अमेरिकी किशोरद्वारा बावुको हत्या
![अमेरिकी किशोरद्वारा बावुको हत्या](https://annapurnapost.prixacdn.net/media/albums/american-kisor-57eded043d5fa7.78171906_2xWVUO6UET.jpg)
वासिङटनः अमेरिकाको टाउनवाइलमा १४ वर्षीय एक किशोरले गोली हानी बावुको हत्या गरेका छन् । हत्यालगत्तै उनले नजिकै रहेको स्कुलमा गोली प्रहार गर्दा दुईजना विद्यार्थी र एक शिक्षिका गम्भीर घाइते भएका छन् ।
प्रहरी अधिकारीका अनुसार आरोपी किशोरले दुवै विद्यार्थीका गोडामा र शिक्षिकाको काँधमा गोली प्रहार गरेका थिए । स्थानीय समयअनुसार मध्याह्न १ः४५ बजे टाउनवाइलस्थित स्कुलमा आक्रमण गर्नुपूर्व ती किशोरले ४७ वर्षीय पिता जेफरी ओसबोर्नको गोली हानेर हत्या गरेका थिए ।
एन्डर्सन काउन्टी स्कुल डिस्ट्रिक्ट ४ का सुपरीवेक्षक जोआन आवरीले भने, ‘हामी यस्ता खाले बेमतलबका हिंसाबाट निकै पीडित छौं । हामीले पूरै एक साता स्कुल बन्द गरिदिएका छौं ।' प्रहरीले किशोरले गोली प्रहार गर्नुको कारणका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।
साउथ क्यारोलिनाकी गभर्नर निकी हेलीले वक्तव्य जारी गर्दै उक्त घटनाबाट आफू मर्माहत भएको बताएकी छन् । उनले भनिन्, ‘टाउनवाइल स्कुलको यो घटनामा हामी पूरै सहयोग गर्ने छौं । हामीले साउथ क्यारोलिनाका घाइतेको स्वास्थ्य लाभको कामना गर्दछौं ।' हाल अमेरिकामा कयौं ठाउँमा गोली आक्रमण भएका छन् । किशोरहरू पनि बन्दुक लिएर शैक्षिक संस्थामा आक्रमण गर्ने घटना निकै वृद्धि भएको छ । यस्ता नृशंस घटना हुन थालेपछि अमेरिकामा हतियारमा प्रतिबन्ध लगाउनुपर्ने माग बढेको छ ।
अधिकारीका अनुसार आक्रमणकारी र घाइते विद्यार्थी सँगै विद्यालय जाने गर्थे । ग्रामीण इलाकामा रहेको उक्त विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । गोली आक्रमण हुन थालेपछि कयौं विद्यार्थीले शौचालयमा छिरेर ज्यान जोगाएका थिए । घटनालगत्तै प्रहरीले उक्त विद्यालयलाई पूरै घेराउ गरेको थियो । विद्यालय परिसरमा रहेका विद्यार्थीलाई प्रहरीले उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)