सिनेमादेखि सगरमाथासम्म

सिनेमादेखि सगरमाथासम्म

अल्मेडा सहरमा निशा अधिकारीलाई भेटेपछि लाग्यो उनी नायिकाभन्दा पर्वतारोही बढी भइछन् । अमेरिकामा पाइला हालेदेखि नै निशा सिनेमाभन्दा बढी हिमालकै पेरिफेरिमा बढी गफिरहेकी छन् । कार्यक्रम, साथीभाइ जताततै कुरा उही कुरा ।

यी बोल्ड नायिकाले दुईहप्ते अमेरिका यात्रामा सगरमाथाको कहानी सुनाएरै बिताइन् । तथापि मलाई भने नायिकासँग सिनेमाबाटै संवाद थालनी गर्ने मन भयो ।
सन् २००५ मा मिस इन्टरनेसनल नेपालको ताज चुम्दै रंगीन दुनियाँमा हामफालेकी निशा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘काउन–डाउन’, ‘सम मोर’जस्ता कार्यक्रममा जमिन् । लगत्तै सोही टीभीको अर्को सो ‘घरभेटी बा’मा देखिन थालिन् । विस्तारै पाकिस्तानी सिरियलमा समेत अभिनय गरिन् ।

सिमोस सुनारको फिल्म ‘मिसन पैसा’बाट निशा अधिकारी पहिलोपल्ट नेपाली रजतपटमा आइन् । समीक्षकहरूले उनलाई ‘उदाउँदै गरेको कुशल नायिका’ भनिदिए ।

सिनेमामा निशा जोखिम मोलेरै आइन् । सिनेमा निशाको रोजाइ थिएन, झन् परिवारबाट अनुमति थिएन ।

निशालाई लाग्छ, यो सबै भाग्यको चलखेल हो । तर, फिल्मका उनको आरम्भिक दिनको कहानी बिछट्टैको छ । भन्छिन्– ‘घरबाट फिल्ममा अभिनय गर्न छुट थिएन । अभिनय नगरेसम्म मन शान्त हुँदैनथ्यो ।’

सिनेमाकै निम्ति उनले टीभीको जागिर छोडिन् । आफू जागिरविहीन भएको खबर घरमा दिइनन् । बरु अफिस जाने बहानामा ‘मिसन पैसा’को सुटिङतिर हिँडिन् ।
निशाले घरमा लुकाएको ‘खबर’ पत्रिकाले घरैमा पुर्‍याइदिए । भनिन्– ‘धेरै सम्झाएपछि मात्रै अभिभावक राजी हुनुभो, अहिलेसम्म फिल्मकै वरिपरि छु । घरको कुरा मानेको भए म कि त अमेरिकाको कुनै कलेजमा पढिरहेकी हुन्थेँ कि त ट्युसन फि जम्मा गर्न अमेरिकाकै कुनै स्टोरमा काम गरिरहेको ।’
‘मिसन पैसा’देखि ‘जय पर्शुराम’सम्म आइपुग्न निशाले झन्डै १३ चलचित्रमा अभिनय गरिन् ।

सगरमाथा र माउन्ट किलिमञ्जारोको चढिसकेकी नायिका निशा अधिकारी विश्वका अरू पाँच शिखर चढ्ने योजनामा छिन् । हरेक मान्छेको जीवनमा आफ्नै सगरमाथा हुन्छ नै र कहिलेकाहीँ त्यो एकपछि अर्को बनेर थपिन पनि सक्छ ।

‘सुनगाभा’ उनको निम्ति विशेष चलचित्र हो । भन्छिन्– ‘मेरो अभिनयको एउटा तृष्णालाई सुनगाभाले मेटाइदियो ।’
निशालाई अलि फरक र गहिरो चरित्रमा अभिनय गर्ने चाह छ ।
...
सर्वोच्च शिखर सगरमाथा चुमिसकेकी निशा सिनेमा नगरीमा आफ्नै रेटिङबारे कन्फ्युज्ड छिन् । भनिन्, ‘क्याम्प टु भन्दा माथि पनि हुन सक्छ तल पनि ।’ यसको नापतौल गर्ने जिम्मा दर्शकको रे ।

निशाको हरेक गेटअप सामाजिक सञ्जालको स्टाटस बन्छन् भने पत्रपत्रिकाका निम्ति गसिप । तर, गसिपपमा आएका कतिपय कुरादेखि निशा बेखबर छिन् । उनको अनुसार, उनीमाथि आएका पाँच प्रतिशत गसिपमात्रै सत्य हुन् । भन्छिन्, ‘सुरुका दिनमा नभएका समाचार बाहिर आउँदा अप्ठेरो लाग्थ्यो । आजकल बानी भइसकेको छ ।’

नेपाली फिल्मलाई धेरैले ‘पुरानै ढर्रा’को पुनरावृत्ति हो भनिरहेका बेला निशा त्यो स्वीकार्न तयार छैनन् । भन्छिन्– ‘बल्ल चलचित्र निर्माणको शैलीमा परिवर्तन हुँदैछ । पछिल्लो समयमा सबैभन्दा सकारात्मक विकास नै फिल्ममा भएको छ ।’

फिल्मका विकृतिबारे पनि भनिहालिन्, ‘सिनेमा निर्माण नबुझी लहडमा आउनेको संख्या बढ्दो छ ।’

 

 

उनको विचारमा फिल्म बनाएर मात्र हुन्न, त्यसको लागत उठाउन हलहरू पनि स्तरीय हुनुपर्छ । राम्रा हलहरू काठमाडौंमा मात्र भेटिन्छन् । ‘काठमाडौंबाहिर स्तरीय फिल्म हल छँदै छैनन् । हलमात्रै भएर हुन्न । प्राविधिक पक्ष पनि राम्रो हुनुपर्‍यो, कतिपय ठाउँमा नेपाली दर्शकले चाहेर पनि सिनेमा हेर्न पाएका छैनन्,’ उनले भनिन् ।

निशा नेपाली सिनेमाको कमजोरी ‘कथा’ नै हो भन्छिन् । ‘हामीले हाम्रै देश घुम्ने हो भने थुप्रै कथा भेट्छौं । तर, पनि हामी कथामै चुक्छौं,’ उनले भनिन्, ‘फ्रान्सबाट एरिक भाली आएर डोल्पाको कथा फिल्ममा उतारे । त्यसले नेपालको प्रचार त गर्‍यो । तर, नेपालका थुप्रै कथा हामीले देखेकै छैनौं । अध्ययन गर्ने हो भने द्वन्द्वकालकै कतिपय कुरा आउन बाँकी छन् ।’

निशाकाने योजना छ– संसारकै धेरै हिमाल भएको देशमा हिमालमाथि नै साहसिक चलचित्र निर्माण गर्ने । तर, त्यसको निम्ति उनी अझै तयार भइसकेकी छैनन् । ‘विदेशीहरू आएर हाम्रो हिमालमाथि धमाधम सिनेमा खिचिरहेका छन् । हामी आफैंले अझै चासो दिइरहेका छैनौं,’ उनले भनिन् ।
...

फिल्म वार्तापछि फेरि ‘सगरमाथा’तिर । उनको सगरमाथा आरोहणको सपना १६ वर्ष छँदैको हो । उमेरले उकालो चढ्दैमा बाल्यकालको सपना बिर्सनैपर्छ भन्ने छैन । उनले बिर्सिनन् । हरेक नयाँ वर्षको नयाँ योजना डायरीको पहिलो पन्नामा उनी ‘सगरमाथा आरोहण’ लेख्थिन् । भन्छिन्– ‘डायरीमा कोरेको दस वर्षपछि मात्र मेरो सपना पूरा भयो ।’ उनको लागि यो जीवनकै अविस्मरणीय क्षण हो ।

निशाकै शब्दमा, सगरमाथा आरोहण अरूले कहानी सुनाए जस्तो सहज छँदै छैन । समुद्रको गहिराइ नाप्न समुद्रमै हाम फाल्नुपर्छ । सगरमाथा आरोहणअघि निशा आधारभूत पर्वतारोहण प्रशिक्षणको लागि मनाङ ट्रेनिङमा सहभागी भइन् । त्यसले आरोहणको प्राविधिक पक्षबारे बुझायो । तर, टेनिङको निम्ति कडा परि श्रम गर्नुपथ्र्यो । त्यही अनुभवले सगरमाथाको शिखर चुम्छु भन्ने अभिलाषा पलायो ।

ठ्याक्कै भनेजस्तै संयोगवश नायिका निशा अधिकारीले ‘सगरमाथा’ प्राप्त गरिन् । आरोहण क्रममा निशाले झन्डै दुई महिना सगरमाथामै बिताइन् ।

आधारशिविरबाट यात्राको आरम्भ भयो । धार्मिक परम्पराअनुसार सगरमाथालाई आरोहण अनुमतिको निम्ति साङ सेर्किमको पूजाआजापछि उनी दोस्रो शिविरतिर लागिन् ।

आरोहण अन्तिम चरणको थिए त्यसको केही दिनमात्रै निशा ‘मिन्स’ भइन् । त्यो अवस्थामा महिलामा शिथिलता आउँछ । जिन्दगीको एउटा महŒवपूर्ण मोडमा शारीरिक रूपमा कमजोर भएर पनि निशाले हारिनन् । निशाको साहसिक यात्रा रोकिएन ।

एकातिर उनी सपनाको उकालो लाग्दैथिइन्, अर्कोतिर शरीर त्यस्तो अवस्थामा थियो । शेर्पाहरू सगरमाथालाई आकाशकी देवी मानेर पूजा गर्छन् । ‘त्यस दिन आकाशकी देवी मेरै अगाडि थिइन् । तर उनले मलाई अपवित्र मानिनन्’, यसोभन्दा निशाका आँखा समुद्रजस्तै शान्त देखिए । भन्छिन्, ‘हतारमा कहिल्यै सगरमाथा चढ्नुहुन्न । सगरमाथा आरोहण गर्नुअघि प्रकृतिलाई सुन । प्रकृतिसँग खेलवाड गर्ने काम नगर ।’
...
दोस्रो र तेस्रो शिविर पार गर्दै शिखर चुम्नको निम्ति अन्तिम समय बाँकी छँदा निशाका सहयोगी शेर्पा जाङ्वु ढिला आए । माथि उक्लँदै जाँदा कहिलेकाहीँ शेर्पा दाइभन्दा उनको गति छिटो हुन्थ्यो । आरोहणक्रममा उनले लिएको अक्सिजनमा प्राविधिक गडबडी भइरहेको थियो । पछि सबै ठीक भयो ।

सहयोगीलाई कुर्दै गर्दा शिखर छुनै लागेको समयमा सूर्योदय भयो । यतिखेर हिउँमा घामको प्रतिबिम्ब फैलियो । नायिकाको पनि मुहार उज्यालो भयो । भनिन्, ‘त्यस्तो अद्भुत सूर्योदय मैले कहिल्यै देखेको थिइनँ । हामी माथि थियौं । सूर्य उदाइरहेको थियो । माथिबाट हेर्दा लालीमय हिमालहरू हामीतिरै हेरेर मुस्कुराएजस्तै लाग्यो ।’

शिखरहरूको दृश्यले घेरेको हिउँको रंगशालालाई निशाले विपनाको स्वर्गसँग जोडिन् ।

शिखरको नोस्टायलिजाभित्र पर्वतारोही नायिका डुब्दै जाँदा उनको मुहारमा एक असीम आनन्दको रङ छाइरहेको थियो । शिखर टेक्नै लाग्दा फरफराइरहेका ध्वजाहरू देखिन थाल्छन । शिखरमा भने नेपालकै झन्डा फर्फराइरहेको थियो ।

भूगोलको सबैभन्दा अग्लो ठाउँमा देशको झन्डा फर्फराउँदा उनी त्यसै रोमाञ्चित बनिन् । भन्छिन, ‘त्यो उत्साहलाई शब्दमा वर्णन गर्नै सक्दिनँ ।’

निशाले झन्डै २५ मिनेट सगरमाथाको शिखरमा बिताइन् । अरू सबै हिमालहरू तल देखिन्थे । माथितिर नियाल्दा आकाशमात्र देखिन्थ्यो ।

उनले परिवार सम्झिन् र सगरमाथा देवीलाई ढोगिन् । शिखरमा पुग्दा उनको आँखामा हर्षको आँसु पनि झरेन । तर, सगरमाथाको यही कहानी सुनाउँदा भने निशामा कहीँ कतै स्तव्धता छाइरहन्छ ।

सगरमाथाबाट ओर्लनु मुस्किल भयो । अलि तल पुगेपछि गलित उनी घसिँदै आइन् । तेस्रो शिविर पुग्दा त उनको पाइलै अघि सरेनन् । लाग्थ्यो, मृत्युले नजिकबाट चिहाइरहेको हो कि । कतिपय ठाउँमा शेर्पा दाइले डोर्‍याउँथे । कतिपय ठाउँमा चिप्लेटी खेल्दै झरिन् ।

सगरमाथाको साहसिक यात्रापश्चात काठमाडौं फर्कंदा सहरमा जताततै निशाको चर्चा थियो, नायिकाको ट्यागले पनि हुनसक्छ, अरू पर्वतारोहीभन्दा उनको चर्चा बढी भयो ।

काठमाडौं फर्केको एक वर्षसम्म पनि उचाइको असन्तुलन र थकानले उनलाई झन्डै डिप्रेसनमा पुर्‍यायो । केही समयपश्चात् उनी दिमागलाई एकत्रित बनाउन विपश्यना गइन् । त्यसले निशा–दैनिकीलाई सामान्य बनायो । भन्छिन्– ‘मेरो जीवनमा एम अक्षरको ठूलो महत्व छ –मिडिया, मुभी, मेडिटेसन, माउन्टेन ।

आरोहणपश्चात् नायिका निशाको जिन्दगीको रङ बदलिएको छ । उनलाई लाग्छ– जीवन भनेको दिनलाई रहेछ । त्यो उचाइमा अरूको मृत्युलाई नजिकबाट नियालेपछि मलाई त्यस्तै अनुभूति भइरहेको छ ।

निशाको अर्को योजना सातै महादेशका अग्ला शिखर चुम्नु हो । त्यसमध्ये उनले सगरमाथा र अफ्रिकाको माउन्ट किलिमञ्जारोको सफल आरोहण गरिसकेकी छिन् । अरू पाँच शिखर कसरी चढ्छिन् ? प्रतीक्षा छ । हरेक मान्छेको जीवनमा आफ्नै सगरमाथा हुन्छ नै र कहिलेकाहीँ त्यो एकपछि अर्को बनेर थपिन पनि सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.