बेचिँदै प्राधिकरणका आयोजनाहरू

बेचिँदै प्राधिकरणका आयोजनाहरू

वितरण र प्रसारणमा एकाधिकार पाएर पनि घाटामा जाने एकमात्र सार्वजनिक विद्युत् प्राधिकरण हो । बिजुली विशुद्ध व्यावसायिक विषय हो, यसमा नाफा हुन्छ, जहाँ नाफा हुन्छ त्यहाँ लगानी आउँछ भन्ने २०४९ सालमा बनेको विद्युत् विकास नीति नै यो क्षेत्रको अधोगतिको मुख्य कारण हो । विद्युत्मा क्षमता र आवश्यकताभन्दा बढी निजी क्षेत्रमाथिको निर्भरताले राज्यले लगानी गर्न छोड्यो ।

अरुण तेस्रोमा प्रतिबद्धता जनाएका दाताहरू कालीगण्डकी 'ए' र मध्य मस्र्याङदी जस्ता सर्वाधिक महँगा आयोजनामा लगानी गरे । जसरी तत्कालीन शाही नेपाल वायु सेवा निगमका चलिरहेका जहाज बेचेर भाडामा ल्याउन थालियो, त्यसयता त्यो संस्था धराशयी हुँदै गए । सरकारी कलकारखाना निजीकरण गरिएर अस्तित्व नै समाप्त पारियो । २०४६ सालपछिका नेतृत्वको दलगत र गुटगत स्वार्थका कारण राष्ट्रिय कलकारखाना ध्वस्त पारियो । त्यही सन्दर्भमा प्राधिकरणलाई पनि निजी क्षेत्रको बिजुली खरिद गर्न लगाएर धराशयी बनाइयो ।

हालसम्म खिम्ती र भोटेकोसीका कारण मात्र प्राधिकरणलाई झन्डै एक सय अर्ब रुपैयाँ घाटा परिसकेको छ र यो क्रमले अझै दुई दसकभन्दा बढी निरन्तरता पाइरहनेछ । खिम्ती र भोटेकोसीले थला परेको प्राधिकरणमा पुनः डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने क्रम रोकिएन ।

जो ऊर्जामन्त्री हुन्छ ऊ र उसको पार्टीको क्षणिक आर्थिक स्वार्थ मात्र हेरियो, मुलुकको समग्र ऊर्जा क्षेत्र हेरिएन । खिम्ती र भोटेकोसीले जर्जर पारेको प्राधिकरणलाई त्यसैको समानान्तर अर्को पीपीए गरियो चिलिमेका नाममा । नेपाली मुद्रामा पीपीए गरिएको भए पनि चिलिमे खिम्तीको अर्को संस्करण हो । आफ्नै हात जगन्नाथ शैलीमा आफैँ आयोजना निर्माण गर्ने, आफैं पीपीए गर्ने र आफ्नै कर्मचारीलाई सेयर दिने संसारमा कहीं नभएको लगानी मोडेल प्राधिकरण र तत्कालीन जलस्रोत मन्त्रालयका केही स्वनामधन्य जलस्रोतविद्हरूले भित्र्याए ।

२२ मेगावाटको चिलिमे स्वदेशी लगानीमा निर्माण भयो र यसले माथिल्लो तामाकोसी जस्ता आयोजना स्वदेशी लगानीमा निर्माण हुन सक्छन् भन्ने दृष्टान्त स्थापित गर्‌यो, त्यो आफ्नो ठाउँमा छ । तर माथिल्लो तामाकोसी जस्तो कालीगण्डकी 'ए' को भन्दा आधा संरचना बनाए पुग्ने र प्राकृतिक बाँध भएको आयोजना शतप्रतिशत प्राधिकरणको लगानीमा निर्माण भएको भए खिम्ती र भोटेकोसीले पारेको घाउ केही हदसम्म पुरिने थिए । तर आफैं ऋण दिने र आफ्नै कर्मचारीलाई सेयर हाल्न बाध्य पार्ने गरी जुन मोडेलमा माथिल्लो तामाकोसी बनाइयो, त्यो नीतिगत भ्रष्टाचार थियो ।

कुलेखानी र मध्य मस्र्याङदी जस्ता विद्युत् गृह धितोमा राखेर ऋण प्रवाह गरेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, टेलिकम जस्ता सेवाप्रदायक कम्पनीका ट्रेड युनियनको दबाबमा कर्मचारीलाई सेयर दिलाइयो, जुन सीधा भ्रष्टाचार थियो । किनभने माथिल्लो तामाकोसी जस्तो सस्तो आयोजना संसारमा विरलै भेटिन्छ । त्यसको लाइसेन्स प्राधिकरणसित थियो, जुन ऋणप्रदायक संस्थाका कर्मचारीहरूलाई बेचियो ।

आकर्षक प्रतिफल दिने, छिटो निर्माण हुने, थोरै संरचना बनाए पुग्ने आयोजना यस्ता सहायक कम्पनीमार्फत निर्माण गर्दै कर्मचारीले सेयर लिने प्रवृत्ति बढ्दै गयो । अझ चिलिमेको प्रबन्ध सञ्चालक भएर चारवटा आयोजना (दुई सान्जेन, मध्य भोटेकोसी र रसुवागढी) एकसाथ निर्माणको बन्दोबस्ती मिलाएर अनुभव प्राप्त भएका व्यक्ति अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

उनको दृष्टिकोणमा सहायक कम्पनीबाहेक प्राधिकरणले अन्य आयोजना निर्माण नै गर्न सक्दैन । त्यही भएर उनले प्राधिकरण र सरकारले अध्ययन गरिरहेका आकर्षक आयोजना यस्तै सहायक कम्पनीमार्फत निर्माण गर्ने प्रस्ताव गरेका छन् । प्राधिकरणले वषौंदेखि लडाइँ गरेर बल्लबल्ल हात पारेको माथिल्लो अरुण, उत्तर गंगा, दूधकोसी, तामाकोसी पाँचौं जस्ता आयोजना अब सहायक कम्पनीबाट निर्माण गर्ने प्रस्ताव गरिएको छ । यो प्रस्तावका पछाडि दुइटा कारण देखिएका छन् ।
पहिलो, प्राधिकरणले अबदेखि कुनै पनि आयोजना निर्माण गर्न सक्दैन भन्ने सन्देश विश्वव्यापी रूपमा प्रवाहित गरी प्राधिकरणलाई निकम्मा बनाउने, अर्को, प्राधिकरणसित भएका आकर्षक र दीर्घकालीन रणनीतिक आयोजना बेचबिखन गरी प्राधिकरणलाई सीधै भड्खालोमा पुर्‌याउने । जतिसुकै तर्क गरेर फलाके पनि यी दुई कारणबाहेक अरू हुन सक्दैन । किनभने प्राधिकरणको स्वामित्वमा लाइसेन्स भएका आयोजना 'लगानी योग्य छैन' भन्ने रिपोर्ट लेख्न लगाएर निजी क्षेत्रलाई अनौपचारिक रूपले बेचिएका इतिहास प्राधिकरणमा छन् ।

उदाहरणका लागि प्राधिकरणले अध्ययन गरेका खिम्ती, भोटेकोसी र माथिल्लो त्रिशूली-१ जस्ता आयोजना उसबाट खोसेर निजी क्षेत्रलाई बेचियो । ती बेचिएका आयोजनासित डलरमा पीपीए गरेर अहिले प्राधिकरणको यो गति बनाइएको कसैबाट लुकेको छैन । अब माथिल्लो त्रिशूली– १ को पीडीए पनि अहिलेका ऊर्जामन्त्रीले गरिहाले, अब डलरमा पीपीए गर्न बाँकी छ । त्यो पनि छिट्टै हुँदैछ ।

सहायक कम्पनी मोटाउने तर मातृ कम्पनी घाटा खाने संसारमा कहीं नभएको मोडेल हामीकहाँ हावी छ ।

सामान्यतया जलाशययुक्त जतिसुकै संसारमा ख्याति कमाएको कम्पनी होस्, उसले पीपीए गर्ने गरी निर्माण गर्न सकेको इतिहास छैन । किनभन विश्वमै ठूला जलविद्युत् आयोजनाहरू निजी क्षेत्रबाट निर्माण हुन सकेका छैनन् । जलाशयुक्तमा राज्यकै लगानी चाहिन्छ, यो विश्वमा भएका जलविद्युत् विकासको इतिहासले देखाएको तथ्य हो । नदी प्रवाही आयोजनाको डलरमा पीपीए गर्दा यो हविगत छ भने जलाशययुक्त र अर्धजलाशययुक्त (पिकिङ) को डलरमा पीपीए गर्दा प्राधिकरण मात्र होइन, मुलुककै अर्थतन्त्रको हालत कस्तो होला ? जबकि तत्कालीन गभर्नर डा. युवराज खतिवडाले संसदीय समितिमा उपस्थित भएर मुलुकको अर्थतन्त्रले डलरमा पीपीए धान्न सक्दैन भनेर पुष्टि नै गरेका थिए ।

अर्कोतर्फ, अहिले प्राधिकरणले कम्पनी मोडेलमा लैजान लागेका आयोजना स्वदेशी मुद्रामै पीपीए भएछ भने पनि त्यसले प्राधिकरणलाई नाफा होइन, उल्टो घाटा पार्नेछ । किनभने चिलिमेमा ५१ प्रतिशत सेयर प्राधिकरणको रहँदासमेत उसलाई घाटा छ, जबकि उसका सेयर होल्डर (कर्मचारी र सर्वसाधारण) लाई फाइदा छ । त्यस्तै मध्य भोटेकोसी र दुवै सान्जेनमा प्राधिकरणको १० प्रतिशत, रसुवागढीमा १८ प्रतिशत, माथिल्लो तामाकासीमा ४१ प्रतिशत सेयर दिइएको छ । यही शैलीमा माथिल्लो अरुण र उत्तरगंगाहरूको सेयर प्राधिकरणमा हुने हो भने उसलाई सीधा घाटा पर्ने देखिन्छ ।

सहायक कम्पनी मोटाउने तर मातृ कम्पनी घाटा खाने संसारमा कहीं नभएको मोडेल हामीकहाँ हावी छ । अर्कोतर्फ जलाशययुक्त आयोजनाको पीपीए दर अहिलेकै हिसाबमा प्रतियुनिट १४ रुपैयाँ पर्न आउँछ । भारतबाट आयातित बिजुली प्रतियुनिट १० रुपैयाँ पर्दा प्राधिकरणलाई गत वर्ष १२ अर्ब रुपैयाँ घाटा भएको थियो । प्राधिकरण आफैँले जनताको ढाड सेक्ने गरी बिजुलीको भाउ बढाउन सक्दैन । त्यसबाहेक हामीकहाँ बिहान र बेलुकीको बिजुलीको भाउ एउटै छ ।

यसरी हर प्रकारले प्राधिकरणलाई घाटाबाहेक नाफा कहीं छैन । जबसम्म प्राधिकरणमा नाफामा जाँदैन वा लगिँदैन तबसम्म मुलुकबाट लोडसेडिङ अन्त्य हुँदैन त्यसै भनिएको होइन । किनभने प्राधिकरणको विकल्पमा निजी क्षेत्र आउनै सक्दैन र सरकारले प्राधिकरणको समानान्तरमा अर्को संस्था कम्तीमा हाललाई स्थापना गर्न सक्दैन । ऊर्जामन्त्री जनार्दन शर्माले पद सम्हालेको एक साता बित्न नपाउँदै प्राधिकरणको वार्षिकोत्सवमा भनेका थिए— प्राधिकरणलाई घाटाबाट नाफामा लैजान्छु ।

तर उनको त्यो शब्द भए पनि व्यवहार भने प्राधिकरणलाई घाटाबाट झन् घाटामा लैजाने खालको छ । प्राधिकरणलाई नाफामा लैजान दुईवटा उपाय अवलम्बन गरे मात्र पुग्छ । पहिलो, राज्य ग्यारेन्टी बसेर माथिल्लो अरुण, उत्तरगंगा र दूधकोसी जस्ता आयोजना उसैको स्वामित्वमा बढाउने र अर्को चुहावट नियन्त्रण गर्ने । चुहावट नियन्त्रणमा ऊर्जामन्त्री वा कार्यकारी निर्देशकको ध्यानै छैन, छ केवल कसरी हुन्छ प्राधिकरणको स्वामित्वमा रहेका आकर्षक आयोजना बेचबिखन गरेर कम्पनी मोडेलमा बनाउने । हुँदाहुँदा सरकारी स्वामित्वमा निर्माण भइरहेको राहुघाटजस्तो आयोजनासमेत क्षमता विस्तार गरी कम्पनी मोडेलमा बनाउने प्रस्ताव गरेका छन् कार्यकारी निर्देशकले ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.