ब्याडमिन्टनमा नेपाललाई पहिलो स्वर्ण

ब्याडमिन्टनमा नेपाललाई पहिलो स्वर्ण

काठमाडौः नेपालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलोपटक स्वर्णपदक जितेको छ । दिदी-भाइ रत्नजित र नङ्सल तामाङको जोडीले पाकिस्तानमा सम्पन्न योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा मिश्रित युगल (मिक्स डबल्स) तर्फ पहिलो स्थान हातपारेको हो । शुक्रबार साँझ सम्पन्न फाइनलमा रत्नजित र नङ्सलको जोडीले पाकिस्तानी मेहमोना अमिर र मोहम्मद भाटीको जोडीलाई २१-१३, २१–१५ को सोझो सेटमा हराएको हो ।

प्रतियोगितामा सिरिया, बंगलादेश, पाकिस्तानसहित सात राष्ट्रको सहभागिता थियो । पाकिस्तानसँगको द्वन्द्वका कारण सबैभन्दा बलियो भारत भने प्रतियोगितामा सहभागी थिएन । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यसअघि नेपाली खेलाडी मिश्रित युगलमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेका थिएनन् । नेपाली खेलाडी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा तीनपटक पुगे पनि उपाधि जित्न भने असफल थिए ।

२०५२ सालमा नेपालमै आयोजना भएको महेन्द्र मेमोरियल इन्टरनेसनल च्याम्पियनसिपमा नेपालका नवीनविक्रम शाह पुरुष एकलको फाइनलमा पुगे पनि उपाधि जित्न असफल भएका थिए ।
पाकिस्तानमा भएको एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका सुमिना श्रेष्ठ र पूजा श्रेष्ठ महिला युगलको फाइनल पुगे पनि उपाधि भिडन्तमा पराजित भएका थिए । २००८ मा नेपालमै आयोजित नेपाल इन्टरनेसनल सिरिजमा पनि पूजा र सुमिनाको जोडी फाइनलमा पुगेर उपाधि भिडन्तमा पराजित भएको थियो ।

नङ्सल र सुमिनाले दक्षिणएसियाली खेलकुद (साग) को महिला एकलतर्फ कांस्यपदकसम्म जितेका थिए । ‘यो नेपाली ब्याडमिन्टनका लागि निकै खुसीको कुरा हो', पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले भने ।

सन् १९९० मा बंगलादेशमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा श्रेष्ठले पहिलो स्थान हातपारेका थिए । २७ वर्षीय नङ्सल र २३ वर्षीय रत्नजित पछिल्ला केही संस्करणयता एकल स्पर्धामा लगातार नेपाल च्याम्पियन हुन् । नङ्सल र रत्नजितकी दिदी सरादेवी तामाङ पनि केही पटककी नेपाल च्याम्पियन हुन् । घरेलु ब्याडमिन्टनमा यी तीनैजना नेपाल आर्मी क्लबबाट खेल्ने गर्छन् ।

नेपाली महिला ब्याडमिन्टमा उत्कृष्ट खेलाडीको पहिचान बनाएकी सरादेवीकै प्रेरणामा बहिनी नङ्सल र भाइ रत्नजितले सफलताको बाटो तय गरेका हुन् । सरादेवीले भनिन्, ‘भाइबहिनीले जिते । प्रतियोगिता आफैंले जितेजस्तो लागेको छ । यसका लागि हामीले लामो समय कुरेका थियौं ।'

केहीपटक नङ्सलसँग मिलेर मिश्रित युगलमा राष्ट्रिय च्याम्पियन बन्नुअघि उक्त सफलता रत्नजितले सरादेवीसँग मिलेर हातपारेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.