ओ याङ्की गो होम
नाइन इलेभेन राजा
अमेरिका/विश्व
‘नाइन–इलेभेन’ को डेढ दशक
‘ओइ युद्धको मुखिया, सुन्दैछस् ?
...मेरो संसारसँग तँ यस्तरी खेल्छस् मानौं यो तेरो सानो खेलौना होस् (बब डिलन– मास्टर्स अफ वार, १९६३)
फल्टलाइन नाइन–इलेभेन
रक्सी– कहिले ज्यान लेवा त कहिले ज्यान देवा । राति निक्कै बियर तानेछन् । ढिलो उठेछन् । बिहानै साथीसँग ट्विन टावर हेर्न जाने योजना । बियरकै ह्याङ्ले साफसाफ जोगिएका थिएछन् साइकले पुष्कर शाह । ‘पृथ्वीलाई साढे पाँच फन्को’मा शाह लेख्छन् । केही दिनको अमेरिकी यात्रामा रहेका नेपाली शाह । यिनको ज्यान त जोगियो । मरे तीन हजार अमेरिकी । ६ हजार घाइते । ७ डिसेम्बर, सन् १९४१ पर्ल हार्बर आक्रमणपछिको यो दोस्रो ठूलो हमला अमेरिकी इतिहासमै । अमेरिकी व्यापार केन्द्र वल्र्ड ट्रेड सेन्टर लादेन सञ्चालित हवाई हमलापछि ग्राउन्ड जिरोमा ढलेको दिन । सन् २००१ को ११ सेप्टेम्बर । ‘नाइन–इलेभेन’ (९/११) नामले चर्चित तारिख ।
राष्ट्रपति जर्ज बुस टु इस्लामी आतंकीहरूलाई मुसाखेदो गर्ने ‘फतवा’ जारी गर्छन् । तथाकथित इस्लामी आतंकीविरोधी अभियानको न्वारान हुन्छ– ‘इन्फाइनाइट जस्टिस’ । हमलालगत्तै ‘अल्जेब्रा अफ इन्फाइनाइट जस्टिस‘मा अरुन्धती रायले लेखिन्– ‘संसार अहिले सास रोकेर सम्भावित आतंकको पर्खाइमा छ ।’ भयो त्यही । अन्ततः ।
यसपालिको नोभेम्बरले हमलाको डेढ दशक कटेको छ । हमलापछि अमेरिका के त्यही अमेरिका रहेको छ ? के विश्व त्यही विश्व छ ? फेरिएको छ भने कस्तरी ? विश्वकै चासो । त्यो महाक्रमणपछि तातो समयरेखामा हतारहतार बितेको लाग्ने डेढ दशक । शक्तिशाली, चम्किलो र अत्याधुनिक देश । सपनाको देश अमेरिका । यो व्याकुल डेढ दशक डेढ शताब्दी लामो दुःस्वप्नको यात्रा साबित भएको हो अमेरिकालाई ।
खासमा नाइन–इलेभेन कसरी हाबी छ त हामीमाथि ? नाइन–इलेभेन यस कारणले पनि प्रत्येक मुलुकको लागि, प्रत्येक भूगोलको लागि, प्रत्येक मान्छेको लागि अकाट्य मुद्दा हो कि यो त्यही तारिख थियो जसले बहुध्रुविय विश्वलाई दुई ध्रुविय विश्वमा फेर्ने मूर्ख कारण दियो ः एकातिर अमेरिका । अर्कोतिर ‘अ–अमेरिका ।’ कल्चरल स्टडिजको भाषामा ‘अदर्स’ । जो अमेरिकातिर छैन, ऊ दुश्मन– ‘डेमोक्रेसी’को । ‘फ्रिडम’को । ‘सिभिलाइजेसन’को ।
आफूलाई गणतन्त्रको एक्लो ठेकेदार ठान्ने युद्धप्रेमी अमेरिकाको चरित्र उस्तै रहे पनि केही फरक परेकै हो नाइन–इलेभेनको ‘सक एन्ड अ’पछि । नाइन–इलेभेन अब एउटा यस्तो फल्टलाइन साबित भएको छ, जसले अमेरिका र गैर–अमेरिकामाझको विभेदलाई पुस्ता दर पुस्ता सम्झाइरहनेछ । कोक, केएफसी चिकेन, सबवे पिज्जा खान मन नलाग्नै सक्छ ।
तर त्यसको सट्टा देशी खाजा खाने एउटा मामुली निर्णयमा एउटा देश वा मान्छेको लागि कति जोखिम लुकेको हुन सक्छ, त्यसको हिसाब यही फल्टलाइन नाइन–इलेभेनको गहिराइले बताउँछ । फल्टलाइनको गहिराइ वा उचाइको सर्वेक्षणले लेखाजोखा दिन्छ ‘सम्भावित आतंक’को म्याग्निट्युडको ।
थोपिएको आतंक र ‘अर्को’ विश्व
बुद्धले परिवर्तन जीवनको एकमात्र ‘स्थिर’ हो भनेका छन् । जर्मन बर्तोल्त ब्रेख्तले एउटा कवितामा लेखे, ‘हरेक चीज बदलिन्छ आफ्नो हरेक आखिरी साससँगै ।’ हमलाको दुई महिनापछि छापिएको उनको किताब ‘नाइन–इलेभेन’मा अमेरिकी चिन्तक–भाषाविद् नोम चम्स्कीले भने, ‘पहिलोचोटि बन्दुकले दिशा फेरेको छ । जुन आफैंमा नाटकीय परिवर्तन हो ।’
जसरी आगोको आविष्कारपछि, जसरी चक्काको आविष्कारपछि दुनियाँको नापनक्सा फेरिएको थियो, त्यसरी नै दुनियाँले परिवर्तनको नाममा थोपिएको उत्तर ‘नाइन–इलेभेन’ आतंकमिथक भोग्नु परेको छ । नाइन–इलेभेन अमेरिकाको ‘निजी आतंक’ । यो निजी आतंकलाई ‘ग्लोबल टेरर’ बनाइएको होलोकोस्ट थियो यो । कसरी शक्तिशाली मुलुकले आफ्नो आतंक पनि कमजोर मुलुकहरूलाई थोप्छ । थोप्छ र बेच्छ । यो त्यसैको जल्दो उदाहरण पनि हो । ‘वैश्विक आतंकवाद’ ढाल्ने नाममा आफैं वैश्विक आतंकवादी भएको छ अमेरिका ।
आउँदो हप्ता युद्धप्रेमी राष्ट्रप्रमुखको चुनाव हुँदै छ । सधैंझैं यसपालि पनि कुनै राष्ट्रप्रति दाबेदारले युद्धमा नजाने बयान दिएका छैनन् । अमेरिकाका हरेक राष्ट्रपति नै युद्धनेता हुन् । अमेरिका आफैं एउटा मुख्य डिस्कोर्स हो, जसलाई जति नै लत्याए पनि हाम्रो दैनन्दिन र दीर्घ जीवन मामिलामा यो प्रभावी छ ।
नाइन–इलेभेन यता, केही हदसम्म, विश्वको संरचनामै परिवर्तन आएको छ किनभने दोस्रो विश्वयुद्ध (दोवियु) यता भइरहेको लेनदेनका वैश्विक सम्बन्ध र अन्तर्देशीय राजनीतिको आधारभूमिमा भएको टेक्टोनिक सिफ्टिङ नाइन–इलेभेनपछि झन् चर्किएर गयो । धेरै मिथ, बिम्ब, अर्थहरू अंगभंग भए । युद्धको र शान्तिको, शासकको र शासितको, स्वतन्त्रताको र दासत्वको परिभाषामाथि पुनर्दृष्टिको खाँचो उब्जिएको छ ।
अञ्जानमै हामी पसिगएका छौं शब्दले अर्थ र अर्थले शब्द गुमाएको जमानामा । यो जमाना हो – उत्तर ‘नाइन–इलेभेन’ युग । जहाँ अर्थहरू टिकाइएका शब्द ठाउँमा टिकिरहँदैनन् । र जब शब्दहरू अड्याइएका अर्थ काँटीमा अड्की रहँदैनन् ।
‘अर्को’ अर्कै भएको छ । ‘अर्कै’ कुन अर्थमा भने नाइन–इलेभेन अघि र पछिका विश्व धेरै मानेमा एउटै होइनन् । एउटा ‘अर्को’ले अर्को ‘अर्को’लाई हेर्ने दृष्टिकोणमा आएको फरकले गर्दा पनि यस्तो भएको हो ।
शक्तिशालीहरुको निम्ति शक्तिहिन ‘अदर’ वा अर्को हुँदाखेरि शक्तिहिनको लागि शक्तिशाली अर्कोको अर्कोदेखि छुट्टै ‘अर्को’ हुनै सक्छ । यी दुई अर्कोहरू माझको फल्टलाइन अझ केही साल वा केही शताब्दी नपुरिने छाँट छ । ‘अमेरिकाको अभियानले एक हदमा घच्ची खाएको छ भने विश्वबाटै अलगथलग पार्न खोजिएको अरबी मुलुकहरू झनै गोलबद्ध बनेका छन्’, नक्सलबाडी आन्दोलनका प्रारम्भक चारु मजुमदारका राजनैतिक छोरा अभिजित मजुमदार भन्छन् ।
उपनिवेशले कसरी आफ्नो वंश चलाउँछ, त्यसको स्याम्पल हो अमेरिका । उपनिवेशवादले औद्योगिक रगत पाएपछि ऊ बन्छ पुँजीवादी ।
पुष्ट नभएको ‘कन्स्पिरेसी थ्योरी’ले नाइन–इलेभेन घटना अमेरिकी सत्ताकै चाल हो पनि भन्छ । एकताकाका असफल व्यापारी जर्ज बुसले अमेरिकावासी लादेन आफन्तीलाई घटनालगत्तै सीमा कटाएको तथ्य पनि सार्वजनिक छ । लादेनसँग पारिवारिक मैत्री राखेका बुसको राष्ट्रपति हुने कथित चुनावी धाँधली र खाडी युद्ध ‘अपरेसन डिजर्ट स्टर्म’ (सन् १९९०–९१) को बदनामीबाट फोकस हटाउन पनि यो सुसाइड गोल अमेरिकाले गरेको भन्ने अड्कल छ यो थ्योरीकोे । अमेरिकाले आफ्नो ताकत अझ बढाउन नै यो आत्मघाती चाल चलेको एकथरी मान्यता छ ।
युद्धको हिस्टेरियामा अमेरिका
सन् १९६१ मा अमेरिकाले थालेको भियतनामी हमला सात सालसम्म चल्यो जसमा अमेरिकाले चलाएको बदनाम बम हो न्यापाम । रासायनिक हतियार कार्किनोजेनको अति घातक रसायन डाइक्सिन छरेर भियतनामी किसानहरूको खेती र ज्यानमाल नष्ट गरिदिएको थियो । भियतनामले भयभीत अमेरिका झन् थेत्तर भयो ।
त्यसयता आफ्नो उमेरको ९० प्रतिशतभन्दा बढी साल अमेरिका युद्धमा व्यस्त रहेको तथ्य छ । सन् १९३५–४० सम्मको ‘महामन्दी’ (ग्रेट डिप्रेसन)को बेला मात्र अमेरिकासँग युद्धमा जाने आँट थिएन ।
आउँदो हप्ता यही युद्धप्रेमी राष्ट्रप्रमुखको चुनाव हुने हो । सधैंझैं यसपालि पनि कुनै राष्ट्रप्रति दाबेदारले युद्धमा नजाने बयान दिएका छैनन् । अमेरिकाका हरेक राष्ट्रपति नै युद्ध सरदार हुन् ।
उपनिवेशले ब्याएको उपनिवेश
खासमा, विस्तारवाद र साम्राज्यवादमाझ पातलो धर्सा छ । विस्तारवाद मूलतः भौगोलिक क्षेत्रको अनियन्त्रित विस्तार हो । साम्राज्यवाद राजनैतिक र आर्थिक शक्तिको विस्तार । उन्नाइसौं शताब्दीको विस्तारवादी लोभले पराकाष्ठा छोयो पहिलो विश्वयुद्ध (पवियु) मा । सन् १८९८ मा हवाई भू–अधिग्रहण अमेरिकी साम्राज्यवादको पहिलो गतिलो पहल थियो ।
सन् १७६० मा इङल्यान्डमा ह्यान्डलुम कारखानाको स्थापना भयो, संसारमै पहिलो उद्योगको थालनी । इङल्यान्डको विस्तारवाद पहिलो उद्योगजनक मुलुक भएकोले पनि आवश्यक बन्यो । तर, ‘दोवियु’बाट अमेरिका उकासिएर आयो । १८ औं शताब्दीमा उपनिवेशक ब्रिटिस साम्राज्यसँग लडी उपनिवेशित १३ वटा राज्य सन् १७७६ मा (आजको उपनिवेशक) ‘युनाइटेड स्टेट्स अफ अमेरिका’ गठन भएको हो ।
इङ्ल्यान्डले भौगोलिक उपनिवेशमा जोड दियो । अमेरिकाले आर्थिक । उपनिवेशले कसरी आफ्नो वंश चलाउँछ, त्यसको उदाहरण हो अमेरिका । उपनिवेशवादले औद्योगिक रगत पाएपछि ऊ बन्छ पुँजीवादी । अमेरिका इङल्यान्डकै ‘प्रोटोटाइप’ हो । अमेरिका युरोपीय उपनिवेशवादको प्रवृत्तिमा नवउपनिवेशक (नियो–कलोनियल) हो ।
पुँजीवाद र साम्राज्यवादको नङमासु नाता छ । पुँजीवादको अत्याधुनिक मोडल अमेरिका साम्राज्यवादको चरम रूप हो । साम्राज्यवादले पहिले छेड्छ भूगोल, त्यसपछि हान्छ अर्थनीति र त्यसपछि संस्कृति । अमेरिकाले विश्वभरि यस्तै दादागिरी चलाएर आएको हो । पूर्वी गोलाद्र्वमा अमेरिकाको सांस्कृतिक होजिमोनीले पूर्वीय संस्कृति र दर्शनको टाट पल्टेको दृश्य सबैको आँखा सामु छर्लंग छ ।
यसै त विश्व इतिहासले साम्राज्यवादको सुरुआत प्राचीन चीन र पश्चिमी एसियामा भएको बताउँछ । जुन ईशापूर्व छैटौं र चौथो शताब्दीमा मध्यपूर्व र मेडिटेरिनियन मुलुकहरूमा फैलिएको हो ।
अमेरिकी आदिवासी र टेरर वार
आतंकवाद विरोधी युद्ध अमेरिकाले आफ्नो साम्राज्य फैलाउने क्रममा पैदा गरेको दुश्मनीकै नतिजा हो । पहिले भौगोलिक सिमाना अतिक्रमण । पछि सामरिक–आर्थिक–सांस्कृतिक सिमाना । रेड इन्डियनहरूलाई स्वभूमिबाट उच्छेद सिलसिला अरबेली मुलुकहरूको तेल भण्डारमाथि नियन्त्रण र विश्वको हतियार हाटमा अब्बल बिक्रेता हुने होडसम्म पुग्दा अमेरिकाको आँखामा सारा विश्व नै आतंकवादी हुन पुग्छ ।
झट्ट हेर्दा इस्लाम–इसाइर्र विवाद देखिए पनि अमेरिका–अरब (सउदी अरब छाडेर, किनभने सउदी अमेरिकी कठपुतली हो) द्वन्द्व वास्तवमा विश्व वर्चस्वकै द्वन्द्व हो । इस्लामीहरू विश्वमा इस्लाम राजको निराधार र कठमुल्ले सपनामा बौलाएकै हुन् । धर्मको नाममा उनीहरूले चलाइरहेको अन्धो जिहाद कुनै पनि हालतमा मान्य छैन । तर उनीहरू पछिल्ला दुश्मन हुन् ।
खासमा अमेरिकाको ‘वार अन टेररिजम’को इतिहास दुई शताब्दी लामो छ । १ मे, सन् १८१४ । ब्रिटेन उपनिवेशित क्यानडाको निर्देशमा सेन्ट लुई प्रान्तबाट पाँचवटा युद्धपोतमा सवार दुई सय ‘अमेरिकी’ (तत्कालीन घुसपैठी) सिपाहीहरू मिसिसिपीको किनारमा हमला बोल्छन् । उपनिवेश अध्येता एन्ड्रु गार्डनर ‘द इन्डियन वार’मा लेख्छन्, ‘... उनीहरूको लक्ष्य थियो तत्कालीन ‘टेररिस्ट’– आदिवासी अमेरिकीहरू ।’ राष्ट्रपति जर्ज वासिङ्टनले एकचोटि भनेका थिए, ‘ज्यानले अलग भए पनि इन्डियन र फ्याउरा दुवै सिकारी जनावर हुन् ।’
रेड इन्डियनलगायत पाँच सय ६० अमेरिकी आदिवासी प्रजाति सरकारी रेकर्डमा छन् । शोधार्थी डोबिन्स (सन् १९८३) अनुसार कोलम्बस अमेरिका पुग्न अगावै एक करोड ८० लाख आदिवासी उत्तरी अमेरिकामा बस्थे । युरोपियन हमला, आदिवासी मास्ने औपनिवेशिक युद्ध (कथित ‘इन्डियन वार’) र महामारीले जनसंख्या पातलिँदै गयो । आज उनीहरूलाई अमेरिकी मूलधारामा पसेका ‘इमिग्रान्ट्स’ चिनिन्छ । सन् २०१० को सेन्ससअनुसार यी आदिवासीहरू अहिले ५२ लाखमा खुम्चिएका छन् ।
रेड इन्डियनले आफैंलाई खासमा ‘बियोथुकु’ भन्छन् । पन्ध्रौं शताब्दीदेखि युरोपियन र एङ्लो–सेक्सन ‘यांकी’ माइग्रेटरहरूले आदिवासीहरूलाई औपनिवेशिक हत्कण्डा अपनाएर कसरी सीमान्तीकृत तुल्याए, त्यो अमेरिकाको छोपिएको असली इतिहास हो ।
अमेरिकी आदिवासीहरूलाई सन् १९९० तिर राज्यले भाडामा रोडियो एक्टिभ र बिखालु कबाडी आफ्नो ठाउँमा राख्ने प्रस्ताव दिनुबाट अमेरिकी माटोको असली छोराछोरीको हाल के छ, स्पष्ट हुन्छ । सन् १८३० मा ‘इन्डियन रिमुभल एक्ट’ पारित भयो, जसले आदिवासीलाई मिसिसिपीको किनारमा विस्थापित गरायो । बलजफ्ती गरिने जनविस्थापनलाई ‘ट्रायल अफ टियर’ भनियो ।
जुन अमेरिकाको कुरा गरिन्छ, त्यो मात्र बिम्ब हो । खास अमेरिका त जंगलमै छ अझ । अमेरिका त्यसैले यो उत्तर–औपनिवेशिक (पोस्ट–कलोनियल) कालमा जिउँदो रहेको बदमाश उपनिवेशकको सर्वनाम हो ।
छायाँ युद्धहरूमा विश्वयुद्धको छायाँ
विश्वयुद्धको ठाउँ एक प्रकारले अचेल फुचुना युद्धहरूले लिएका छन् । अमेरिकाको लागि ‘प्रक्सी वार’ वा छायाँयुद्ध गर्नु÷गराउनु उसको साम्राज्यवादी बाध्यता पनि हो । जति युद्ध हुन सक्यो उति उसको हतियार बजार जम्ने हो । भएको हो त्यही । दक्षिणी भियतनाममा उत्तरी भियतनामको कम्युनिस्ट सत्ता रोक्ने निहुँमा अमेरिकाले सन् १९५९–१९७५ सम्म लामो युद्ध लडेको थियो । वास्तवमा त्यो अमेरिकाको लागि ठूलै शिक्षा साबित भएको युद्ध थियो । सामरिक दृष्टिले कमजोर देश भियतनामको समर्थनमा रसिया थियो ।
दोवियुको लगत्तै विश्वका दुई महाशक्ति थिए पुँजीवादी अमेरिका र समाजवादी सोभियत संघ । त्यसपछि सुरु भएको शीतयुद्धमा अमेरिकाले विकसित गरेको टेक्निक नै हो– छायाँयुद्ध । बेलाबेला चर्कने गरेको भारत–पाकिस्तान युद्ध पनि यस्तै छायाँयुद्धको खेल हो । छायाँयुद्धहरूले अमेरिकालाई हुने फाइदा हो– हतियार बजार । अर्को, अमेरिकी निर्देशनमा चल्ने ती युद्धहरू नै अमेरिका एक सुपरपावर हो भन्ने प्रतीक बन्ने हो ।
जिदाह विरुद्ध वार
सोभियत संघलाई विश्व मैदानबाट गायब गर्ने चालमा अमेरिकाले अफगानी मरुभूमिमा हतियार र तालिमको सहयोग गरेको हो । त्यही तालिमले हौसिएका ओसामा बिन लादेन बन्छन् आतंकवादीइस्लामी संगठन अल–कायदाका मुखिया । जसले अमेरिका र इजरायलविरुद्ध घोषित युद्ध सुरु गरेका हुन् । त्यही अल कायदाले तालिबान शासित अफगानिस्तानको जंगलमा अमेरिकी आतंकको खेती गर्छ । कथित रूपमा लादेन मारिए पनि अलकायदा जिउँदै छ । कम्युनिज्मको डरलाई साफ गर्ने हुँदा अमेरिकाले हौसाएको हो जिहादको डर ।
घरि ‘क्रुसेड’ त घरि ‘इन्फाइनाइट जस्टिस’ त घरि ‘वार अन टेररिजम’ । जुनै नाममा आए पनि अमेरिका विश्व शान्तिकै विषयमा सबैभन्दा ठूलो खतरा साबित भएको छ । जसरी जिहाद ठूलै खतरा हो । एउटा जिहादको विरोधमा अर्को जिहाद हो अमेरिकी जिहाद । जिहादको नाममा जसरी अन्तर्राष्ट्रिय आतंकवादीहरूले अमानवीय आतंक मच्चाएका छन्, अमेरिका कुनै पनि हालतमा कम छैन । अल–कायदा, लस्तर–ए–तोएबा, आईएसआईएस, आईएसआईएलहरू अमेरिकी दुःस्वप्न हुन् ।
शीतयुद्धपछि सन् १९९० को खाडी युद्धमा अमेरिकाको सोझो भिडन्त थियो इराकसँग । अमेरिकी सन्दर्भ विश्व राजनीतिमा झनै चहकिलो भयो । ३४ देशलाई साथ लगाएर अमेरिकाले कुवेतमाथि हमला गर्ने इराकलाई हमला बोल्यो ।
‘वार’ शब्दको अर्थ युद्ध अब पुरानो भएको दावा गरेको थियो अमेरिकी सरकारले । वार शब्दलाई अब दैनन्दिन जीवनको सामान्य थोकझैं सामान्य अर्थमा लिइनुपर्ने हठ थियो उक्त सरकारी सूचनामा । आतंकवादविरुद्ध जुनै पनि सामरिक अभियान अब वार हो । अर्थात्, विश्वलाई आतंकवादमुक्त गर्ने अभियान भनेर ‘वार’लाई परिभाषित गरिनुपर्ने । तर सोमालिया, येमेन, लिबियाजस्ता गरिब अफ्रिकी राष्ट्रहरूमा धनी अमेरिकाले चलाइरहेको बमबारीले ‘वार’ र ‘टेरर’ शब्दमाझको पातलो धर्सालाई मेटाइदिएको छ । हिंसाको विरोधमा हिंसाको राजनीति गरेर विश्व च्याम्पियन हुने महाŒवाकांक्षी महासपनाको बुटमुनि कति साना मुलुकहरू पिसिने हुन्, चिन्ताको विषय हो ।
टेक्स्ट कि कन्टेक्स्ट
लेखकले जब लेख्छ, उसले कुनै ‘कन्टेक्स्ट’मा लेखेको हुन्छ । कन्टेक्स्ट लेखकको समय, इतिहासबोध र दायित्वबोध हो । कलाकृति ऐतिहासिक सन्दर्भबाटै जन्माइने हो । होमरदेखि देवकोटासम्म यही सत्य लागु छ । त्यो कन्टेक्स्ट वा सन्दर्भबाट लेखकलाई सैद्धान्तिक मातले लट्याउने विवादास्पद ‘पोस्ट मोडर्निज्म’ वा उत्तर–आधुनिक धारणा हो ‘द डेथ अफ अथर’ रोलाँ बार्थ, सन् १९६७ । अर्थात्, लेखकको मृत्यु । यता चिन्तक इन्द्रबहादुर राईले ‘लीला लेखन’मा यिनै बार्थलाई सूत्रधर बनाएका हुन् ।
लेखक के साँच्चै मर्छ त ? पाठको अस्तित्व मुख्य हो । लेखक ‘रेलिभेन्ट’ रहँदैन । लेखकमाथिको जिकिर, चर्चा बेकार नभए पनि पाठलाई पाठकै रुपमा हेर्ने हेराइ हो यो रोलाँ बार्थको । यो सोचले विशेष गरेर लेखकको ‘आइडियोलोजिकल’ लेखन–दर्शनलाई किनारा लगाउँदछ । उत्तर–आधुनिक आँखालाई इतिहास र वर्तमानको विद्रूपहरू नदेख्ने गगल्स साबित भइदियो लेखकमृत्यु सिद्धान्त ।
‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ (सन् १९९२) मा फ्रान्सिस फुकियामाले सोभियत संघको विघटनसँगै अन्त्य भएको शीतयुद्धलाई ‘इतिहासकै अन्त्य’को भ्रान्ति देखे । अत्तालिएर लगभग मानवीय ऐतिहासिक परम्पराको ‘व्यक्तिगत अन्तिम संस्कार’ नै आयोजन गरेर लेखे, ‘मानवीय आदर्शवादी विकासक्रमको अन्तसँगै पश्चिमा उदारवादी गणतन्त्र नै मानव सत्ताको चुडान्त रूपमा सार्विकीकरणको युगको साक्षी छौं ।’
पुँजीको मुक्त चलखेलको खातिर पैदा गरिएको धारणा ‘फ्रि मार्केट’ वा मुक्त बजारलाई अड्याउने सत्तारूप हो फुकियामाको ‘उदारवादी गणतन्त्र’ (लिबरल डेमोक्रेसी) । अन्ततः पुँजीको चरमरूप साम्राज्यवादकै मेरुदण्ड दरो पार्न खटिएका यी बुर्जुवा लेखकहरूले नव–उपनिवेशवादको लागि दार्शनिक बाटो खनिदिएका थिए । उत्तर–आधुनिकता यसैको एक आज्ञाकारी सन्तान थियो । केही ‘र्या–डिकल’ पाटा भएको यो ‘इजम’ आफैंमा साम्राज्यवादी विशृंखलता (क्याओस) कै कला–सांस्कृतिक अभिव्यक्ति हो ।
आदर्शवादलाई प्रतिकार गर्न जन्माइएको प्रति–आदर्शवादी यी दर्शन कन्टेन्टच्युत र कलामुखी छन् । उदारवादी साम्राज्यवादलाई पोषण गर्ने यी (प्रति) आदर्श ‘सब्जेक्ट’ लाई ऐतिहासिकता र भविष्यपनबाट कटाएर क्षणिकतामा मात्र हेर्ने स्न्यापसट हेराइका शैली हुन् । सोझो भाषामा, समकालीन सांस्कृतिक चेतले विषय–गम्भीरताको हत्या गर्छ । चालू बजारमा किताब आउँछ–जान्छ । कविताको किताब नबिक्नुको ठूलो एउटा कारण यही पनि हो । कविता बुझ्न मानसिक कसरत चाहिन्छ, त्यसको लागि सत्ताले मान्छेलाई न श्रमको अवकाश दिन्छ । न संयमको संस्कार ।
पाठकले किताब र लेखक दुवैलाई बिर्सने हतारो गर्छन् । त्यही भएर पनि क्लासिक कालजयी कृतिको कन्सेप्ट बिस्तार बजारबाट हराएको हो । यसको अर्को कारण, सत्ताले सफलतापूर्वक खेलेको लोक–स्मृतिलोप पनि हो । किनभने, स्मृति मान्छेको हतियार हो । त्यही भएर आज शंकर लामिछानेहरू भुल्ने र चेतन भगतहरू खोज्ने ठूलो पाठक जमात छ हामीसित ।
सत्ताले सतही लेखनमार्फत समाजका अन्तर्विरोधहरूलाई कोट्याइरहने, खोतलिरहने र केरिरहने खाँचो नरहेको तालिम लेखक र पाठक दुवैलाई दिन्छ । जहाँ जतैबाट पढे पनि, जसरी बुझे पनि (इन्द्रबहादुरीय भाषामा ‘विपठन’), जता लगे पनि पाठ पाठैमात्र रहिरहने । सारमा, समाजको हरेक गतिविधि पपकर्न कल्चरमा कुण्ठित ।
‘दोवियु’पछि रूसको प्रगतिवादलाई काउन्टर दिन थालिएको ‘फ्युचरिजम’ र ‘फर्मलिज्म’हरूको नयाँ संस्करण ‘रूपवाद’ अघि आउँदै गरेको अवस्था । जहाँ कन्टेन्टलाई साइडमा राखेर फर्मको जयजयकार । रूप भए पुग्यो भन्नेखाले हौवा । कन्टेन्ट घिसापिटा भए पनि प्याकेजिङ खतरा हुनुपर्ने बजारु एप्रोच लेखन, रहनसहन र चिन्तनमा हावी भएको अवस्था ।
यस्तोमा नाइन–इलेभेन के हो ? यसका कारण के के थिए ? यसको ऐतिहासिकता के हो ? यसको प्रतिफल कस्तो होला ? नाइन–इलेभेन–पछि स्थापनामुखी सर्जकहरूले नै यी प्रश्नहरू केलाउन थाले । इतिहासले यसरी फेरि एकचोटि आफ्नै दावा गरेको छ बितेको डेढ दशकमा ।
संवेदनशील डिस्कोर्सहरू टेक्स्टबाट विस्तार आफ्नो मूल केन्द्र कन्टेक्स्टतिर लम्किरहेका छन् । यो एक प्रकारले नाइन–इलेभेनले फेरिदिएको सांस्कृतिक कोण हो । जसले टेक्स्टमुखी आफ्नै सांस्कृतिक सन्तान पोस्ट–मोडर्निजमको स्टियरिङ घुमाएर जसोतसो कन्टेक्स्टतिरै फर्काइदिएको हो । नाइन–इलेभनेले लेखक र उसको समयलाई फेरि एकपल्ट महŒवपूर्ण बनाउने काम गरेको छ । अब लेखक ‘भित्र’ पसेको छ ।
‘पूर्ववाद’ (ओरिएन्टलिजम) का जनक हुन् प्यालेस्टाइनी लेखक एडवर्ड सइद । अमेरिकामा शरणार्थी जीवन बिताएर अमेरिकालाई खुबै नजिकबाट हेर्ने र केर्ने सर्जक । सन् १९९३ मा नै ‘कल्चर एन्ड इम्पेरियलिजम’मा सइदले लेखेका छन्, ‘हामी हाम्रो कामको यस्तो बिन्दुमा छौं, जब हामी हाम्रो अध्ययनमा साम्राज्यहरू र साम्राज्यवादी सन्दर्भलाई बेवास्ता गर्न सक्दैनौं ।’
तेस्रो विश्व र अमेरिका
सुन्दा सुन्दर ‘टेक्नोलोजी ट्रान्सफर’ । व्यवहारमा गरिब देशको एकमात्र सम्पत्ति प्रकृति लुट्ने नीति हो यो । साम्राज्यवाद दोस्रो र तेस्रो विश्वमा यस्तै लोभनीय नीतिहरूको निहुँमा घुस्ने गथ्र्यो । ‘दोवियु’पछि लेखिएको अति लोकप्रिय किताबमध्ये एक हो ‘स्मल इज बिउटिफुल’ (सन् १९७३) । यही किताबमा ‘ग्लोबलाइजेसन’को नाममा ठूला मुलुकले ससाना मुलुकको प्राकृतिक संसाधन उधिन्ने गरेको पोल खोलेका थिए ब्रिटिस अर्थशास्त्री इएफ शुमेकरले ।
सन् १९९१ मा ‘नयाँ अर्थनैतिक नीति’ (एनईपी) र डंकल प्रस्ताव लागू गरेपछि अमेरिकी नव–उपनिवेश भइसकेकै छ भारत । अरू कुनै स्वतन्त्र मुलुकको जल र वायु अड्डामा विदेशी सैन्यको उपस्थिति छैन । भर्खरै हस्ताक्षरित भारत–अमेरिकी सन्धिअन्तर्गत अमेरिकी सैन्य प्रयोगका लागि भारतीय जल र वायु अड्डाहरू भारतले खुल्ला गरिदिने भएको छ । ‘फरेन डाइरेक्ट इन्भेस्टमेन्ट’ (प्रत्यक्ष वैदेशिक लगानी, एफडीआई) भारतले खोलिदिएको अर्को सजिलो दैलो छँदैछ ।
अब पालो छ अरू दक्षिण एसियाली मुलुकहरूको पनि । नेपाल, बंगलादेश, भुटानजस्ता देश यसको अपवाद नहोलान् ? नेपालको छिमेकी एकातिर भारत, अर्कोतिर चीन हुनु भनेको नेपाल राजनैतिक–भौगोलिक दृष्टिमा अति संवेदनशील भूखण्ड हुनु हो । नेपाल–अमेरिकी ‘जेनेरल एग्रिमेन्ट फर टेक्निकल कोअपरेसन’ सन् १९५१ मा हस्ताक्षरित भए यता अमेरिकाले नेपाललाई ५५ मिलियन डलरभन्दा बढी आर्थिक सहयोग गरिसकेको छ ।
‘दोवियु’पछि अमेरिकाले विदेशी सहयोग गरेका देशमध्ये नेपाल पहिलो हो । नेपालको भूगोल र सम्भावित समाजवादी ताकतको उद्भव यसको मुख्य कारण थियो । अमेरिका नेपालमा माओवादी वा देब्रेपन्थी ताकत सत्तामा आएको चाहँदैन ।
२ फेब्रुअरी, सन् २००६ मा पेस गरिएको नेपालको निम्ति तयार ‘कङ्ग्रेसनल रिसर्च सर्भिस (सिआरएस) रिपोर्ट’मा उल्लेख भएअनुसार नेकपा–माओवादीलाई युद्धकालमा ‘अदर टेररिस्ट अर्गनाइजेसन’को सूचीमा हालिएको थियो । माओवादी संघर्ष नेपालको आन्तरिक मामिला हुँदाहुँदै अमेरिकाले माओवादी ताकतसँग भिड्न हातहतियार प्रदान गर्नुको साथै २०० नेपाली पुलिस र शाही सैनिकहरूलाई आतंकवादरोधी विशेष तालिम दिएको थिएछ ।
‘फरेन मिलिटेरी फाइनेन्सिङ’ योजना अन्तर्गत १४ लाख ८८ हजार डलरको सैन्य सहयोग राशि बढाएर ४० लाख डलर नेपालको लागि तय गर्ने प्रस्तावसमेत आएको थियो । माओवादी ‘आतंकी’हरूलाई साफ गर्न अमेरिकाले नेपाललाई सन् २००३ मा ५ सय एम १६ राइफल दुईदेशीय किनबेच सम्झौता अन्तर्गत बेचेको रैछ ।
नेपालमा माओवादी आन्दोलनमाथि नेपालको आफ्नै आन्तरिक अडान हुनुपर्ने हो ।
माओवादी आन्दोलन नथामिएसम्म नेपाल पनि अमेरिकाका लागि डरकै केन्द्र थियो । अमेरिकाले नेपालमा सैन्य छाउनी खोलिसक्थ्यो यदि नेकपा माओवादीको नाता अल–कायदा वा कुनै इस्लामी शक्तिसँग भएको प्रमाणित भएको भए ।
भारतसँग जस्तै नेपालसँग पनि अमेरिकी सैन्याभ्यासको कार्यक्रम त भइरहेकै छन् । भर्खरै भारत–पाक तनावको बेला अमेरिकाले पाकिस्तानमा सैन्याभ्यास गराउनुका अर्थहरू खोतलिँदैछ । यसबाहेक ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’को मातहतमा नेपालमा प्राकृतिक संसाधनहरूको खैखबरी अमेरिकाले लिइरेहेकै छ ।
बंगलादेशमा गत तीन दशकदेखि विश्वविद्यालयहरू अमेरिकी फन्डले चल्दै आएका छन् । अमेरिकी एनजीओहरूको च्याउविस्तार र एलपीजी, कोइलाजस्ता संसाधनको निजीकरणले बंगलादेशलाई बिस्तार अमेरिकी पञ्जामा हुल्दैछ ।
साहित्य, संस्कृति, राजनीति र जीवन–दर्शनको समकालीन चेतना भनेको मोटो तवरमा अ–अमेरिकीकरणको चेतना हो । अ–अमेरिकी मुलुकहरू अमेरिकीकरणको महामारीबाट जोगिने औडाहा पनि यो डिस्कोर्सको वैश्विक निचोडसम्म पुग्ने बाटो हो ।
भोलि र पर्सिको सम्भावित ठूलो बजार हो तेस्रो विश्व । जहाँ ब्रेड र बन्दुक एक साथ बेचिनेछ । जहाँ शान्तिको नाटक र युद्धको यथार्थ एकसाथ हिँड्नेछ । ‘लगानी बोर्ड ऐन’ मार्फत् विश्व पूँजीलाई बिना कुनै छेकबार दैलो खोलिदिएको नेपाली अर्थतन्त्र पनि विश्व बजारकै एक पसल बन्नेछ ।
अ–अमेरिकीकरणको दिशा
अमेरिकाको ताजा युद्धको नाम हो ‘अपरेसन ओडिस्सी लाइटनिङ ।’ ‘इस्लामिक स्टेट इन इराक एन्ड सिरिया’ (आईएसआईएस)को गतिविधिको शंकामा अमेरिकाले लिबियामा चलाइरहेको लडाइँ भर्खरै १ अगस्ट सन् २०१६ देखि सुरु भएको छ ।
६० भन्दा बढी मुलुकलाई आतंकवादीको सेल्टर क्याम्प देख्ने र एक सय ५० भन्दा बढी देशमा सामरिक छाउनी हाल्ने काफरे अमेरिकाले ‘दोवियु’ यता मानव र प्राकृतिक सम्पदाको जति नोक्सानी गरको छ, त्यति इतिहासमै कुनै देशले गरेको नहोला ।
पृथिवीकै सबैभन्दा खतरनाक देशको रूपमा अमेरिकाले आफूलाई स्थापित गरिसकेको छ । विश्व अघि बढ्न वैज्ञानिक सोचको पोषण आवश्यक छ । तर, अति आधुनिक मानिने अमेरिकाको सोच नै यति संकुचित छ जसले मानव सभ्यताको विकासक्रमको घडीको सुइँ नै उल्टो पारिदिने शंका गर्ने स्पेस रहेको छ ।
देशैपिच्छे ‘सामरिक उपस्थिति’को नाममा अघोषित युद्ध झोसिरहेको अमेरिकाको आतंकवाद विरोधी वारमा विरामचिह्न कहिले र कहाँ लाग्ने हो, त्यो भन्न मुस्किल छ । यति चाहिँ भन्न सकिन्छ, उत्पादन, रोजगार, शिक्षाजस्ता बुनियादी क्षेत्रमा चरम संकट भोगिरहेको अमेरिकाले आफ्नो लागि ठूलै विनाश निम्त्याउँदैछ । अमेरिकी विनाशको ‘कोल्ल्याटरल ड्यामेज’ले कति देशलाई हल्लाउने हो, त्यो जोखाना हेर्न उस्तो गाह्रो छैन ।
अमेरिकी प्रेसिडेन्सियल चुनावको दाउपेच संसारभरिको मिडियामा हेडलाइन हुनुबाट पनि स्पष्ट छ, अमेरिका आफैं एउटा मुख्य डिस्कोर्स हो, जसलाई जति नै लत्याए पनि हाम्रो दैनन्दिन र दीर्घ जीवन मामिलामा यो अति प्रभावी छ ।
दोस्रो विश्वको भारतजस्तो मुलुक र तेस्रो विश्वको नेपालजस्तो मुलुकमा अमेरिका अप्रत्यक्ष पसिसकेको छ । प्रत्यक्ष नपस्ने कुनै दरो कारण दरिँदैन । ल्याटिन अमेरिकी गीतमा चलाइने लोकप्रिय नारा ‘ओ यांकी गो होम’ यता पनि चलाउनुपर्ने दिन आउला कि ! एकचोटि नेपालको जनगीतले यो पंक्ति गाएकै हो ।
अन्तर्राष्ट्रिय सम्बन्धको दाउपेचमा अब तेस्रो विश्वका राष्ट्रहरू झनै सतर्क बन्ने दिन छ ।