दसैंको अवसरमा फेसन शो
काठमाडौंः विजया दशमीको अवसरमा ग्र्यान्ड डिजाइन फेसन शो हुने भएको छ । रस लाइट मिडिया प्रालिले असोज १४ गते काठमाडौंमा फेसन शो गर्न लागेको हो । फेसन शोमा सम्पूर्ण पहिरन ज्योजलपा बुटिकका डिजाइनर प्रतिमा महर्जनका रहने प्रालिकी सञ्चालक रमिता भण्डारीले जानकारी दिइन् ।
गायिका तथा मोडेलसमेत रहेकी भण्डारीले आयोजना गर्ने शोका लागि आजसम्मकै राम्रो डिजाइनिङका पहिरन तयार पारिएको बुटिकका सञ्चालक सुमन महर्जनले बताए । विकेश वज्राचार्यले व्यवस्थापन गर्ने कार्यक्रममा कोरियोग्राफी भण्डारीले आफैंले गर्नेछिन् ।
शोमा तमामौं चलचित्रमा अभिनय गरेका कलाकार नीराजन लुइँटेल र रिस्ता बस्नेतलगायतले र्याम्पमा क्याटवाक गर्नेछन् ।
कार्यक्रममा गायक दाउत राईको ‘स्वर' नामक गीति एल्बमसमेत विमोचन हुने बताइएको छ । कार्यक्रममा १९ जना व्यावसायिक मोडल र्याम्पमा उत्रनेछन् ।
कार्यक्रमको अन्तिममा नेपलेम ब्यान्ड, अनडिफिटेड ब्यान्ड, दाउत राई, अजय तुलाधर, रमिता भण्डारीले सांगीतिक प्रस्तुति गर्नेछन् ।