प्रजातन्त्र र अग्रगमन

प्रजातन्त्र र अग्रगमन

राजसंस्था नहुनु मात्रै गणतन्त्र होइन

राजनीतिक स्थायित्वले आर्थिक समृद्धिको वातावरण बनाउँछ । समृद्ध मुलुक सम्मानित हुन्छ । शान्ति र प्रजातन्त्र एकअर्काको संस्थागत विकासको लागि अपरिहार्य मानिन्छन् । तर स्पष्ट 'भिजन' तथा त्यसलाई कार्यान्वयन गर्ने अठोटविना विकासले स्वचालित गति लिँदैन । सन् २००९ जनवरी २७ मा भारतका तत्कालीन मन्त्री र हाल राष्ट्रपति प्रणव मुखर्जीले अलजजिरालाई दिएको अन्तर्वार्तामा नेपालमा माओवादीलाई राजनीतिक मूलधारमा ल्याउन अर्थात् यहाँको शान्ति प्रक्रियामा मध्यस्थता गरेको अभिव्यक्ति दिए । त्यो आधिकारिक पुष्टि थियो, भारत सरकारको तर्फबाट ।

यता आएर भनौं या पटकपटक बाबुराम भट्टराई र माधवकुमार नेपालले भावार्थमा मुखर्जीको त्यो दाबी खण्डन गर्ने गरी आफ्नै प्रयासमा आठ दलहरूसँग .....आएको दाबी गरेका छन् । तर नेपाली राजनीतिज्ञहरूको विश्वसनीयतामा पूर्ण ग्रहण लागेको र बाह्रबुँदेयता उनीहरूको हैसियत दिल्लीका 'बाबुहरू' को आदेशपालकमा झरेको सबैले देखेका छन् । सुगौली सन्धिपछि नेपाल अर्ध सामन्तीसँगै अर्ध औपनिवेशिक राज्य बन्न पुगेको ठहर गर्दै आएका माओवादीले समेत नेपालको स्थिति यता आएर सर्वाधिक नाजुक बनेको निष्कर्ष निकालेका छन् । माओवादी सशस्त्र संघर्षका अग्रणीमध्येका सीपी गजुरेलले त गणतन्त्रवादी र देशभक्तहरूले एकै ठाउँ उभिएर मुलुक बचाउनुपर्ने बेला आएको दाबी पनि गरेका छन् ।

गणतन्त्र भनेको जनतालाई सामूहिक रूपमा सशक्त र आत्मनिर्णयको अधिकारी बनाउनु हो । तर नेपालको गणतन्त्र र 'गणतन्त्रवादी' नेताहरूले नेपाली जनताको अधिकार खोसी बाहिर बुझाएका छन्, महत्त्वपूर्ण निर्णयबाट उनीहरूलाई वञ्चित गरेर । गणतन्त्रमा राजा हुँदैनन्, तर राजासंस्था नहुनु मात्र गणतन्त्र हैन । बिचौलिया र परनिर्देशित नेताहरूको कब्जामा रहेको शासन, राजनीति र सत्ता गणतन्त्र हुँदैन । त्यसैले नेपालमा गणतन्त्र उदाएको छैन । वास्तवमा 'गणतन्त्र' विदेशी उपहारका रूपमा आयो ।

अवैध रूपमा, पहिलो संविधानसभाबाट त्यसलाई प्रक्रियाविहीन तरिकाले अनुमोदन गराइयो । तर मुलुकले धेरै क्षति बेहोरेपछि त्यो बाह्य खेलको एउटा अभ्यास भएको धेरैले स्विकारेका छन् अहिले । 'गणतन्त्र' ले 'राजसंस्था' र नेपाली जनतालाई आत्मीय रूपमा नजिक ल्याएको छ, किनकि बाह्य दबाब र प्रभावमा अवैधरूपमा लिइएको त्यो निर्णयले 'राजसंस्था' र जनतालाई 'विचरा' या 'भिक्टिम' को दर्जामा खसाल्यो । त्यसैले राजनीतिक दलहरूले बाह्रबुँदेविपरीतको निर्णय लिन नसकेको अथवा त्यसले नेपालको राजनीतिमा बाह्य हस्तक्षेप निम्त्याएको कबुल गर्न हिम्मत नेतृत्वले गर्न नसके पनि 'राजसंस्था' का प्रतिनिधि र जनताबीच बुझिने खालको सम्बन्ध र सौहार्दता बढेको छ ।

२०६३ पछिको राजनीतिक परिवर्तनमा राजसंस्था र जनता दुवैको भूमिका शून्य बनाइँदा आज अनिश्चितता, अराजकता तथा राजनीतिक अस्थायित्व उत्पन्न भएको हो । यसको लागि मुख्यतया परिवर्तनको 'एजेन्डा' लाई खासगरी भारतको उक्साहटमै एकलौटी रूपमा निर्धारण गर्ने माओवादी नेतृत्व र प्रतिबद्धताविना नै त्यसलाई स्विकार्ने नेपाली कांग्रेस तथा एमाले जिम्मेवार छन् । गणतन्त्र, संघीयता र धर्म निरेपक्षताबारे पुरानो सत्ता अथवा राजसंस्था, जनता र सबै राजनीतिक पक्षलाई सहभागी बनाएर निर्णय लिन किन हिम्मत देखाएनन् बाह्रबुँदेका हस्ताक्षरकर्ताहरूले ?

राजसंस्थाका प्रतिनिधि ज्ञानेन्द्र शाहले नेपालमा अब राजतन्त्रको आवश्यकता छैन भनेका भए अथवा नेपाली जनताले त्यस्तो फैसला दिने अवसर पाएका भए के आज गणतन्त्र संस्थापन भइसकेको हुन्थेन र ? धर्म निरपेक्षता र संघीयताले पनि त्यही संस्थागत स्वरूप पाउने थिए । त्यसैले आठजना नेताको नियन्त्रण र दबाबमा संविधानसभाका सदस्यहरूले मत खसाल्नुपर्ने या ताली बजाउनुपर्ने बाध्यताबाट जन्मिएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताले उनीहरूले जन्माएको अधुरो र प्रायोजित संविधानमा ठाउँ त पाए, तर जनताको स्वीकार्य र अनुमोदन पाउन सकेन । अहिलेको विडम्बना त्यही हो ।

हाम्रा बाह्रबुँदे नेताहरूले 'अग्रगमन' र प्रजातन्त्र एकअर्काको पर्याय हो भन्ने अर्थ लगाए । ०६३ को आन्दोलनको साझा नारा 'सुदृढ प्रजातन्त्र' को साटो 'अग्रगमन' को बिल्ला किन भिरे उनीहरूले ? प्रजातन्त्रमा महत्त्वपूर्ण निर्णयमा जनअनुमोदन आवश्यक पर्ने हुनाले स्वेच्छाचारी ढंगले अग्रगमनको मार्ग चुने र दुर्घटनामा पारे उनीहरूले मुलुकलाई ।

 

नेपाली नेताहरूमा प्रजातन्त्रको मर्म र मान्यताबारे ज्ञान थिएन या बाह्य उक्साहटबाट मात्रै निर्देशित भए उनीहरू नेपाललाई हतारमा 'अग्रगामी' टोपी लगाइदिन ? प्रजातन्त्रका अनेक परिभाषा छन् र ती सबैमा जनअनुमोदन, जनसहभागिता तथा जनताद्वारा निर्वाचित सर्वोच्च संस्थाप्रति जिम्मेवार सरकारको परिकल्पना गरिएको छ । प्रजातन्त्रमा जनताको निर्णायक भूमिका हुन्छ, तर उनीहरूको निर्णय सधैँ 'अग्रगामी' एजेन्डाको पक्ष या अनुमोदनमा हुँदैन ।

अनि जनताले 'अग्रगामी' उनीहरूका एजेन्डालाई अनुमोदन नगर्लान् कि भन्ने डरले प्रक्रियामा जनतालाई सहभागी गराएनन् उनीहरूले । अहिलेको राजनीतिक अस्थिरताको र संविधानप्रति बढ्दो उदासीनता र आक्रोशको मुख्य कारण त्यही हो । कसरी सुधार्ने त त्यसलाई ? यो अपरिहार्य सुधारका पनि विदेशी आदेश पर्खिने या कथित दुई या तीन दलको सहमतिलाई नै निर्णायक बनाउने प्रपञ्च रचिएमा फेरि अर्को अस्थिरता आउनेछ । अस्थिरता र अराजकतातर्फ नै सरकार र त्यसका दुई दल अगाडि बढेकाले उनीहरू मुलुकको हित र समयको माग अनि आफ्नै गल्तीबाट सिक्नुको साटो अझै पनि बाहिरबाटै परिचालित त छैनन् भन्ने आशंका घट्न सकेको छैन ।

सामाजिक सञ्जालमा आउने टिप्पणीमा अक्सर निजी र 'अग्रगामी' धारणा आउने गर्छन्, तर हरेक व्यक्तिले निजी रूपमा जे मान्यता राखे पनि महत्त्वपूर्ण राजनीतिक र संवैधानिक विषयमा सामूहिक रूपमा जनतालाई निर्णायक भूमिका सुम्पिए त्यसले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई सुदृढ बनाउँछ । हो, कसैले कथित अग्रगमनको अनि कसैले कथित प्रतिगमनको समर्थन गर्लान्, तर जनताले प्रतिगमनको अनुमोदन गर्नेछन् भन्ने पूर्वाग्रहकै आधारमा उनीहरूको भूमिका केही नेताले खोस्न पाउँदैनन् ।

अमेरिकी सन्दर्भमा डोनाल्ड ट्रम्पले जित्ने आशंकामा चुनाव स्थगित गर्न मिल्ला र ? समयको प्रवाहसँगै कथित अग्रगमनका पक्षधर नेताहरू पनि खासै अग्रगामी रहेनछन् भन्ने उनीहरूको व्यवहारले देखाइसकेको छ । उनीहरूले अब 'शंकाको लाभ' पाउने हैसियतसमेत गुमाइसकेका छन् ।

२०६३ पछिको राजनीतिक परिवर्तनमा राजसंस्था र जनता दुवैको भूमिका शून्य बनाइँदा आज अनिश्चितता, अराजकता तथा राजनीतिक अस्थायित्व उत्पन्न भएको हो । यसको लागि मुख्यतया परिवर्तनको 'एजेन्डा' लाई खासगरी भारतको उक्साहटमै एकलौटी रूपमा निर्धारण गर्ने माओवादी नेतृत्व र प्रतिबद्धताविना नै त्यसलाई स्विकार्ने नेपाली कांग्रेस तथा एमाले जिम्मेवार छन् ।

जनतालाई महत्त्वपूर्ण राजनीतिक तथा संवैधानिक विषयबाट निषेध गर्दा राज्यका विभिन्न अंग र संस्थाहरूका उत्तरदायी चरित्र र व्यवहार धराशयी हुन्छन् । शासनमा स्वेच्छाचारिता बढ्छ । राजनीतिक दलहरूको 'सिन्डिकेट' चरित्रले संसद् र सर्वोच्च अदालतलाई पनि गाँजेन र ? नत्र न्यायपालिका तथा सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षता बाह्य शक्ति र आन्तरिक राजनीतिक गठबन्धनबाट खोसिँदा किन त्यसको न्यायिक र संवैधानिक निरूपण हुन सकेन ? यी कमजोरीबाट नेपालमा राजनीतिक पक्षहरू जस्तै न्यायिक क्षमता र चरित्रमा पनि प्रश्न उठेका छन् । त्यसैले त्यसको उपचार र सुधार आत्मनिरीक्षण, समीक्षा र सहकार्यबाट मात्र सम्भव छ । आन्तरिक र बाह्य परिस्थितिका कारण त्यसमा ढिलाइ गर्दा मुलुक अरू कमजोर हुनेछ ।

भारत र पाकिस्तान सम्बन्धमा डरलाग्दो तनाव उत्पन्न भएको छ । अस्थिर नेपाल अरू प्रभावित नरहला भन्न सकिन्न त्यसबाट । द्वन्द्वबाट घेरिँदा भारतको अविश्वास नेपालप्रति अरू बढ्ने र त्यही अनुपातमा हस्तक्षेपले निरन्तरता पाउने खतरा पनि छ । यी प्रतिकूल परिस्थितिमा मुलुक एक ढिक्का र बढी संयमित हुनुपर्ने हुन्छ । तर नौमहिने सत्ताकेन्द्रित गठबन्धनले मुलुकमा पूर्ण स्वीकार्यता पाउला भन्ने निष्कर्ष सही हुने छैन । एकातिर सर्वोच्च न्यायालयलगायत राज्यका महत्त्वपूर्ण संस्थाहरू दलीय प्रभावमा घेरिएका छन् भने अर्कोतिर दलहरू र खासगरी तिनका नेतृत्वको मुलुकप्रतिको बफादारी प्रश्नको घेरामा परेका छन् ।

अहिलेको परिस्थितिसँग असन्तुष्ट देखिएका सीपी गजुरेल जस्ता नेताहरूले समेत गणतन्त्रवादी र देशभक्तलाई एक ठाउँमा उभिन आग्रह गर्दा 'देशभक्त' को हुन् ? त्यो खुलाउन सकेका छैनन् । सबै माओवादी पहिले स्पष्ट हुनु आवश्यक छ कि गणतन्त्र यो मुलुकका जनताले ल्याएका हैनन् । तर विदेशी त्यो उपहारलाई स्विकारेर 'अग्रगामी' को दम्भ भिर्दा के 'देशभक्त' ले त्यसलाई स्विकार्लान् त ? यो मुलुकमा गणतन्त्रबारे निर्णय गर्दा जनताको सामूहिक आत्मनिर्णयको अधिकारको मूल्यमा त्यो हुनु हुँदैन भनेर माओवादीले मानेमा वर्तमान समस्याको समाधान निकै सहज हुनेछ ।

गजुरेल-वैद्यले त्यस्तो मागमा अडिग जनतालाई कुन कित्तामा राखेका छन् ? जनताको सामूहिक निर्णयको हकलाई स्वीकार नगर्नेहरू गणतन्त्रवादी हुन सक्तैनन् । नेपालका कम्युनिस्ट र माओवादीहरूको विडम्बना यही हो । एउटा अति केन्द्रीकृत राजनीतिक 'सिन्डिकेट' ले जनताको अधिकारलाई निषेध गरेर ल्याएको भनिएको 'अग्रगामी' संविधान धरापमा पर्नुलाई अस्वाभिावक भन्न सकिँदैन । त्यस्तो परिणतिबारे पूर्वानुमान गर्न नसक्नु राजनीतिक अपरिपक्कता हो । न्यायपालिकाले पनि 'अग्रगमन' कै राजनीतिक एजेन्डा अनुमोदनलाई आफ्नो न्यायिक दायित्व मान्यो भने जनता हार्नेछन्, अदालतमा पनि । तर, जनताको त्यो हार क्षणिक हुनेछ ।

फेरि प्रजातन्त्रमा फर्कौं एकछिन । प्रजातन्त्रले सिद्धान्ततः जवाफदेशी व्यवस्था सुनिश्चित गर्छ । उसले न्यायपालिकाको स्वतन्त्रता, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको मान्यतामा सम्झौता गर्दैन । प्रजातन्त्रमा जनताको निर्णायकत्वको सर्वोच्चता हुने हुनाले उसले 'अधिनायकवाद' र 'तानाशाह' को अस्तित्व अनि आन्तरिक राजनीतिमा विदेशी हैकम स्विकार्दैन । त्यसले ०६३ को परिवर्तन र हाम्रो भोगाइबाट हामीले निष्कर्ष निकाल्न सक्नुपर्छ— हामीले प्रजातन्त्रलाई सदृढ गर्‌यौं कि तिलाञ्जली दिँदैछौं ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.