निषेधको राजनीतिले विद्रोह जन्माउँछ-पूर्वराजा

 निषेधको राजनीतिले विद्रोह जन्माउँछ-पूर्वराजा

काठमाडौः हिन्दु राष्ट्र, राजसंस्था र हिन्दु बहुमत जनता नेपालको मुख्य पहिचान हुनुपर्ने एजेन्डाको उद्घाेष र पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति त्याग्न गरेको आह्वानसहित तीनदिने अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन काठमाडौंमा बिहीबारबाट प्रारम्भ भएको छ ।

पानसमा बत्ती बाली उद्घाटन भएको महासम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले निषेधको राजनीतिबाट मुलुकमा राजनीतिक तथा सामाजिक असन्तुलन आउने र त्यसले जन्माउने उपेक्षाबाट विद्रोह जन्मिनसक्ने चेतावनी राजनीतिक दललाई घुमारो पाराले दिए ।

उद्घाटन समारोहमा भारतीय लोकसभाका सदस्य एवं विश्व हिन्दु माहासंघ भारत एकाइका अध्यक्ष आदित्यनाथले नेपालमा अहिले समाप्त भएको हिन्दुको पहिचानको पुनस्र्थापनाका लागि हिन्दुहरूको संगठित संघर्षको अपरिहार्यतामा जोड दिएका थिए ।

उनले भने, ‘विश्वलाई प्रजातन्त्रको पाठ सिकाउने बेलायत, जापान, थाइल्यान्ड, नेदरल्यान्डमा राजतन्त्र बचाउने तर अढाइ करोड नेपाली रहेको यो मुलुकमा हिन्दु धर्म र हिन्दु राजा किन रहेन ? नेपालको आफ्नो मौलिक पहिचामाथि षड्यन्त्र किन ? नेपालको सम्मान र एकता राजतन्त्रबाटै भइरहेको छ ।'

कार्यक्रममा पूर्वराजा शाहले भने, ‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्छ तर व्यवहारमा निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँछ । असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्छ । आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ ।'

वनकालीमा पूर्वराजाले अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन उद्घाटन गरेको चार घन्टापछि सैनिक मञ्च टुँडिखेलमा आर्य समाजको सम्मेलनलाई राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्दै वैदिक सभ्यता अपनाउन सके हरक्षेत्रमा प्रेरणा मिल्ने बताएकी छन् ।

धर्मनिरपेक्ष मुलुकका राष्ट्रपतिका रूपमा उनले वैदिक सभ्यताको वकालत गरी अप्रत्यक्ष रूपमा हिन्दु एजेन्डा बोकेको सन्देश दिएकी छन् । वनकालीमा पूर्वराजा शाहले आफ्नो सम्बोधनमार्फत राजनीतिक अस्थिरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताउँदै भने, ‘यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्ने बेला आएको छ ।

कहिल्यै पराजित नभएको नेपाल कुनै बेला विश्व शान्ति, अध्यात्म, संचेतना र सहिष्णुताको उपमा थियो भने आज हामी कुन अवस्थामा छौं भनेर सोच्नैपर्ने बेला आएको छ । राष्ट्रको समग्र परिस्थिति र विगत केही वर्षका राजनीतिक गतिविधिसमेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहीन यात्रा हाम्रानिम्ति अभिशाप सिद्ध भएका छन् ।'

नेपाल गणतन्त्र घोषित भएको आठ वर्ष पूरा भए पनि ४४ विभिन्न मुलुकका प्रतिनिधि सामेल भएको सम्मेलनका आयोजकले पूर्वराजा शाहलाई विश्व हिन्दु सम्राटको उपाधि दिएर सम्बोधन गरेका थिए ।

मुलुकमा विषम, जटिल र क्लिष्ट परिस्थिति किन र कसरी सिर्जना भयो, यसका कारक तत्व केके हुन् भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्नुपर्ने बेला भएको पूर्वराजाले बताए । उनले भावविह्वल हुँदै भने, ‘सनातन धर्म, संस्कृति र सभ्यताको प्राचीन भूमि नेपालले आफ्नो मौलिक चिनारी हजारौं वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियताप्रतिको संवेदनशीलतालाई हृदयंगम गरेर सबै मिली अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्छौं ।'

राजर्षि जनकका आदर्श, बुद्धका वाणी, स्वामी विवेकानन्दका विचार तथा अनेक विद्वान-विदुषीहरूले देखाएको बाटो र हजारौं वर्षदेखि हाम्रा पूर्वराजाबाट विरासतमा प्राप्त सद्गुण र सद्विचार अनुसरण गर्दै अगाडि बढ्न सकेमात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम हुनसक्ने धारणा उनले राखे ।

गाई, गंगा, गुरु, गायत्री, वेद, उपनिषद्, गीताका पूजक सनातन हिन्दु अनुयायीका रूपमा विश्व मानचित्रको हिन्दु तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवत्खण्डको संरक्षण कसरी हुन सक्छ भन्ने प्रश्न पूर्वराजाले गरे ।

उनले भने, ‘दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत् खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र अध्यात्मको केन्द्र जोगाउनु के सामूहिक दायित्वभित्र पर्दैन ? '

‘जहाँ हिन्दु हुन्छन् त्यहांँ शान्ति र सद्भाव हुन्छन असत्यलाई निरुत्साही गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव विवाद, र संघर्षको स्थितिलाई न्यूनीकरण गर्न शाहले आह्वान गरे । उनले भने, ‘हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्छ ।'

उनले भने, ‘नेपालीलाई धार्मिक दृष्टिले पृथक भूगोलप्रति आस्था, विश्वास, र भारोसाको कडीले एउटै सूत्रमा बुनेको हुँदा सनातनि हिन्दूहरु जो जहां छन् त्यही सुसंस्कृत, सभ्य र शान्त छन् ।
हिन्दू धर्म, संस्कृतिमाथि कालो बादल मडारिएको बताउदै पूर्व राजा शाहले भने, ‘हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पुनंजागृत र सुसंस्कृत बताउन एकवद्ध हुनु पर्ने खाँंचो देखापरेको छ ।' हिन्दु दर्शनलाई नयांँ बाटो चाहिएको छैन तर नयां सोच अवश्य चाहिएकोमा शाहले जोड दिए ।

भारतीय जगद्गुरु शंकराचार्य वासुदेवानन्द सरस्वतीले ९४ प्रतिशत ओमकार परिवार भएको नेपाल हिन्दु राष्ट्र हुनुपर्ने र राजा रहनुपर्ने बताए ।

थोरै संख्यामा हिन्दु रहे पनि भारतको संविधानमा धर्मनिरपेक्ष शब्द नराखेको उल्लेख गर्दै उनले भने, ‘म त चाहन्छु नेपालमात्र होइन, भारत पनि हिन्दु राष्ट्र होस् ।'
उनले ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बन्नका लागि पशुपतिनाथसँग प्रार्थना गरेको बताए ।

भारतीय लोकसभाका सांसद एवं विश्व हिन्दु महासंघ भारत एकाइका प्रमुख आदित्यनाथले नेपाल पहिचानका लागि तड्पिरहेको बताएका छन् । उनले विश्वलाई प्रजातन्त्रको पाठ सिकाउने बेलायतसँगै जापान, थाइल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्डजस्ता मुलुकमा पनि राजसंस्था रहेको उल्लेख गर्दै नेपालमा राजसंस्था हटाउनु र पूर्वराजालाई वञ्चित गर्नु षड्यन्त्र भएको दाबी गरे ।

भारतले सयौं वर्ष अंग्रेजलगायतको गुलामी गर्दा नेपालले आफ्नो शिर सधैं उचो राखेको पनि उनको भनाइ छ । उनले नेपालको संसद्मा हिन्दु राष्ट्रबारे सबै मौन रहेको र यो मौनता खतरनाक हुने चेतावनी दिए । उनले भने, ‘हिन्दु राष्ट्र हुनु भनेको राष्ट्रिय चेतना जागृत हुनु हो । यो पद र प्रतिष्ठाका लागि होइन, नेपाल बचाउन र पहिचान राख्न हो ।'

भारतबाट आएका जगन्नाथदास वैष्णवले नेपाल कसैले घोषणा गरेर हिन्दु राष्ट्र नभएको बताउँदै अनादिकालदेखि स्वतस्फूर्त भएको पहिचान मेटाउन नमिल्ने बताए । उनले भने, ‘नेपालमा हिन्दु धर्म नास्न विदेशी पैसा र इसारामा चलखेल भएको छ ।'

नेपाली बाबाले संगठन र एकतामा नै शक्ति रहेकाले अहिले हिन्दु धर्मावलम्बीको संगठन र एकता बढिरहेको बताए । युवासन्त श्रीनिवासले राजनीतिक परिवर्तनका नाममा राजनीतिक दलका नेताले स्वार्थ पूरा गरिरहेको आरोप लगाए ।

उनले भने, ‘राजसंस्थालाई जनमतबिनै जबर्जस्ती अन्त्य गरियो । धर्मनिरपेक्ष भएपछि मठमन्दिर असुरक्षित भएका छन् । देशको प्राणलाई संकटमा पुर्‍याइएको छ ।'

राजस्थानका महाराज सिरोहीले हिन्दु राष्ट्र भएमात्र नेपालको झन्डा विश्वमा हमेसा उचो हुने बताए ।

राष्ट्रिय स्वयंसेवक संघ भारतका संगठक रघुनन्दन शर्माले नेपाल धर्म र संस्कृतिका क्षेत्रमा भारतको दाइ भएको बताए । उनले भने, ‘ श्री ५ जनतासामु आउनुपर्यो‍ । युवामा पुग्नुहोस्, तपाईंलाई उनीहरू ज्यान दिन तयार हुनेछन् । हिम्मतका साथ अघि बढे राष्ट्रको पहिचान जोगिनेछ ।'

विश्व बौद्ध महासंघका प्रतिनिधि कृष्णकुमार लामाले भिजिलान्तेले देश चलाएकाले जनताले धेरै दुःख पाएको भन्दै राजालाई पूर्वअवस्थामा फकाउनुपर्नेमा जोड दिए ।

महासम्मेलनका संयोजक भरतकेशर सिंहले राजा धर्म, संस्कृति र एकताका प्रतीक रहँदै आएकाले जनताले उनकै नेतृत्व चाहेको प्रस्ट पारे ।

राजधानीमा तीन दिनसम्म चल्ने महासम्मेलनमा थाइल्यान्ड, मलेसिया, बंगलादेश, भारत, पाकिस्तान, इन्डोनेसिया, श्रीलंका, मौरिससलगायत डेढ दर्जन देशको प्रतिनिधित्व छ ।

महासम्मेलनले हिन्दु धर्म परिवर्तन गर्नेलाई समायोजन गर्ने, धर्म र संस्कृतिभित्रका विकृति केलाउने, जातीय छुवाछूतलगायत विषयमा छलफल हुनेछ । महासम्मेलनमा नेपालका तर्फबाट तीनवटा र भारतका तर्फबाट एउटा कार्यपत्र प्रस्तुत हुनेछ ।


महाराज श्रीपेच र राजदण्ड कहिले फिर्ता लिने ?

अन्तर्राष्ट्रिय हिन्दु महासम्मेलनका अध्यक्ष एवं पूर्वमहासेनानी हेमबहादुर कार्कीले उद्घाटन समारोह अन्त्य गर्दै भने, ‘महाराज सरकारलाई नासोका रूपमा बुझाइबक्सेको श्रीपेच र राजदण्ड कहिले फिर्ता लिने ? अब चाँडै नै श्रीपेच र राजदण्ड फिर्ता लिइबक्सनुपर्‍यो ।'

महासम्मेलनका संयोजक भरतकेसरी सिंहले स्वागत मनतव्य दिँदै सम्मेलन सफल पार्न नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.