ओबामाको भिटोविरुद्व मत
![ओबामाको भिटोविरुद्व मत](https://annapurnapost.prixacdn.net/media/albums/Congress-Saudi-Arabia-57edf05b6e6f42.30650540_ZYs9BQMo2P.jpg)
वासिङटनः संयुक्त राज्य अमेरिकाको संसद् सिनेटले राष्ट्रपति बाराक ओबामाले लगाएको भिटो रद्द गर्ने पक्षमा अत्यधिक बहुमतले पारित गरेको छ । यसबाट न्युयोर्कको जुम्ल्याहा टावरमा आक्रमण गर्न सहयोग गरेको साउदी अरेबियामाथि अमेरिकी नागरिकले मुद्दा दायर गर्ने बाटो खुलेको छ ।
आठ वर्ष लामो बाराक ओबामाको कार्यकालमा राष्ट्रपतीय भिटोका विरोधमा सिनेटले मतदान गरेको पहिलोपटक हो । सिनेटका ९७ सदस्यले ओबामाको भिटो रद्द गर्नुुपर्ने पक्षमा मतदान गरेका थिए ।
भिटोको विरोधका पक्षमा भने एक मत मात्र परेको थियो । नेभादाका डेमोक्र्याट सिनेटर एवं ओबामाका साथी ह्यारी रिडले विपक्षमा मतदान गरेका थिए । यसपछि सिनेटमा पनि मतदान हुने छ ।
राष्ट्रपति ओबामाले यस कामबाट अमेरिकाको राष्ट्रिय हितमा गम्भीर प्रभाव पर्न सक्ने भन्दै उनले भिटो प्रयोग गरेका थिए । जास्टा अमेरिकी हितका विरुद्ध भएको ओबामाको दाबी थियो ।
उक्त विधेयक पारित भएको भए सम्प्रभुतासम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तको चुनौती हुने र यसबाट अमेरिकी हित र विदेशमा रहेका अमेरिकी नागरिकमाथि नराम्रो हुन सक्ने उनको दाबी थियो । साउदी अरेबिया अमेरिकाको निकटतम साझेदार भएको र यसबाट ऊसँग सम्बन्ध बिग्रने चेतावनी दिए ।’
‘जस्टिस अगेन्स्ट स्पन्सर्स अफ टेररिजम एक्ट’ (जास्टा) नामको उक्त विधेयकमा ओबामाले भिटो लगाएका थिए । ओबामाको भिटोमाथि मतदान हुनुले उनी ह्वाइट हाउसमा निकै कमजोर रहेको संकेत देखिएको छ । अहिलेसम्म ओबामाले १२ पटक भिटो प्रयोग गरेका थिए । यसअघिका उनका कुनै पनि भिटो रद्द भएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)