दुर्गम हिमाली भेगमा तीन वर्षदेखि चामल पुगेन
गोरखाः नेपाल खाद्य संस्थानको गोरखास्थित गोदाम भरिभराउ छ तर सिर्दिबासको फिलिम र माछाखोला गोदाममा तीन वर्षदेखि चामल पुगेको छैन ।
हिमालपारिका सात र वारिका पाँच गाविसका लागि भनेर प्रत्येक वर्ष पाँच हजार क्विन्टलभन्दा धेरै चामल आउँछ तर विगत तीन वर्षदेखि उक्त स्थानमा चामल ढुवानी नभएको खाद्य संस्थान गोरखा गोदामले जनाएको छ । हिमाली भेग भएकाले स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने र खाद्य संस्थानको चामल ढुवानी नभएपछि खाद्यान्न अभाव भएको छ ।
अन्नपूर्ण पोस्ट्मा दसैंको मुखमा पनि चामल अभाव भएको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयको आग्रह र गैरसरकारी संस्था महासंघको समन्वयमा केयर नेपाल, सेभ दी चिल्ड्रेन र अक्सफाम नामक संस्थाले हेलिकोप्टरबाट एक सय १९ क्विन्टल चामल सिर्दिबास पुर्याएका थिए । बाँकी चामल भने सदरमुकामस्थित गोदाममा नै थुप्रिएको छ ।
२०७१÷०७२ को कोटाको पाँच हजार क्विन्टल चामल भूकम्पका कारण बाटो अवरुद्ध भकाले आरुघाट र आर्खेत पुर्याएर सदरमुकाम नै फिर्ता गरिएको थियो । २०७२÷०७३ को सोही परिमाणको कोटाको चामल पनि बाटोको समस्याका कारण ढुवानी गर्न नसकेको ठेकेदार धनकुमार गुरुङ बताउँछन् । यस वर्षको चामल ढुवानी गर्न दरभाउको किचलोका कारण दुई पटकसम्म ठेक्का रद्द भएको खाद्य संस्थान गोरखा शाखाका प्रमुख टेकप्रसाद रेग्मी बताउँछन् ।
चामल ढुवानीका लागि पहिलोपटक ठेक्का पाएको गंगा जमुना निर्माण सेवाले तोकिएको समयभित्र सम्झौता नगरेपछि तीन लाख रुपैयाँ धरौटी जफत गरी ठेक्का रद्द गरिएको रेग्मीले बताए । दोस्रोपटकको ठेक्का प्रचलितभन्दा महंगो दरभाउमा परेकाले नेपाल खाद्य संस्थानको मूल्यांकन समितिले स्वीकृति नदिएको रेग्मीले जानकारी दिए ।
‘लामो समयदेखि फिलिम र माछाखोला डिपोमा कोटाअनुसारको चामल ढुवानी गर्न सकिएको छैन', रेग्मीले भने, ‘माछाखोलामा दुई हजार क्विन्टल र फिलिममा तीन हजार क्विन्टल चामल पुर्याउनुपर्ने हो तर एक दाना पनि पुर्याउन सकिएन ।' उक्त क्षेत्रमा खच्चडबाट चामल ढुवानी गर्न खाद्य संस्थानले ढुवानी अनुदान दिने गर्छ ।
दसैंको मुखमा दुर्गममा चामलको अभाव भएको गुनासो बढेपछि केयर नेपाल, सेभ दी चिल्ड्रेन र अक्सफाम नामका आईएनजीओको सहयोगमा हेलिकोप्टरबाट चार सय क्विन्टल चामल ढुवानीको प्रक्रिया अघि बढाइएको थियो तर हेलिकोप्टर नपाउँदा निर्धारितमध्ये एक सय १९ क्विन्टल चामल मात्र सिर्दिबास पुर्याइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाए ।
२०७१/०७२ को कोटाको पाँच हजार क्विन्टल चामल भूकम्पका कारण बाटो अवरुद्ध भकाले आरुघाट र आर्खेत पुर्याएर सदरमुकाम नै फिर्ता गरिएको थियो । २०७२/०७३ को सोही परिमाणको कोटाको चामल पनि बाटोको समस्याका कारण ढुवानी गर्न सकिएन भने यस वर्षको चामल ढुवानी गर्न दरभाउको किचलोका कारण दुई पटकसम्म ठेक्का रद्द भयो ।
जिल्ला प्रशासन कार्यालयको आग्रह र एनजीओ महासंघको समन्वयमा अक्सफामले ३० क्विन्टल र सेभ दी चिल्ड्रेनको सहयोगमा ८९ क्विन्टल चामल ढुवानी गरिएको प्रजिअ भट्टले बताए । उनका अनुसार केयर नेपालले सदरमुकामस्थित खाद्य संस्थानबाट धादिङको सल्यानटारसम्म २ सय ८१ क्विन्टल चामल ढुवानीमा सहयोग गरेको थियो । दसैंका लागि हेलिकोप्टरबाट आकस्मिक रूपमा थोरै चामल पुर्याए पनि बाँकी चामल आरुघाट र सदरमुकाममै अलपत्र छ ।
तीनवटा संस्थाको सहयोगमा चामल ढुवानीका लागि रकम संकलन भए पनि हेलिकोप्टर अभावले निर्धारित चामल ढुवानी गर्न नपाइएको गैरसरकारी संस्थाका अध्यक्ष सीताराम श्रेष्ठले बताए ।
‘दसैंको मुखमा चामल अभाव भएका समाचार प्रकाशित भएपछि सीडीओसाबले आकस्मिक रूपमा चामल बोक्न हेलिकोप्टर खोज्न आग्रह गर्नुभयो', श्रेष्ठले भने, ‘केयर नेपालले तत्काल सदरमुकामदेखि आरुघाटसम्म ढुवानी गर्यो ।
त्यहाँबाट माथि ढुवानी गर्न सेभ दी चिल्ड्रेनले १० लाख रुपयाँ उपलब्ध गरायो । सीआरएसले आठ लाख दिने प्रतिबद्धता जनायो तर हेलिकोप्टर अभावमा केही मात्र बोक्न सकियो ।'
दसैंलाई केन्द्रित गरी थोरै चामल पुर्याइए पनि उक्त क्षेत्रमा थप चामल पुर्याउन सकिएको छैन । विगत वर्षहरूमा पाँच हजार क्विन्टल ढुवानी गरिसकेपछि तीन हजार क्विन्टल थप चामल प्राप्त हुने गरेको थियो तर तीन वर्षदेखि गोरखाको दुर्गम हिमाली भेगमा चामल पुग्न सकेको छैन ।