चीनले सबैभन्दा लामो मिशनमा पठायो दुर्इ अन्तरिक्ष यात्री
काठमाडाैं: चीनले शेनजु–११ अन्तरिक्ष यानको प्रक्षेपण गरेको छ। सोमबार गोबी रेगिस्तानको किनारमा निर्माण गरिएको जियोचुयान स्याटलाइट केन्द्रबाट शेनजू–११ अन्तरिक्ष यान प्रक्षेपण गरिएको हो।
दुईजना अन्तरिक्ष यात्रुसहित प्रक्षेपण गरिएको उक्त यानलाई अन्तरिक्षमा पठाइएको छ। मानिसलाई अन्तरिक्षमा पठाउने चीन तेस्रो मुलुक हो। यसअघि अमेरिका र रुसले मानवसहितको यानलाई अन्तरिक्षमा पठाएका थिए। चीनले प्रक्षेपण गरेको शेनजू–११ नामक अन्तरिक्ष यानमा ४९ वर्षीय जिंग हेपिङ र ३७ वर्षीय चेन डोंग सवार छन्। उनीहरु एक महिना लामो अन्तरिक्ष प्रयोगशाला थियानगोंग–२ मा रहने बीबीसीले जनाएको छ।
यो अन्तरिक्ष यात्रा चिनियाँ अन्तरिक्ष यात्रीका लागि सबैभन्दा लामो यात्रा हुनेछ। अन्तरिक्ष यानमा सवार ४९ वर्षीय जिंग हेपिङले यसअघि दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका छन्।
चिनियाँ राष्ट्रपति शी जिनपिङले चीनको यो प्रक्षेपणले अन्तरिक्षमा सम्भावनाको खोजीमा धेरै अघि बढ्ने बताएका छन्। ‘शेनजु–११ प्रक्षेपणपछि भविश्यमा अन्तरिक्षको खोजीमा अझै ठूलो कदम चाल्न चीन सक्षम हुनेछ। यो अभियानले हामीलाई अन्तरिक्ष शक्ति बन्न पनि थप मदत पुगेको छ,’उनले भनेका छन्।
यो अन्तरिक्ष यात्राको उद्देश्य चन्द्रमा र मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने सम्भावनाको खोजीका लागि हो। तीन वर्ष अघि चीनका रोवर मिशन र जेड रेबिट रोबोट चन्द्रमामा पुग्न सफल भएका थिए।