लोकमानको काम शाही आयोगकै शैलीमाः देउवा

लोकमानको काम शाही आयोगकै शैलीमाः देउवा

काठमाडौः कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने निकायका प्रमुख लोकमानसिंह कार्कीले उनीविरुद्ध गठित शाही आयोगकै शैलीमा काम गरेकाले महाभियोगको अवस्थासम्म आइपुगेको बताएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा देउवाले कार्यशैली सच्याउन आफूले पटकपटक गरेको आग्रह नमानेपछि कार्की यो अवस्थामा आइपुगको बताए । ‘शाही आयोगले जे गरेको थियो त्योभन्दा पनि तल झेरर लोकमानले काम गरे', बैठक समापन गर्ने क्रममा देउवाले भने, ‘कसैलाई थर्काउने, अख्तियार लगाइदिन्छु भन्नेजस्ता शैलीले गर्दा यो अवस्था आएको हो ।'


देउवाले लोकमानको हर्कतका कारण उनलाई समर्थन गर्न नसकिने पनि बताएका थिए । ‘अब समर्थन गर्न पनि गाह्रो, विरोध गर्न पनि', देउवाले बैठकमा भने ।

कार्कीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका देउवाले महाभियोग प्रस्ताव दर्ता गर्ने विषयमा एमाले र माओवादी केन्द्रले आफूसँग छलफल नगरेको स्पष्ट पारे । ‘एमाले अध्यक्ष केपी ओलीजीले बुधबार म र प्रधानमन्त्रीलाई बोलाउनुभयो ।

मैले सोचें स्थानीय नियकाका विषयमा छलफल होला । तर एक्कासि कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याउनुपर्‍यो भन्नुभयो', देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य गगन थापाले अन्नपूर्णसँग भने, ‘मैले पार्टी बैठक बस्दैछ । म त्यहाँ छलफल गर्छु भनें तर एक्कासि राति १० बजे प्रधानमन्त्रीले फोन गरेर महाभियोग प्रस्ताव दर्ता भएछ, मलाई पनि थाहा थिएन भन्नुभयो ।'

आफूलाई बिहीबार बिहान भेट्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव दर्ता भएको विषयमा आफूलाई जानकारी नभएको तर त्यस विषयमा छलफल गरी एउटै धारणा बनाउन जाऊँ भन्ने प्रस्ताव राखेको देउवाले बताए ।

बैठकमा नेता कृष्णप्रसाद सिटौलाले कार्कीविरुद्ध परेको महाभियोगको प्रस्तावको पक्षविपक्षमा छलफल गर्न आवश्यक नभएको भन्दै अदालतको कार्यसम्पादनको अवमूल्यन गर्ने कार्कीविरुद्ध महाभियोग प्रस्ताव लगाउनुपर्ने धारणा राखेका थिए ।

सिटौलाले हिन्दु अतिवादीहरूको चलखेल बढेको भन्दै त्यसमा पार्टी सचेत भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । ‘आजै हिन्दु राज्यका नाममा सांस्कृतिक राजा चाहिन्छ भनेर खुला रूपमा सभा भएको छ', सिटौलाले बैठकमा भने, ‘संविधान कार्यान्वयनको चरणमा विभिन्न शक्तिको चलखेल बढेको छ । यसमा संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस सचेत हुनुपर्छ ।'

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सत्तारूढ दलसँग पनि परामर्श नगरी महाभियोग प्रस्ताव आएको विषयमा स्वयं प्रधानमन्त्री नै आश्चर्यमा रहेको धारणा राखेका थिए । ‘प्रधानमन्त्रीसँग मेरो कुरा भएको थियो । उहाँलाई पनि महाभियोग प्रस्ताव दर्ता भएको थाहा रहेनछ', निधिले भने, ‘अब के गर्ने भन्ने विषयमा परामर्श गरौं भन्नुभएको छ ।'

बैठकमा केन्द्रीय सदस्य एवं मन्त्री गगन थापाले कार्कीलाई महाभियोग लगाउन सहयोग गर्ने अवसरलाई कांग्रेसले सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए । उनले कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति नै गलत रहेकाले अहिले सच्याउने मौका आएको धारणा राखेका थिए । ‘कार्कीले राज्यसंयन्त्रलाई भ्रष्ट बनाएका छन् । पार्टीले घाटानाफा नहेरी महाभियोग प्रस्तावका पक्षमा निर्णय लिनुपर्छ', थापाले भने ।

अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पनि महाभियोगका पक्षमा कांग्रेसले निर्णय गरे फाइदा हुने धारणा राखेका थिए । उनले महाभियोगका पक्षमा निर्णय गर्न नसके कांग्रेसले त्यसपछि ठूलो क्षति बेहोर्नुपर्ने भन्दै नेतृत्वलाई सचेत गराएका थिए ।

बैठकमा केन्द्रीय सदस्य रामशरण महतले पार्टीमा कुनै सल्लाह नगरी एक्कासि प्रतिपक्षी दल र सरकारको नेतृत्व गर्ने दलका केही सांसदले हस्ताक्षर गरेर महाभियोग प्रस्ताव दर्ता भएकाले तत्काल पक्षविपक्षमा निर्णय लिनुपर्ने आवश्यकता नभएको धारणा राखेका थिए । ‘महाभियोगको प्रक्रियामा गएर उनीमाथि केके आरोप छन् ? त्यसको उनले कसरी प्रतिवाद गर्छन् ? त्यो हेरेर मात्रै निर्णयमा पुग्नुपर्छ', महतले बैठकमा भने, ‘यस विषयमा सबैसँग छलफल गरेर मात्रै धारणा बनाउनुपर्छ ।'

केन्द्रीय सदस्य महेश आचार्यले कार्कीविरुद्धको महाभियोग प्रस्तावमा मन्त्रीको हस्ताक्षर भएकाले गम्भीर हुनुपर्ने धारणा राखेका थिए । कांग्रेस बैठक शुक्रबार पनि जारी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.