फिजी कि सिक्किम ?
![फिजी कि सिक्किम ?](https://annapurnapost.prixacdn.net/media/albums/Nepal-india-china-57f1f1cc491507.46190396_NPkr7rscNX.jpg)
'बाँकाबीर' बलदेव शाही (शाह) १९०५ सालमा रुद्रवीर स्वाँरको खुकुरी प्रहारबाट मारिए । १९०२ सालमा भएको कोतपर्वपछि सर्वशक्तिमान भएका जंगबहादुर राणा (वीरनरसिंह कुँवर) एकतन्त्री ढंगले शासन गर्न थालेपछि अछामका चेतनशील युवक बलदेवले त्यसको विरोध गरे ।
जंगबहादुरले बलदेवलाई विप्लवी ठानेर आदेश दिए, 'अछामी रणभीम शाहको भाइ बलदेव शाही, बझाङी अमरसिंह भण्डारी १, गुमानी सिंहका भाइ ईश्वर सिंह १ जहाँ फेला पर्छन्, यिनलाई काटिदिनू ।' उनले आदेशमा भनेका छन्, 'यिनीहरूको मद्दतीमा जोजो छन्, तिनलाई नेल- गलफन्दी हाली नउम्काउन्या गरी यहाँ ल्याउने काम गर्नू । इति संवत् १९०५ साल मिति वैशाख सुदौ रोज शुभम् ।'
बलदेव तानाशाही शासनको सशक्त विरोध गर्ने जुझारु युवक थिए । त्यसैले तत्कालीन शासकद्वारा मारिए भन्ने कुरा धेरैले चर्चा गरेका छन् । सुदूरपश्चिमको इतिहास परिचय र नेपाली इतिहास मन्थनलगायत पच्चीसवटा पुस्तक लेखिसकेका आत्माराम ओझाले विभिन्न सन्दर्भ सामग्री र दस्तावेजहरूलाई आधार मानेर बाँकावीर बलदेव शाही (शाह) नेपालका प्रथम सहिद हुन् भन्नुभएको छ । बाँकावीर बलदेवभन्दा झन्डै ३१÷३२ वर्षपछि मारिएका लखन थापा प्रथम सहिद भनेर गरिएको प्रचार इतिहासको अन्वेषण र अनुसन्धानबेगर गरिएको अपव्याख्या मात्र होइन, इतिहास बंग्याउने प्रपञ्च पनि हो ।
२००४ सालमा इलामका भगीरथ गौतम र बैतडी बमराडा गाउँका आत्माराम ओझा (हाल कन्चनपुर) काठमाडौंमा झन्डै दुई वर्ष एउटै कोठामा बसेका सहपाठी हुनुहुन्थ्यो । इतिहास र साहित्यमा दुवैको अभिरुचि थियो । पचासी वर्षको उमेरमा पनि साहित्य सिर्जनामा सक्रिय ओझा सुदूरपश्चिम, कर्णाली क्षेत्र, नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कन्चनपुर) आदिको मात्र होइन, सम्पूर्ण नेपाली इतिहासका ज्ञाता हुनुहुन्छ ।
केही वर्षअघि त्रिभुवन विश्वविद्यालय सिनासका अन्वेषक पेशलकुमार निरौला र पंक्तिकार उहाँको निवास (कन्चनपुर, महाकाली) पुग्दा उहाँले नेपाली इतिहासको खोजीविहीन ढंगले नभएकोमा दुःखमनाउ गर्नुभएको थियो । पंक्तिकारका पिता (स्वर्गीय भगीरथ गौतम) तथा साहित्यकार आत्माराम युवावस्थामा घनिष्ट मित्र हुनुभएकाले पारिवारिक वातावरणमै हाम्रो कुराकानी भयो । युवापुस्तालाई समेत दिग्भ्रमित तुल्याउने कतिपय इतिहास लेखकहरूले दल, जात, गुट वा क्षेत्रलाई मात्र महत्त्व दिएर साँचो इतिहास ढाकछोप गरेकोमा ओझा जस्ता सत्यवादीहरू चिन्तित देखिएका छन् । राष्ट्र ढल्न लाग्दा पनि टाठाबाठा भने मौन छन् ।
आज नयाँ पुस्तालाई उल्टोपाल्टो सिकाइँदै छ । राष्ट्रलाई भावनात्मक रूपमा टुक्राटुक्रा बनाइएको छ । अखण्ड राष्ट्रलाई भौगोलिक रूपमा खण्डखण्ड बनाउन खोजिएको छ । अंग्रेजीमा 'पार्ट' शब्दबाट बनेको पार्टीले समष्टि, व्यापकता, अखण्ड र सुदृढ मण्डलको परिकल्पना गर्दैन । प्राचीन ग्रन्थमा सौरमण्डल, वायुमण्डल, व्योम मण्डल, पृथ्वी मण्डल जस्ता शब्दले व्यापक अर्थ दिएको पाइन्छ ।
हाम्रो धर्मसंस्कृतिले संसारका सबै मानव एउटै परिवारका सदस्य हुन् भन्दै 'वसुधैव कुटुम्बकम्' मानेको हो । हाम्रो सभ्यताले 'पृथिवी शन्ति ... अन्तरिक्ष शान्ति' भन्दै सबैको भलो होस् भन्ने सन्देश दिएको छ । त्यसैले पूर्वजले 'सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया' तथा भवतु सब्ब मंगलम् (सबैको मंगल होस्) भन्ने सिकाए । आज राजनीति र प्रशासन चलाउनेहरू आफ्नै मात्र भलो हेरिरहेका छन् ।
राष्ट्रलाई स्वाधीन राख्न स्वतन्त्र नीति चाहिन्छ । त्यसैले २०२३ पुसमा नेपालले मुद्रासम्बन्धी स्पष्ट नीति ल्यायो । नेपालमा भारतीय मुद्रा खुला रूपमा प्रचलनमा रहेको अवस्था विस्तारै अन्त्य भयो । पचहत्तरै जिल्लामा नेपाली मुद्रा मात्र चल्न थाल्यो । भारतीय पाठ्यपुस्तक हटाइए । २०१२ सालमा चीनसँग दौत्य सम्बन्ध स्थापना भएपछि झस्किएको भारतले २००७ सालदेखि नै नेपाललाई प्रान्त बनाउन चाहे पनि राजा महेन्द्रको सुदृढ नेतृत्वका कारण त्यो असम्भव हुँदै गयो । केही भारतपरस्त व्यक्तिहरूलाई प्रयोग गरेर राजा महेन्द्रको हत्या गर्ने प्रयास पनि गरियो । जनकपुरमा राजाकै गाडीलाई लक्षित गरेर २०१८ साल माघ ९ गते बम प्रहार गरियो ।
'आफूमाथि बम प्रहार गर्ने युवक दुर्गानन्द झालाई अरूले उकासेको सूचना पाएपछि राजा महेन्द्रले माफी दिने सोच बनाएका रहेछन् । दरबारका न्यायाधीश (राजाका कानुनी सल्लाहकार) पशुपति कोइरालाले बिन्ती गरेछन् 'सरकार, जघन्य अपराधीलाई पनि माफी दिन थाल्यो भने त्यो त नजिर बन्छ ।' त्यसपछिको कुरा थाहा भएन । पछि दुर्गानन्दकी पत्नी सेतो वस्त्र लगाएर जनकपुरबाट काठमाडौं आइन् र आफ्ना पतिका कपडा, बाकस आदि लिएर गइन् । त्यसबेला मात्र थाहा भयो, दुर्गानन्द मारिएछन् ।' न्यायिक क्षेत्रमा धेरै वर्ष सेवा गरेका काठमाडौं रक्तकाली निवासी एकजना पूर्व कर्मचारीले झन्डै ३५ वर्षअघि पंक्तिकारलाई सुनाएका थिए ।
२०२४ साल जेठ १२ गते नेपालबाट चीन जोड्न अरनिको राजमार्गको उद्घाटन गरे राजा महेन्द्रले । भारतले त्यसलाई आफूविरुद्धको ठूलो धक्का ठान्यो । नेपालका राजा चीनपरस्त बन्दैछन् भन्ने प्रचार गराएर भारतले बद्नाम गर्न खोजे पनि राजा महेन्द्र विचलित भएनन् । उनको मान्यता थियो, सबै वादभन्दा राष्ट्रवाद सर्वोच्च हो । त्यसैले राष्ट्रलाई स्वावलम्बी, सक्षम र आत्मनिर्भर बनाउनुपर्छ ।
२०२८ साल असारमा राजा महेन्द्रले सोभियत संघ र अफगानिस्तानको भ्रमण गरे । मस्कोमा सोभियत राष्ट्रपति निकोलाई भी. पोदगोर्नीले रात्रिभोजमा ठट्टा गर्दै राजा महेन्द्रलाई सोधेछन्, 'नेपालको उत्तर र दक्षिणमा चीन-भारत जस्ता मोटामोटा छन् । सरकार त पातलो होइबक्सन्छ ।' राजाले पनि हाँस्दै जवाफ दिएछन्, 'पातलो माहुतेले मोटामोटा हात्तीलाई पनि फन्फनी घुमाउँछ, होइन र महामहिम ? ' भ्रमण दलमा मस्को गएका पुराना कर्मचारी सम्झिन्छन् ।
तीक्ष्ण बुद्धिका थिए राजा महेन्द्र । त्यसैले सोभियत संघ र अमेरिका तथा चीन र भारत जस्ता राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राखेर नेपालमा ठूलो लगानी गराए । कूटनीतिक मर्यादा उल्लंघन गर्ने कतिपयलाई चौबीस घन्टाभित्र देशनिकाला गरेका छन् उनले । डराएर लुत्रुक्क पर्ने स्वभावका थिएनन् राजा महेन्द्र । त्यसैले मानिसहरू भन्छन्, 'हजार स्यालको हुइँयाभन्दा एउटै सिंहको शासन राम्रो ।'
यसरी 'गणतन्त्र संस्थागत गर्दै जाने' होडबाजी चल्यो भने नेपालीहरू एक दिन फिजी वा सिक्किमका जनताजस्तै बन्छन् र त्यसबेला नेपाली सेना बन्छ- गोर्खा रेजिमेन्ट । के हामीले त्यही पर्खिरहेका हौं त ! ?
२०२४ सालदेखि लगातार चार वर्ष मुटुको रोगी भए, राजा महेन्द्र । अहोरात्र परिश्रम गरेर राष्ट्रोत्थानमा तल्लीन रहँदा राम्रोसँग आरामसमेत नपुगेको राजाका निजी चिकित्सक डा. सुशीलचन्द्र हल्डरले लेखका छन् । उनी लेख्छन्, 'वास्तवमा मौसुफको गाथमा पूर्ण मानसिक वि श्राम कहिल्यै हुन पाउँदैनथ्यो ।' १०४ वर्षसम्म राणाशासकका पिँजडाका सुगा बनेका पूर्वजभन्दा फरक स्वभावका थिए महेन्द्र । इतिहासकार तथा महेन्द्रकालका मन्त्री भुवनलाल प्रधानले भनेका छन्, 'अरूले दस वर्षमा गरेका काम हामीले दुईचार वर्षमै गर्नुपर्छ भन्थे राजा महेन्द्र ।'
आज राष्ट्रिय राजनीतिका प्रमुख खेलाडीहरूका निम्ति राजनीतिक दल भनेको 'सेरा' मात्र हो । (राजदरबारको लागि चाहिने खाद्यान्न उत्पादन गर्ने र सुरक्षित राख्ने जमिनलाई सेरा भनिन्छ ।) ठूला नेता, उनीहरूका घरपरिवारका सदस्य, केही कार्यकर्ता तथा सीमित व्यक्तिको लागि राष्ट्रको ढुकुटी खुर्वाविर्ता, पेवा, खान्की र सेरा बनेको छ । कर नलाग्ने गरी जीविकोपार्जनको लागि उहिले राजा -महाराजाले प्रियजनलाई उर्वर खेत दिन्थे, जसलाई बिर्ता भनिन्थ्यो ।
केही दलका लागि राष्ट्र नै बिर्ता भएको छ । कन्चनपुर (महाकाली अञ्चल) निवासी पत्रकार तथा लेखक बलदेव अवस्थीको कथन घतलाग्दो छ, 'जहानिया शासन र दलीय शासन उस्तै रहेछ । सीमित व्यक्ति र उनीहरूका आसेपासेलाई आनन्द, अरूलाई कष्ट ।' विधिको शासन नभएपछि ब्रिगेको गिदीको शासन चल्छ । नेपालमा त्यही देखिएको छ । त्यसैले हरेक क्षेत्रमा बेथिति छ । एउटा कुरा मात्र सधैँ निश्चित छ- अनिश्चितता ।
नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेका अनुसार, केपी ओली नेतृत्वको सरकार नढालेमा विदेशी शक्तिले माओवादी केन्द्रका मुर्धन्य नेतालाई 'मदन भण्डारी बनाइदिने' चेतावनी दिएको रहेछ । ती माओवादी नेताले भनेछन्, -म प्रधानमन्त्री 'भइदिनैपर्ने' भो, नत्र मार्छु भन्छन् तर म प्रधानमन्त्री भएपछि 'उसको' आदेश मान्नैपर्छ । दिल्लीमा भारतको विदेश नीति नेपालले अक्षरशः पालना गर्ने कबुलियतनामा वा कायलनामामा हस्ताक्षर गरेपछि नेपालका प्रधानमन्त्री 'मुख्यमन्त्री' नै बन्न पुगे ।
यसरी 'गणतन्त्रलाई संस्थागत गर्दै जाने' होडबाजी चल्यो भने नेपालीहरू एक दिन फिजी वा सिक्किमका जनताजस्तै बन्छन् र त्यसबेला नेपाली सेना बन्छ -गोर्खा रेजिमेन्ट । के हामीले त्यही पर्खिरहेका हौं त ! ?
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)