खुल्न थाले युद्धकालीन फाइल

खुल्न थाले युद्धकालीन फाइल

काठमाडौंः सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनकार्य प्रारम्भ गरेका छन् । सत्य निरूपणले सातवटै प्रदेशमा मुकाम खोलेर छानबिन अघि बढाउने भएको छ । बेपत्ता आयोगले प्रारम्भिक जाँचबुझकार्य सम्पन्न गरिसकेको छ ।

सत्य निरूपणको प्रस्तावअनुरूप अर्थ मन्त्रालयबाट विज्ञ र विशेषज्ञसम्बन्धी आर्थिक मापदण्ड अनुमोदन भएका कारण छानबिन अघि बढाउन सहज भएको छ । ‘अब सात प्रदेशबाट छानबिन सुरु हुन्छ ।

घटनाको छानबिनमा स्थानीय जनशक्ति प्रयोग गर्नेछौं', सत्य निरूपण आयोग अध्यक्ष सूर्यकिरण गुरुङले अन्नपूर्ण पोस्ट्सँग भने, ‘भरखरैमात्र अर्थबाट विज्ञ र विशेषज्ञको आर्थिकसम्बन्धी मापदण्ड स्वीकृत भएर आएको छ ।' स्थानीय प्रत्यक्षदर्शी व्यक्ति घटनाको छानबिनमा संलग्न हुँदा सत्य पत्ता लगाउन सहज हुने भएकाले आयोगले यस्तो रणनीति तय गरेको हो । उजुरीसम्बन्धी मापदण्ड रोक्न सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशले छानबिन प्रभावित नहुने पनि गुरुङले बताए ।

सत्य निरूपणले प्रत्येक जिल्लामा मुकाम विस्तार गरेर छानबिन तीव्र बनाउने भएको छ । पीडितका तर्फबाट आयोगमा ५३ हजार सात सय ८६ उजुरी परेका छन् । उक्त आयोगले गत साउन ४ गते जारी गरेको द्वन्द्वकालीन उजुरी तामेलीमा राख्नेसम्बन्धी मापदण्ड २०७३ माथि सर्वोच्चले अन्तरिम आदेशमार्फत दसैंअघि रोक लगाएको छ । उक्त मापदण्डका कारण आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा उत्पन्न भएको दाबीसहित द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट दायर भएको थियो ।

तामेली मापदण्डका आधारमा करिब १२ सय व्यक्तिको फाइल तामेलीमा पठाइएको दाबी पीडित पक्षको छ । ‘आयोगबाट एउटा पनि उजुरी तामेलीमा राखिएको छैन । द्वन्द्वकालीन घटनासँग कुनै सरोकारै नभएका उजुरीमात्र तामेलीमा राख्ने मापदण्डको प्रयोजन हो', उक्त आयोगका अध्यक्ष गुरुङले भने । उक्त विवादमा सर्वोच्चले आयोग र पीडित पक्षलाई छलफलमा डाकेको छ । सत्य निरूपण आयोगले उजुरी मापदण्डका विषयमा सर्वोच्चलाई प्रस्ट्याउने भएको छ ।

यता बेपत्ता आयोगले बेपत्ता व्यक्तिको उजुरीमा प्रारम्भिक जाँचबुझकार्य सकिएको जनाएको छ । उक्त आयोगमा बेपत्तासम्बन्धी दुई हजार नौ सय उजुरी दर्ता भएका थिए । ‘आयोगको क्षेत्राधिकारभित्र पर्ने हो वा होइन, द्वन्द्वकालको र द्वन्द्वसँग सम्बन्धित भएनभएको विषयमा प्रारम्भिक जाँचबुझ सकिएको छ', बेपत्ता आयोगका सचिव महेश शर्मा पौड्यालले भने, ‘बेपत्ता व्यक्तिको पहिचानका लागि काठमाडौं र भक्तपुरमा एन्टीमाटम फर्म भराउने काम पनि सकिएको छ ।' अन्य जिल्लामा पनि फर्म भराउने कार्य प्रारम्भ भएको छ ।

यस्तै विभिन्न निकायमार्फत बेपत्ताका विषयमा सूचना र फाइल झिकाइएको छ । बेपत्ता आयोगले उजुरीकर्तालाई थप प्रमाण पठाउन पनि परिपत्र गरेको सचिव पौड्यालले बताए । उक्त आयोगमा करिब तीन सय उजुरी द्वन्द्वसँग असम्बन्धित छन् । यस्ता उजुरी तामेलीमा राख्नुपूर्व आयोगले एकपल्ट उजुरीकर्तालाई सोध्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.