बार्दलीमा अमर न्याैपानेको प्रस्तुति
नेपालगन्जः बार्दलीको पहिलो साहित्यिक शृंखलामा चर्चित युवा आख्यानकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने प्रस्तुत भएका छन् । बार्दली फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा पानीको घाम, करोडौं कस्तुरी तथा सेतो धरतीका स्रष्टा न्यौपानेले आफ्ना प्रतिनिधि कविता वाचन गरेका थिए। उनले कार्यक्रममा आख्यान कृतिहरूको रचनागर्भबारे पनि चर्चा गरे ।
नेपालगन्जसँग विशेष माया रहेको र यहीँ रहेर पहिलो कृति ‘पानीको घाम’ लेखेको न्यौपानेले बताए । उक्त कृति नेपालगन्जको सेरोफेरोमा रहेर लेखिएको कृति हो । साहित्य, संस्कृति, कला र संगीतको विकासका लागि आधुनिक प्रविधिलाई जोडेर थप आकर्षक प्रस्तुति गर्दै संरक्षण र संवद्र्धनमा सहयोग गर्न बार्दलीले कार्यक्रम आयोजना गरेको हो ।
शुक्रबार साँझ दुई घन्टासम्म चलेको कार्यक्रममा प्रथम चरणमा न्यौपानेका कविताको सुन्दर प्रस्तुति भयो । दोस्रो चरणमा उनको सफलता र संघर्षको कथालाई अन्तरक्रियात्मक र प्रश्नोत्तरको शैलीमा प्रस्तुति गरिएको थियो ।
साहित्यिक क्षेत्रलाई सेवामूलक सँगसँगै व्यावसायिकता प्रदान गर्न नेपालगन्जमा पहिलोपटक उक्त कार्यक्रम सशुल्क बनाइएको बार्दली फाउन्डेनका अध्यक्ष भोजराज शर्माले जानकारी दिए ।
कार्यक्रममा यस क्षेत्रका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी, संघ संगठनका प्रतिनिधि, पत्रकारलगायत करिब पाँच सयजनाको सहभागिता थियो ।