टुँडिखेलमा नेपाली सेनाको फुलपाती बढाइँ
काठमाडौँ: वडा दसैंको अवसरमा नेपाली सेनाले राजधानीको टुँडिखेलमा फुलपाती बढाइँ गरेको छ । राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाको बढाइँ कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेर सुरु भएको बढाइँको उपलक्ष्यमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै पाटामा एकठ्ठा बढाइँ र सबै पाटाले एकठ्ठा बढाइँ गरेको छ ।
त्यसैगरी, सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाकोे चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृति प्रदर्शन गरी लहरे र एकठ्ठा बढाइँ गर्नुको साथै विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो । बढाइँ कार्यक्रमको अन्त्यमा, बढाइँ कवाजमा भाग लिने टोलीहरुले इज्जत अर्पण (मार्च पाष्ट) कवाज समेत प्रदर्शन गरेका छ ।
फुलपाती बढाइँ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्की, मन्त्री, पूर्वप्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, अन्य सुरक्षा निकायका प्रमुख, पूर्वप्रधान सेनापति नेपालस्थित विदेशी नियोगका सैनिक सहचारी लगायतको उपस्थिति थियो ।