आखिर कसले चलाएको छ मेरो देश?
हो हजुर म त रात्री बस चलाउँछु- देश होइन।
अन्धकार रातमा करिब १२ घण्टाको यात्रा गर्छु प्रत्येक ट्रिपमा
साँझ पर्नै लाग्दा छोड्छु एउटा शहर र झिसमिसे बिहानमा पुग्छु अर्को शहरमा
तीस वर्ष पुगेछ यसरी गाडी चलाउन थालेको।
मेरो गाडीको टायरमा खराबी आउँछ एकाएक-त्यो पनि मध्यरातमा !
नबिथोली निदाइरहेका यात्रुहरुलाई
फेर्छु नयाँ टायर र गुडाउँछु मेरो गाडी
एउटा बसको ड्राइभर म त
जान्न मन छ मलाई आज
मेरो जस्तै कुनै गन्तव्यमा पुग्नु पर्ने हुन्छ कि हुँदैन देश चलाउनेहरुलाई?
मेरो टायरमा जस्तै खराबी खराबी आउँछ कि आउँदैन देशका संयन्त्रहरुमा?
नसच्यार्इ कुनै खराबी संयन्त्रहरुमा चल्दो हो कि नचल्दो हो देश?
हुँइकिएर एकाएक अर्कै दिशाबाट ट्रक आउँछ कहिले
अघि बढ्छु आफ्नै रफ्तारमा हर्न र लाइटहरुको प्रयोग गर्दै
म त एक निमुखा प्राणी जान्न मन छ मलाई
अर्कै दिशाबाट हुँइकिएर विदेशको आदेश आउँदा
कुन लाइट र हर्नको प्रयोग गर्दा हुन देश चलाउनेहरु
कि एकाएक ब्रेक लगाएर रोकिँदा हुन सदाको लागि!
हो हजुर म त रात्री बस चलाउँछु - देश होइन।
खाडीमा डोजर चलाउँछ मेरो छोरा
उस्को डोजरको स्टेरिङ् समाउन आउँदैन कुनै विदेशी
तर ऊ देख्न चाहान्छ त्यो विदेशी जस्ले उस्को देशको स्टेरिङ् समाइरहेछ ।
एउटा सानो किराना पसल चलाउँछे मेरी बुहारी
उस्को पसलमा सामान लुट्न आउँदैन कुनै विदेशी
तर ऊ देख्न चाहान्छे त्यो विदेशी जस्ले उस्को देशका नदिनाला लुटिरहेछ।
कार्टुन हेर्न दिनभर रिमोट चलाउँछे मेरी सानी नातिनी
उस्को च्यानल चेन्ज गर्न आउँदैन कुनै विदेशी
तर ऊ देख्न चाहान्छे त्यो विदेशी जस्ले उस्को देशको रिमोट चेन्ज गरिरहेछ।
एउटा होटल चलाउँछ मेरो माथ्लो घरको छिमेकी
पैसै नतिरी खाना खाएको रेकर्ड छैन कुनै विदेशीले
तर ऊ देख्न चाहान्छ त्यो विदेशी जस्ले उस्को देशको ढुकुटीमा रजाईँ गरिरहेछ।
एउटा बोर्डिङ स्कुल चलाएको छ मेरो पल्लो घरको छिमेकीले
पाठ्यक्रम फेर्न भनेको छैन आजसम्म कुनै विदेशीले
तर ऊ देख्न चाहन्छ त्यो विदेशी जस्ले उस्को देशको भाषा फेरबदल गर्न भनिरहेछ।
म त झन् बस चलाउँछु – रात्री बस!
मेरो छोराको डोजरमा जस्तै मेरो बसको स्टेरिङ् समाउन पनि कुनै विदेशी आउँदैन
तर म देख्न चाहन्छु त्यो विदेशी जस्ले ‘ब्रेकमा खुट्टा राखेर मेरो देशको स्टेरिङ् समाइरहेछ’ ।