आमाको किरिया बसेको छोरा मध्यरातमा बेपत्ता
इलामः आमाको किरिया बसेका इलाम दानावारी ७ का २८ बर्षीय नेत्रबहादु बुढाथोकी शनिबार बिहादेखि वेपत्ता भएका छन् । आमाको निधनले शोकमा डुबेको परिवारमा जेठो छोरा बेपत्ता भएपनि अर्को शोक थपिएको छ ।
दशदिन अघि बितेकी आमाको काममा रहेका उनी शनिबार विहान साढे तीन बजेदेखि बेपत्ता भएको स्थिानीय शिक्षक गोपाल घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार बुढाथोकी वेपत्ता भएपछि घरमा रुवावासी छ। ५६ बर्षकी आमा दमन्ता बुढाथोकीको अचानक मृत्यु भएपछि भाइसँग कोरामा बसेका नेत्रबहादुर मध्यरातमा बेपत्ता भएका हुन् ।
वेपत्ता बुढाथोकी जेठो छोरा हुन । उनी सँगै किरिया बसेका भाइका अनुसार उनी राति दुई बजेसम्म मोबाइल खेलाएर बसेका थिए ।
तीन दाजुभाइ मध्ये माइलो भाइ शुक्रबार मात्र विदेशबाट आमाको किरियाका लागि घर आइपुगेका थिए ।
बुढाथोकी हराएपछि विहानैदेखि स्थानीय खोजीमा लागेको स्थानीय हरिअसिम अधिकारीले जानकारी दिए। उनले भने ,‘खोलाकिनारसहित सबैतिर खोज्यौ उनी भेटिएनन् ।’
बुढाथोकीका श्रीमती र एक छोरा छन् ।