महाअभियोग प्रकरण : प्रचण्डको विशेष आग्रहमा संसद् स्थगित

महाअभियोग प्रकरण :  प्रचण्डको विशेष आग्रहमा संसद् स्थगित

काठमाडौः अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रका सांसदहरूले दर्ता गरेको महाभियोग प्रस्तावलाई कसरी अगाडि बढाउने भन्नेबारे सत्ता गठबन्धन र अन्य पार्टीहरूबीच तीव्र मतभेद र द्विविधा देखापरेपछि संसद् उक्त विषयमा प्रवेश नै नगरीकनै आइतबारसम्मका लागि स्थगित भएको छ । सत्ता गठबन्धनका माओवादी केन्द्र-कांग्रेस र माओवादी केन्द्रभित्रै पनि महाभियोग दर्ता गराइएको शैलीलाई लिएर केही प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीमगरसँग संसद् स्थगित गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री दाहालले कार्कीविरुद्धको महाभियोग प्रस्तावमा सबै दलसँग छलफल गर्न भन्दै समय माग गरेपछि बिहीबारको संसद् बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतासँग बिहीबार बिहान छलफलपछि संसद् बैठक केही दिन स्थगित गरिदिन सभामुख घर्तीमगरसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहपछि सभामुख घर्तीमगरले प्रमुख दलका प्रमुख सचेतकलाई आइतबारसम्म बैठक स्थगित गर्न लागेको जानकारी गराएकी थिइन् । सत्ता नेतृत्वको माओवादी केन्द्र र प्रमुख विपक्षी एमाले मिलेर अख्तियार प्रमुख कार्कीविरुद्ध बुधबार महाभियोग प्रस्ताव दर्ता गरे पनि पारित हुन कांग्रेसको समर्थन चाहिन्छ । दुई दलका १ सय ५७ सांसदले हस्ताक्षर गरी दर्ता भएको कार्कीविरुद्ध महाभियोग प्रस्ताव पारित हुन संसद्को दुईतिहाइको समर्थन चाहिन्छ ।

विदेश भ्रमणबाट फर्केलगत्तै अख्तियार प्रमुख कार्कीले ठूला दलका केही प्रभावशाली नेताहरूमाथि भ्रष्टाचार कारबाहीको फाइल अगाडि बढाउने तयारी गरेको सुइँको पाएपछि राति नै दुई दलले महाभियोग प्रस्ताव दर्ता गराएको स्रोतले दाबी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि महाभियोग प्रस्तावबारे छलफल भएको तर पार्टीको केन्द्रीय समिति बैठकपछि मात्र निर्णय गर्ने जबाफ देउवाले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई दिएको स्रोतले बताएको छ ।

यता संसद् बैठक आइतबारसम्म स्थगित भएपछि सभामुख घर्तीले स्विट्जरल्यान्डमा हुन लागेको अन्तर्राष्ट्रिय संसद् संघ (आईपीयू) बैठकमा भाग लिने कार्यक्रम रद्द गरेकी छन् । प्रमुख दलका प्रमुख सचेतकसहित सभामुख घर्ती शुक्रबार त्यसतर्फ जाने कार्यक्रम थियो ।

सिफारिस समिति कार्यविधि बनाउँदै

यसैबीच बुधबार गठन भएको महाभियोग सिफारिस समितिको पहिलो बैठक बिहीबार बसी सात दिनभित्र समितिको कार्यविधि तय गर्न ४ सदस्यीय उपसमिति गठन गरेको छ ।
माओवादी केन्द्रका रामनारायण बिडारीको संयोजकत्वमा गठित उपसमितिमा एमालेका पार्वत गुरुङ, कांग्रेसका दीपक कुइँकेल र राप्रपा नेपालका दिलनाथ गिरी सदस्य छन् । अख्तियार प्रमुख कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्मा छलफलपछि प्रस्ताव तयार पार्ने काम समितिले नै गर्नेछ ।

साना दलका तीनजना सांसदले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईविरुद्ध महाभियोग लगाउन दिएको सूचनामाथि पनि समितिले छानबिन गर्नेछ ।

एमालेमा ब्याक गियर छैनः ओली

एमाले अध्यक्ष केपी ओलीले अख्तियार प्रमुख कार्कीविरुद्धको महाभियोग प्रस्तावमा निर्भयतापूर्वक उभिन आफ्ना सांसदलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्र र एमाले मिलेर दर्ता भएको महाभियोग प्रस्तावमा कांग्रेसलगायत दलको पनि समर्थन जुट्ने बताएका थिए ।

‘एमालेमा ब्याक गियर (पछि हट्ने) छैन', बैठकमा ओलीले भनेका थिए, ‘निरंकुशताविरुद्ध पटकपटक लडेर आएका हौं । अहिले पनि कुनै व्यक्तिको दादागिरीसामु झुक्दैनौं ।' ओलीले कार्कीविरुद्धको महाभियोगको विपक्षमा कांग्रेस पनि नरहेको दाबी गरे ।

संसद्मा पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘कांग्रेस पनि विपक्षमा छैन । पार लगाइन्छ ।' कार्की नियुक्तिको फाइलका विषयमा डराउनुपर्ने कारण नरहेको भन्दै ओलीले अदालतको आदेश पालना नगर्ने काम सह्य नहुने बताए । एमालेले आइतबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको जानकारी प्रमुख सचेतक भानुभक्त ढकालले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.