जोखिममा रारा ताल
मुगु: प्रकृतिको अनुपम सौन्दर्यका रूपमा विख्यात रारा ताल पूर्वतर्फको कमजोर भूभाग र बर्सेनि बढ्दो भूक्षयीकरणका कारण जोखिममा परेको छ । तालको पूर्वी भागको कार्कीवाणा गाविसको माथिल्लो तुम, श्रीनगर गाविसको तल्लो तुम, ताल्चा विमानस्थलतर्फका भागमा बर्सेनि बढेको बाढीपहिरोको जोखिम बढ्दै गएको भूक्षयीकरणले गर्दा मुगुको पर्यटकीय आकर्षणको यो केन्द्र नै जोखिममा छ ।
रारा जोखिममा पर्दै जाँदा पूर्वतर्फको भाग फुट्ने खतरा पनि बढेको छ । रारा ताल समुद्री सतहबाट २९ सय ९० मिटरको उचाइमा छ । यसको क्षेत्रफल पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर चौडाइ र १६७ मिटर गहिरो छ ।
पूर्वी भागको करिब पाँच सय मिटर क्षेत्रको माटो कमजोर भएको, अत्यधिक रूख कटान भएको र संरक्षणका लागि कुनै पहल नभएकाले पनि जोखिम बढेको नागरिक समाज मुगुका अध्यक्ष चित्रबहादुर मल्लले बताए । उनका अनुसार जग्गा आवधिक गर्ने क्रममा खोरिया खन्ने काम तीव्रसँग जारी रहँदा जोखिम बढेको हो ।
रारामा बढेको जोखिमका कारण पूर्वीतर्फको भागमा रहेको बस्ती पनि असुरक्षित बन्दै गएको छ । यसको माथिल्लो र तल्लो तुम, श्रीनगर, कार्कीवाणा भाम्भाडा र ताल्चा विमानस्थल क्षेत्रको भागमाथि पनि खतराको चाप बढेको छ ।
हरेक वर्ष जोखिम बढ्दै गइरहेको छ भने राराको संरक्षण गर्ने र भूक्षय रोक्ने काम हुनसकेको छैन । यही जोखिम बढ्दै जाँदा भविष्यमा रारा ताल कुनै पनि बेला पूर्वतर्फबाट फुट्नसक्ने भन्दै स्थानीयले पत्रमार्फत सचेतनासमेत अपनाइसकेका छन् । तालमा जमेको पानीको निकास दक्षिणतर्फ मात्रै रहेको छ । तालमा जमेको पानी हल्लिरहने र पूर्वतर्फ नै बढी धक्का पर्ने भएकाले त्यसतर्फ फुट्नसक्ने अनुभव प्रकृतिका सामान्य नियमसँग परिचित स्थानीय बासिन्दाको छ ।
समयमा नै व्यवस्थापन गर्न नसके श्रीनगर, कार्कीवाणा गाविस, जिल्ला सरदमुकाम गमगढीदेखि पिना गाविससम्म जोखिममा पर्ने आशंका पनि स्थानीयले गरेका छन् ।
तालमा बढेको खतरा रोक्न कार्कीवाणा गाविसका १ देखि ६ वटा वडाका बासिन्दाले जिल्ला विकास समितिमा निवेदन दिएका छन् । तर समयमै निरोधात्मक कदम नउठाएमा तालले बढाएको जोखिमका कारण उत्पन्न हुने विपत्तिले मुगुको सदरमुकामसहित क्षेत्रका करिब २५ हजार स्थानीय प्रभावित हुनसक्ने भय पत्रमा व्यक्त गरिएको छ ।
तालको पूर्वतर्फको भागलाई लेते खोलाले बर्सेनि कटान गर्न थालेकाले पनि राराको जोखिम बढेको कर्णाली विकास आयोगका अध्यक्ष पूर्ण रोकायले बताए । उनका अनुसार खोलाले कटान गरेको भूभागको संरक्षण नहुने र जमिन क्षयीकरण मात्रै हुने गरेकाले जोखिम बढ्दै गएको हो ।
धरातल कमजोर भएको विषयले स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म चर्चा भैसकेको भए पनि हालसम्म भूगर्भविद्ले माटो परीक्षण गर्ने काम नगरेको रोकायले बताए ।
उनका अनुसार लेते खोलाले एकातर्फ तालको पूर्वी भाग कटान गरेको छ भने अर्कोतर्फ नयाँ पानीको मुहान निस्कने क्रम पनि बढ्न थालेकाले संरक्षण अभियान तत्काल थाल्नुपर्छ ।
ताल कमजोर भएको भनिए पनि अहिलेसम्म कुनै पनि संरक्षण अभियान सञ्चालन नभएको स्थानीयवासीको भनाइ छ । बर्सेनि जाने पहिरोले पनि थप जोखिम बढाएको हो । पहिरो नियन्त्रण गर्न कुनै तटबन्ध निर्माण नभएको र तारजाली लगाउने काम पनि सुरु नभएको रारा राष्ट्रिय निकुञ्जमा कार्यरत एक कर्मचारीले बताए ।
जोखिम बढ्यो भनेपछि तत्काल गर्नुपर्ने अनुसन्धान तथा माटो परीक्षणमा सम्बन्धित निकायको वास्ता नहुनुले राराको भविष्यलाई चुनौती दिइरहको पनि ती कर्मचारीले बताए ।
तालको संरक्षण गर्नुपर्छ भनेर लामो समयदेखि आवाज उठाउँदै आएका जुम्लाका सांसद बलबहादुर महतका अनुसार कर्णालीकै पर्यटकीय पहिचान बनेको रारा जोगाउन आवश्यक नीति र बजेटको बन्दोबस्त तत्काल गरिनु आवश्यक छ ।