प्रचण्डको गोवा भ्रमण : मिसन सी
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलन तथा बिमस्टेक देशको आउटरिच सम्मेलनमा भाग लिन शनिबार भारत जान लागे पनि उनको मुख्य उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित गर्नु देखिएको छ ।
राष्ट्रपति सीले साथसाथै गर्ने भनिएको बंगलादेश यात्रा हुनु तर नेपाल यात्रा रद्द हुनुका पछाडि नेपालले असन्तुलित छिमेकी नीति अँगाल्नु र दाहाल भारतपरस्त हुनु मूल कारण भएको अड्कलबाजी भइरहेका बेला सीको नेपाल यात्रा सुनिश्चित गर्नु दाहालका लागि प्रतिष्ठाको विषय बनेको छ ।
चिनियाँ राष्ट्रपति गोवा जाँदा वा गोवाबाट फर्कंदा नेपाल भ्रमण गर्ने भनिए पनि उनको भ्रमण अन्तिम समयमा रद्द भएको थियो । यसैबीच भारतमा हुन लागेका दुई सम्मेलनका क्रममा दाहालले शनिबार अपराह्न ६ बजे सीसँग आधा घन्टा भेट्ने तय भएको छ । दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन विशेष कुराकानी हुने आफू निकटस्थलाई बताएका छन् ।
दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा सीले अघि बढाएको ‘वान रोड वान बेल्ट' मा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाउने दाहालका विदेश मामिला सल्लाहकार ऋषिराज अधिकारीले अन्नपूर्णलाई बताए ।
त्यस्तै विगतमा भएका पारवहन तथा यातायात सम्झौतालगायत चीनसँगका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता दाहालले व्यक्त गर्ने उनले बताए ।
‘चिनियाँ राष्ट्रपतिको चाँडै भ्रमण होस् भन्नेमा सरकार दृढ छ', उनले भने ।'
चिनियाँ राष्ट्रपतिको भ्रमण तत्काल रोकिए पनि डिसेम्बरभित्र नेपाल भ्रमण गराउन दाहाल इच्छुक देखिएका छन् । प्रधानमन्त्री दाहालको चीनका राष्ट्रपति सी जिनपिङसँग शनिबार बेलुका र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटवार्ता हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए ।
प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीले भुटानका प्रधानमन्त्री, श्रीलंकाका राष्ट्रपति, दक्षिणअफ्रिकाका राष्ट्रपति, ब्राजिलका राष्ट्रपति, रुसका राष्ट्रपतिलगायतसँग भेट्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपतिसँगको भेटघाटमा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि अनुरोध गर्ने मन्त्री महतले बताए ।
‘चीनबाट अनुकूल समयमा उच्चस्तरीय भ्रमण होस् भन्ने हामीले चाहेका छौं किनकि हामीले छिमेकी देश चीन र भारतसँगको सम्बन्धलाई महत्व दिएका छौं', उनले भने । चीनबाट जुनसुकै बेलामा पनि उच्चस्तरीय भ्रमणका लागि सरकार तयार रहेको उनले बताए ।
‘भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको तयारीमा जुटेका छौं । अब चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पनि उत्तिकै महत्वका साथ लिएका छौं । आशा छ उहाँहरू अनुकूल समयमा यहाँ आउनुहुनेछ', उनले भने ।
नेपाल र चीनबीचको सहयोगको सम्बन्धलाई अझै विकसित गर्ने विषयमा बैठकमा कुराकानी हुने उनले बताए ।
‘विगतमा भएका द्विपक्षीय सहयोगका समझदारी र भएका सम्झौतालाई कार्यान्वयनमा कसरी लैजाने भन्ने विषयमा कुराकानी हुनेछ', उनले भने । ब्रिक्स तथा बिमस्टेकका राष्ट्रप्रमुख÷राष्ट्राध्यक्षसँग एकै थलोमा भेट हुने मन्त्री महतले बताए ।
बिमस्टेक सदस्य देशका उच्च प्रतिनिधिसँग पनि छुट्टै भेटवार्ता भई बिमस्टेकलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे कुरा हुने उनले बताए । ‘दक्षिणएसिया र दक्षिणपूर्वी एसियाली मुलुकको क्षेत्रीय संगठन बिमस्टेकका सदस्यबीच कसरी सम्बन्ध विस्तार गर्ने भन्नेबारे कुराकानी हुनेछ', महतले भने, ‘विशेषगरी नेपालले यस बैठकमा सदस्य देशबीचको कनेक्टिभिटी बढाउने, जलविद्युत् विकास र नेपालजस्ता भूपरिवेष्ठित देशको आवश्यकताका विषयलाई जोड दिनेछ ।'
भारतको गोवामा आयोजना हुने आठौं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् । परराष्ट्रमन्त्री महतले शुक्रबार मन्त्रालयमा पत्रकारसम्मेलन गरी प्रधानमन्त्रीको गोवा भ्रमणबारे जानकारी गराए । भारतले शनिबार र आइतबार ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न लागेको हो । क्षेत्रीय संगठन ब्रिक्समा विश्वका पाँच उदीयमान अर्थतन्त्र भएका देश ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य छन् ।
भारतले अर्को क्षेत्रीय संगठन बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल एन्ड टेक्निकल कोअपरेसन (बिमस्टेक) को ‘आउटरिच सम्मेलन' पनि ब्रिक्स शिखर सम्मेलनकै क्रममा गोवामा आइतबार आयोजना गर्दैछ ।
बिमस्टेक सदस्य देशको हैसियतमा ब्रिक्स सम्मेलनमा भारतले नेपाललाई निमन्त्रणा गरेको हो । बिमस्टेक तथा ब्रिक्स सदस्य देशका सरकार÷राष्ट्र प्रमुखलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘रिट्रिट' आयोजना गर्ने भएका छन् ।
बिमस्टेकका सदस्य मुलुकका उच्चस्तरीय प्रतिनिधिहरूले प्रतिआतंकवाद, जलवायु परिवर्तन, वातावरणीय समस्या, प्राकृतिक विपत्तिको व्यवस्थापन, कनेक्टिभिटी प्रवद्र्धन, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन, गरिबी निवारण, जनस्तरको सम्पर्कलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त ‘रिट्रिट' पछि बिमस्टेकका सदस्य देशहरूले घोषणापत्र जारी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालका अलावा बिमस्टेकका सदस्य देशहरू थाइल्यान्ड, बंगलादेश, म्यानमार, भुटान र श्रीलंकालाई पनि भारतले ब्रिक्स सम्मेलनमा डाकेको छ । नेपाल बिमस्टेकको अध्यक्ष देश पनि हो ।
शनिबार र आइतबार आयोजना हुने ब्रिक्स शिखर सम्मेलन तथा त्यससँगै हुने बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री १५ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी सीता दाहाल, पुत्र एवं स्वकीय सचिव प्रकाश दाहाल, परराष्ट्रमन्त्री महत, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, परराष्ट्रका सहसचिव मणि भट्टराई, उपसचिव हरिप्रसाद ओडारी, दिल्लीस्थित कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाललगायत सहभागी हुने भएका छन् ।
दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन स्थगित भएकाले सार्कको नयाँ मितिका विषयमा सार्कका सदस्य देशसमेत रहेका बिमस्टेक मुलुकसँग त्यसबारे कुराकानी हुनसक्ने उनले बताए ।
हाइलाइटः प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा ‘वान रोड वान बेल्ट' मा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाउनेछन् ।