अनाथको सहारा

अनाथको सहारा

काठमाडौं: धादिङका हीराबहादुर तामाङ साङ्कोषमा सञ्चालित बाल भविष्य संगठन (सीएफओ) नेपालको चिल्ड्रेन भिलेजमा बसेर सुनगाभा एकेडेमीमा कक्षा ४ मा पढ्छन् । साङ्कोषमै जन्मे पनि उनलाई घरपरिवारका बारेमा अहिलेसम्म केही थाहा छैन । उनको लालनपालन तथा स्कुललाई तिर्ने शुल्क सीएफओले नै बेहोरिरहेको छ । उनले पढेर भविष्यमा राम्रो रोजगारीमा जाने अठोट लिएका छन्, उनको अठोटमा साथ दिइरहेको छ सीएफओले ।

सोही संस्थाको सहयोगमा कक्षा ९ मा पढिरहेकी चोमकुमारी केसीको पनि सानै उमेरमा ममी बित्नुभो । ममी बितेपछि बाबुले पनि बेवास्ता गरेर एक्लिएकी उनी सीएफओको सम्पर्कमा आइन् । उनी सीएफओकै आश्रयमा बसेर कक्षा ९ मा पढिरहेकी छन् ।

हीराबहादुर र चोमकुमारीमात्र होइन, उनीहरूजस्ता ८४ जना अनाथ बालबालिका अहिले सीफएओको प्रत्यक्ष संरक्षणमा धादिङका विभिन्न बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका छन् । उनीहरूलाई सीएफओले पढाएकोमात्र छैन, आफ्नै बालगृहमा राखेर लालनपालनसमेत गरिरहेको छ । पहिचानसमेत नखुलेका उनीहरूलाई बालगृहले दसैं, तिहारलगायतका पर्वमा सन्तानसरह मानेर मनोरञ्जनसमेत प्रदान गरिरहेको छ ।

संस्थाका अध्यक्ष रमेश धमलाका अनुसार उक्त बालगृहले काठमाडौंमा सञ्चालन गरेको होस्टेलमा बसेर पनि १७ जनाले विभिन्न कलेज तथा उच्च माविमा अध्ययन गरिरहेका छन् । सन् २००३ मा स्थापना भएको सोही संस्थामा बसेर अध्ययन गरेकामध्ये केही विद्यार्थी अहिले राजधानीमा ब्याचलर अफ इन्जिनियरिङ (बीई) तेस्रो वर्षमा समेत अध्ययन गरिरहेका छन् ।


सशस्त्र द्वन्द्वको समयमा आमाबाबु गुमाएका, आमा बितेपछि बाबुले अर्कै बिहे गरेर एक्ल्याइएका, प्रसूतिगृहमा आमाबाबुबाट अलपत्र पारिएका तथा बाढीपीडित बालबालिका उक्त गृहको आ श्रयमा छन् । मुलुकभरका २५ जिल्लाका बालबालिका संस्थाको चिल्ड्रेन भिलेजमा आश्रित छन् ।

नामले बालगृह भनिए पनि उक्त संस्थाको संरचना र वातावरण भने सम्पन्न परिवारको भन्दा फरक छैन । संस्था ७० रोपनीभन्दा धेरै जग्गामा फैलिएको छ । बालबालिकालाई बिहान बेलुका पढाउन तथा बसोबासका लागि भूकम्पप्रतिरोधी छुट्टाछुट्टै भवनहरू छन् ।

विद्यार्थीलाई दूध खुवाउन आफ्नै गाई फार्म सञ्चालन गरिएको छ । फार्ममा बीसवटा गाई छन् भने भैंसी पनि पालिएको छ । हरियाली रूखहरूका बीचमा रहेको संस्थामा विद्यार्थीलाई बिहानबेलुका पढाउन विदेशी स्वयंसेवक दिनरात खटिएका छन् भने नेपाली शिक्षकहरूले पनि स्कुलको पढाइसँगै बिहानबेलुका ट्युसन पढाइरहेका छन् । विद्यालय तह पार गरेर उच्चशिक्षा अध्ययन गर्न नसक्ने विद्यार्थीका लागि छुट्टै सीपमूलक तालिम केन्द्र स्थापनाका लागि पनि प्रक्रिया सुरु गरिएको छ ।

'हाम्रो उद्देश्य संस्थाको सम्पर्कमा आएका बालबालिकालाई भविष्यमा दक्ष जनशक्तिका रूपमा विकास गरेर बजारमा पठाउनु हो', धमला भन्छन्, 'संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई टेवा दिनु पनि हो ।' दिगो विकास लक्ष्यको चौथो बुँदामा हरेक नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय समेटिएको छ ।

सन् २००३ मा स्थापना भएको संस्थामा जर्मनीका समाजसेवीहरूको सहयोग छ । जर्मनीबाट नै स्वयंसेवकहरू आएर विद्यार्थी पढाइरहेका छन् । विदेशी सहयोग ल्याएर भए पनि मुलुकको विकासका लागि संस्थाले गरेको प्रयास प्रशंसनीय रहेको भन्दै स्थानीयवासीले पनि भरपूर सहयोग गरिरहेका छन् ।

'सुरुमा स्थानीयवासीले समेत मेरो योजना महत्त्वाकांक्षी भन्दै मलाई हाँसोको पात्र बनाएका थिए । तर, संस्थाले अहिले सपनाअनुसार नै मूर्त रूप पाएकोमा खुसी छु', धमला भन्छन्, 'अहिले पनि केही समूह संस्थाको बदनाम गराउन लागिरहेका छन् । संस्थाका चन्दादातालाई पनि उक्साइरहेका छन् । तर, हामीलाई यस्ता घटनाले झन् बलियो बनाउँदै लगेको छ । सानातिना विवादले छुन नसक्ने गरी संस्था बलियो भएको छ ।'

धमलाको एउटै आग्रह छ, 'व्यक्तिगत प्रयोजनका लागि संस्था खोलेको होइन । यो राज्यको सम्पत्ति हो । मैले त अभियानमात्र सञ्चालन गरेको हुँ । सबैको साथ पाइयो भने सातवटै प्रदेशमा संस्थाको शाखा विस्तार गरेर अनाथको उद्धार गर्ने योजना छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.