‘लोकमानलाई महाअभियोग लगाउँदा अख्तियार विचलित हुँदैन’
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लाग्दैमा अख्तियार विचलित नहुने कार्यबाहक प्रमुख आयुक्त दीप बस्नेतले बताएका छन् ।
लोकमानमाथि व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव पेश भएलगत्तै आइतबार अख्तियारका कार्यबाहक प्रमुख बस्नेतले कार्कीविद्धको महाअभियोगले अख्तियार विचलित नहुने बताएका हुन् ।
कार्यबाहक प्रमुख बस्नेतले दिएको निर्देशन उद्धृत अख्तियारका प्रवक्ता गणेशराज कार्कीले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आयोग एउटा जीवन्त संस्था हुँदा निश्चित घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा बिचलन नआउने स्पष्ट पार्नुभयो ।’
विज्ञप्तिमा बस्नेतले आयोगको नेतृत्वविरुद्धको महाअभियोग प्रस्तावले सिंगो परिवारलाई आहात तुल्याएकोसमेत बताएका छन् । कार्यबाहक प्रमुख बस्नेतले निर्धारित आचरण र संवैधानिक तथा कानुनी म्यान्डेटको इमान्दारीपूर्वक पालना गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।
बस्नेतले महाअभियोगको प्रस्तावले संविधान बमोजिम सार्वभौम संसदमा प्रवेश पाइसकेकाले यो विषयको संवैधानिक निकायबाटै निरुपण हुने हुँदा उक्त विषयमा संसदले गरेको निर्णय सबैका लागि शिरोधार्य हुने बताएका छन् ।
कर्मचारीलाई निर्देशन दिदै बस्नेतले भने, ‘आयोगमा कार्यरत प्रत्येक कर्मचारीले आफू संवेदनशील र महत्वपूर्ण निकायमा कार्यरत रहेको तथ्यबोध गर्दै आयोगको मर्यादा, प्रतिष्ठा र छवीलाई उँचो तुल्याउने ढंगबाट कार्यसम्पादनलाई तिब्रता दिनुपर्छ ।’