भारत सरकारले एनडीटिभी प्रसारणलाई रोक लगायो
![भारत सरकारले एनडीटिभी प्रसारणलाई रोक लगायो](https://annapurnapost.prixacdn.net/media/albums/NDTV_India-581c789cbaddd4.06394859_UGfl0a9cN9.jpg)
नयाँदिल्लीः भारत सरकारले चर्चित भारतीय टेलिभिजन च्यानल ‘एनडीटिभी इन्डिया’ एक दिनको लागि प्रसारण बन्द गर्ने आदेश दिएको छ ।
एनडीटिभीको हिन्दी च्यानल ‘एनडीटीभी इन्डिया’लाई नोभेम्बर ९ गते २४ घण्टाका लागि प्रसारण बन्द गर्न भारतको सूचना एवम् प्रसारण मन्त्रालयले आदेश दिएको हो ।
पठानकोट हमलाको विषयलाई लिएर यो आदेश दिइएको बताइएको बिबिसी हिन्दीले जनाएको छ । पठानकोट हमला सम्बन्धमा उक्त टेलिभिजनले गरेको कभरेजलाई लिएर एक उच्च स्तरीय समिति बनाइएको थियो । यही समितिले नै उक्त टेलिभिजनलाई एक दिनको लागि बन्द गर्ने सिफारिश गरेको हो ।
समितिले पठानकोट हमलाको कभरेज गर्दा सामरिक रूपमा संवदेनशील सूचना पनि प्रसारण गरेको उल्लेख गरेको छ ।
एनडीटीभीले भने वक्तव्य जारी गर्दै आफ्नो समाचार सन्तुलित भएको दाबी गर्दै सरकारले निशाना बनाउनु उपयुक्त नहुने जनाएको छ । उक्त टिभी च्यानलले पठानकोट हमलाको कभरेज सबै सञ्चारमाध्यमले एकै ढंगले गरेको जिकिर गरेको छ ।
टेलिभिजनले संकटकालको समयमा प्रेस स्वतन्त्रता हनन गरिएजस्तै गरिएको टिप्पणी गरेको छ । एनडिटिभीमाथी गरिएको यो कारवाहीलाई लिएर सामाजिक सञ्जालमा तिव्र आक्रोश व्यक्त गरिएको छ ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा पछिल्लो पटक भएको विद्यार्थी आन्दोलनलाइ कभरेज गरेर फरक धार साबित गरेको एनडिटिभी वर्तमान भारतीय संस्थापनको कटु आलोचक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)