थियो । नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत हरिप्रसाद चापागाईंले फरक उपाय सोचे ।

चापागाई भन्छन्, 'सस्तो र राम्रो उपाय बसको व्यवस्था लाग्यो र यसरी बस सञ्चालन गर्न थाल्यौं । यो काम गत वर्षको असोज महिनादेखि लागू गर्ने निर्णय गरेका थियौं तर नाकाबन्दीका कारण सम्भव भएन ।' नगरपालिकाले विद्यालय पुग्न र घर फर्कनका लागि गत फागुनको पहिलो सातादेखि बसको व्यवस्था गरेको र त्यसका लागि वार्षिक दुई लाख रुपैयाँ विनियोजन गरेको बताए । विद्यालय जाने बालबालिका बोटे, माझी, मुसहर समुदायका हुन् ।

वडा नागरिक मञ्चका संयोजक लेखबहादुर अधिकारीले बस चढेर विद्यालय जान पाएपछि हिजोसम्म अल्छी गर्ने बालबालिका पनि विद्यालय जान थालेको बताए । अभिभावकमा आएको परिवर्तनले आफू पनि खुसी भएको उनको भनाइ छ । उक्त बसले करिब १० जना बालबालिका नेपाल उच्च माध्यमिक विद्यालय र बाँकी नवजागरण प्रावि पुर्‌याउने जिम्मा पाएको हो ।

उनले भने, 'पुनर्बासका बोटे, माझी र मुसहरका परिवारमा धेरै सुधार आएको छ । विद्यालयमा निःशुल्क खाजा पाउने र जानेआउने बसको व्यवस्था अनि बालमैत्रीको अवधारणा आएपछि खेल्दै पढ्ने र शिक्षकशिक्षिकाले नपिटी पढाउने संस्कारले बालबालिका पढ्न हौसिएका छन् ।' नवजागरणमा कक्षा ३ मा अध्ययनरत बालिका पवित्रा माझीले भनिन्, 'पहिले धेरै हिँड्नुपथ्र्यो, अहिले बसले लैजान्छ । पहिले थाकेर पढ्न मन लाग्दैनथ्यो अहिले स्कुलमा पनि रमाइलो छ । घरमा पनि पढ्छौं ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.