उमेरले बूढो भइँदैन

उमेरले बूढो भइँदैन

काठमाडौं: बलिउडकी चर्चित सेलिब्रेटी हेयर स्टाइलिस्ट सिल्भी रजर्स तीनदिने नेपाल भ्रमणमा आएकी छन् । कमलादीस्थित डलिज एक्जुकेटिभ क्रियसन्सको २० औं वार्षिकोत्सव मनाउने क्रममा उनी नेपाल आएकी हुन् । सिल्भीले तीनदिने नेपाल बसाइमा धेरै क्लाइन्टको कपालको शैलीलाई सुन्दर बनाइदिने भएकी छन् ।

हेर्दाहेर्दा केही मिनेटमै आफ्नो कपाल काटेर त्यसलाई ब्लो ड्राई गरी अनुहारलाई सुहाउँदो हेयर स्टायल बनाइदिएकोमा फेसन डिजाइनर एवं इन्टिरियर डिजाइनर रोशन भट्टराई दंग परिन् । उनले भनिन्, ‘साँच्चै उहाँको हातमा जादु रहेछ ।’

सिल्भीको यही सीपले आकर्षित भएर धेरै नेपाली क्लाइन्टहरू उनीसँग कपाल कटाउनकै लागि दिल्लीसम्म पुग्ने गरेका छन् ।
तिनै क्लाइन्टलाई भेटेर उनीहरूलाई सुन्दर बनाउने चाहनाले उनलाई १५ वर्षपछि पुनः नेपालसम्म डोर्‍यायो । सत्तरीको दशकको अन्तिमतिर बनेका चलचित्रमा उनले नै नायिकाहरूको कपाल बनाइदिने गर्थिन् । त्यतिबेलाका प्रविन बाबी, जिनत अमान, हेमा मालिनी, पद्मिनी कोलापुरीलगायत चर्चित नायिकाका हेयर स्टाइलिस्ट उनी नै थिइन् ।

सन् १९८८ ताका भारतको राजधानी दिल्लीमा पहिलोपटक फेसन शो गराउने श्रेय पनि उनलाई नै जान्छ । त्यतिबेला निकै चर्चामा आएको उनको फेसन शोका राहुल देवलगायतका मोडलहरू अहिले आएर हजुरबुबा हजुरआमासम्म भइसकेका छन् ।
सिल्भी भने आफूलाई अझै जवान नै छु भन्न रुचाउँछिन् । ‘म भर्खर २१ वर्ष लागेँ, जवान देखिन स्कर्ट लगाउने गर्छु’, उनले भनिन्, ‘३१ लागेपछि काम छाडेर आराम गर्ने बारेमा सोचौंला ।’ उनका अनुसार बुढ्यौली उमेरले होइन सोचाइले आउने कुरा हो । आफ्नो काम गर्ने उमेर पुग्यो भनेर नबसी निरन्तर काममै खटेकाले यत्तिको फुर्तिलो हुन सकेको उनको अनुभव छ । आज पनि उनी नथाकी दिनमा १५ जनासम्मको कपाललाई विभिन्न आकर्षक स्टायल दिन सक्छिन् ।

उनी आफ्नो पेसालाई सन्तान सरह माया गर्छिन् र काम गर्दा रमाएर गर्छिन् । आमाको यही सिर्जनशील पेसाबाट प्रेरित भएर उनका दुई छोराहरू तुसार मल्लिक र क्यासिन मल्लिकले पनि यही पेसालाई रोजेका छन् । भारतभरि रहेका १६ वटा सिल्भी डिजाइनर्स सलोनमध्ये दिल्लीका सलोनहरूको जिम्मेवारी उनका छोराहरूले सम्हाल्दै आएका छन् ।

चलचित्रमा उनले अचेल निकै कम काम गर्छिन् । यसको जिम्मा उनले आफूभन्दा दस वर्ष कान्छी बहिनी यासमिन रजर्सलाई दिएकी छन् ।

कपाललाई विभिन्न स्टायल दिँदा त्यसले अनुहारको स्वरूप, कपालको टेक्सचर र डिजाइनलाई परिवर्तन गरिदिने उनको भनाइ छ । हरेक कपालको टेक्सचर फरक हुन्छ । यदि टेक्सचर नराम्रो भएमा भिटामिन, स्पालगायतका उपायद्वारा सुधार्ने उनी सुझाव दिन्छिन्। कपालको स्टायलमात्रै नभई गुणस्तर पनि सुधार्ने हुनाले उनी आफूलाई कपालको डाक्टरसमेत भन्न रुचाउँछिन् ।

कपालको स्टायलले महिलाको उमेरलाई दस वर्ष कम देखाउन सक्छ । कसैको कपाललाई स्टायल दिँदा उनको उमेर र पेसा पनि हेर्नुपर्ने उनले बताइन् । नेपाली महिलाको कपाल प्राकृतिक रूपमै सुन्दर छन् । तर त्यसलाई थोरै स्टायल दिनाले झन् सुन्दर देखिने हुनाले महान् चाड दसैंको अवसरमा आफ्नो हेयर स्टायललाई केही परिवर्तन गर्न सिल्भीले सुझाव दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.