जयपुर जोय

जयपुर जोय

५ अक्टोबर २०१६ ।
समय दिनको १ः३४ बजे ।
आइपुग्छ अजित कौरको इमेल । उत्साहित भएर हेर्छु ।
तर निराशा हात लाग्छ । खबर छ – विशेष कारणबस सार्क सुफी फेस्टिबल २०१६ स्थगित । टिकट क्यान्सल गर्नु ।
दिनभर अँध्यारिन्छ मन ।
साँझ ७ः२३ मा टप्किन्छ अर्को इमेल ।
गुड न्युज कार्यक्रम हुने भयो ।

धत् ! अनौठो मनस्थिति र छटपटी । दोधारको कारण रहेछ चर्किंदै गरेको भारत पाकिस्तान विवाद । अनेकन् कसरतपश्चात् बल्ल स्वीकृति पाएछन् ‘सुफी फेस्टिबल’का लागि । अन्ततः सुरु हुन्छ हाम्रो तयारी भारत प्रस्थानको । हिँड्नुपर्ने छ १३ अक्टोबरका दिन । (आदरणीय गुरु अभि सुवेदीलगायत केही साथीहरूले टिकट क्यान्सल गरिसक्नु भएछ । अपूरो लाग्दैछ नेपाली टोली ।) सञ्जीव उप्रेती, अर्चना थापा, उमा सुवेदीसँगै सुरु हुन्छ यात्रा ।

डिग्गी प्यालेस

१४ अक्टोबरको बिहान । भरिभराउ भएको छ डिग्गी प्यालेस होटेलको ‘दरबार हल’ । भव्य तयारी छ सुफी फेस्टिबल २०१६ को ओपनिङको । उपस्थित भइसकेका छन् राजनैतिक, प्रशासनिक व्यक्तिहरूदेखि सार्क डेलिगेट्सहरू । शान्त हलमा एकाएक तरंग प्रवाहित हुन्छ । मौन समयको पर्दा चिर्दै भारतीय साहित्यकार अजित कौरको स्वागत मन्तव्य सुरु हुन्छ । उनी भन्छिन् – ‘सुफिज्म त्यो उच्चतम मानसिक अवस्था हो जहाँ प्रेम र शान्तिको मधुर संगीत गुञ्जिन्छ । जहाँ हुन्छ त केवल प्रेम ।’

मनलाई आनायासै छोइजान्छ थर्थराउँदै निस्केको उनको सुन्दर वाणीले । सोध्छु आफैंलाई, ‘मेरो यो यात्रा प्रेम बाँड्नकै लागि हैन त ? ’
उत्तर आउँछ मनबाटै – हो, पक्का ।

केही पटक त बेवास्ता पनि गरेकी हुँ निम्तो इमेल । ‘सक्दिनँ आउन’ पनि लेखेकी हुँ । तर जसै प्रेम भरिएका शब्दहरू आइरहन्छन् कसरी सक्नु र हुन्छ नभनी ! लाग्छ, त्यो निम्तो अजित कौरको मात्र थिएन । बोलाहट यो प्रेमिल पिङ सिटीको पनि थिएछ ।

अब सुरुवात भइसकेको छ – ‘सुफी सम्मेलन’ । सुन्नु छ विद्वानहरूका कुरा । अर्को झड्का लाग्छ फेरि जब डा. सोनाल मानसिंहको शब्दहरू गुञ्जिन्छ हलभरि । सुफी र प्रेम जोडिनासाथ का कुरामा नछुट्ने एउटा नाम छ,– मीरा बाई जो राजस्थानकै थिइन् । उनले कृष्णप्रतिको समर्पणका गीत गाएरै बिताइन् एकबारको जुनी ।
‘प्रेमको प्याला आफू पिउँछु र पिलाउँछु संसारलाई पनि ।’

यही गाएकी थिइन् रे अन्तिम गीत । प्रेम नै त हो एकअर्कालाई पिलाउनुपर्ने, बाँड्नुपर्ने । विडम्बना मानिसहरू प्रेम लुकाउँछन् र विष बाँड्छन् । डा. सोनाल मानसिंहले आफ्नो बोल्ड एन्ड ब्युटिफुल भाषणमा प्रसंग ल्याएकी छन् मीराको ।

समय कति छिट्टै बगिसक्छ । यति मीठो माहोल छ । तर अब त फर्किनु छ सहर । मन फुकाएर घुम्नै पुगेन । तल तल झर्दै गर्दा साँझ बत्तीको उज्यालोमा अझ बढी सुन्दर रहस्यमयी देखिँदैछ आमेर फोर्ट ।

डा. मानसिंह भारतीय शास्त्रीय नृत्यको एक उचाइ, परिचित छिन् जो एक कल्चरल आइकनको रूपमा । उनका यी प्रेमिल भावले म तरंगीत भएकी छु । प्रेम नै त त्यो ओखती रहेछ जसले जीवनका अनेकन वेदना र पीडाबाट छुट्कारा दिन्छ । तर खाँचो त छ फेरि पनि यही प्रेमकै । खाली खाली छ दिल आजकल ।

समर्पण – आफैंभित्रको ईश्वरप्रति । खोजी– प्रेम, सद्भाव र मानवताको । यही रहेछ सुफिज्मको चुरो । जारी छ ओपनिङ सेरिमोनी । तर मनको एक कुना रित्तो लाग्दैछ । सार्कका सबै देशका डेलिगेट्स उपस्थित छन् सिवाय पाकिस्तानी । उफ् ! यो द्वन्द्व । यो कहिल्यै नसुल्झिने विवाद ।

सधैंको तगारो । यी छिमेकीबीच सधैं एकतमासे तिक्ता । राजस्थान सरकारका मन्त्रीदेखि उच्च पदस्थ ब्युरियोक्र्याट्स सामेल छन् । सबैको भाषणमा एउटै दुःखेसो छ पाकिस्तानको अनुपस्थिति । तर सुन्दर पक्ष, यो छ कि मात्र राजनैतिक भाषण गर्दै छैनन् । जोड्छन् सुफिज्मलाई । गर्छन् प्रेम र सद्भावकै कुरा । पिंक सिटी प्रेमिल भइजान्छ ।

तीनदिने स्केज्युल निकै टाइट छ । दिनभरि सुफिज्म र पोयट्रीका सेसनहरू । सुन्नुछ सार्कका विद्वानहरूका अनेकन् कार्यपत्रहरू । उद्घाटन लगत्तैको सेसनमा छ गुरु सञ्जीव उप्रेतीको पेपर – ‘सुफिज्म एन अल्टरनेटिभ मास्कुलिनिटी’ । गुरुदेवको अजीव तर इन्ट्रेस्टिङ छ पेपर । गजबसँग जोडिदिनुहुन्छ सुफीको प्रेम समर्पण भावलाई मास्कुलिनिटीसँग । त्यसपछि अर्चना थापाको कविता । स्वअस्तित्व र प्रेम नै छ केन्द्रमा ।

सीताकान्त महापात्र जस्ता अकादमी अवार्ड पाइसक्नुभएका साहित्यकारको कुरा सुन्ना पाउनु निकै ठूलो कुरा हो हाम्रा लागि । यस्ता धेरै प्रसिद्ध व्यक्तिहरूको उपस्थिति छ यहाँ । डेलिगेट्समध्येका एक छन् गेरुवस्त्रधारी बौद्ध भिक्षु । आँखा जान्छ सबैकै उनीतिर । आफ्नो पेपरको सुरुमै भन्छन्- ‘जसरी रगत बिना बाँच्न सकिन्न त्यसरी नै प्रेम अभावमा पनि सम्भव छैन जीवन ।’

सुन्दर र दार्शनिक चिन्तन भेट्छु उनको भनाइमा । थाहा लाग्छ उनी श्रीलंकन । नाम धम्पाला राहुला । उनले सुफी र आस्थालाई जोडेर प्रस्तुत गरेका छन् आफ्नो पेपर । विश्लेषण आ–आफ्नो । तर केन्द्रमा छ प्रेम, समर्पण, सद्भाव । राहुलाले जस्तै धेरैको आँखालाई तानिरहेझंै लाग्छ नजिकै बस्नुभएका धर्म गुरुजस्तै देखिने अनेकन मालाधारी फिकसन डिजाइनर कुमार नगरकोटीले ।

जेन्टलम्यान्ली लुक्समा मुस्कुराउँदैछन् कवि केशव सिग्देल अनि निर्मलकुमार थापा । उमा सुवेदीको क्युरियस लुक अनि विनीत ठाकुरको इनोसेन्स सबै सुन्दर छन् । मिस्टर उप्रेती र म्याडम थापाको शालीनता मीठो छ । हामी छौं आठ नेपाली डेलिगेट्स ।
दिनभरको कविता र पेपरको कार्यक्रम । थकाइ त छ नै । तर फरक अनुभवले पुलकित छ मन । प्रसिद्ध सुफी गायिका विद्या शाहको बेजोड प्रस्तुति पछि त गायब भइजान्छ सारा थकान ।

किस्सा आमेर फोर्ट

जयपुर घुमिसकेकाहरूको मुखैमा झुन्डिएको हुन्छ एउटा नाम– आमेर फोर्ट । हेर्न बहुत मन छ । तर कार्यक्रमको टाइट स्केज्युल । उफ ! क्या अजिब लाग्छन् यी समयसीमाहरू । सकिन्छ र यस्ता पाबन्धीहरूमा बाँधिन ? त्यही पनि सुफीमय जयपुरमा ?

दोस्रो दिन १५ तारिखको आधा कार्यक्रम भ्याएर म पनि साथ लाग्छु दुई यायावर मिस्टर नगरकोटी र मिस्टर थापासँग । आखिर तीन प्राणीको कुरो मिलेपछि के लाग्दो छ र आयोजकको नजर । बंक गर्नुको मजा बेग्लै जो छ ।

पुग्नु छ जयपुर सिटीबाट ११ किलोमिटरको दुरीमा रहेको आमेर फोर्ट कम प्यालेस । तर उही बाटोमा पर्ने जल महलले आँखा तानिदिन्छ । हाम्रो रानीपोखरीको झल्को दिने जलमहल । मानसागर तालको बीचमा छ । मात्र टाढैबाट दर्शन हुँदैछ तर देखिँदैछ एकदमै सुन्दर ।

त्यो आर्किटेक्ट को थियो होला जसले आफैंलाई पोखेर बनायो यति सुन्दर संरचना ? प्रश्नहरू उठ्दैछन् अनेक । देखिएको त माथिल्लो एक तलामात्रै हो रे । पानीमुनि छ रे चार तला त । क्या गजब । ! त्यति समय अघि यस्तो संरचना । साँच्चै गजब मुगल डिजाइनमा पानीमा तैरिरहेको महल । अटोको गति बढेसँगै ओझेल पर्छ अब यो स्वप्नील महल । यात्रा अगाडि बढेको छ आमेर फोर्टतिर । हामी तीन अब गुपचुप छौं । सायद आमेरभेटको उत्सुकताले ल्याइदिएको मौनता ।

आमेर टाउनमा अवस्थित आमेर फोर्ट जो ‘आमेर प्यालेस’को नामले पनि प्रसिद्ध छ । पहाडको टाकुरामा मुस्कुराइरहेको विशाल संरचना । माथि दरबार, अनि त्यसको फेदमा मावठा सागर नामक विशाल ताल जसबाट दरबारको लागि पानी आपूर्ति हुने गथ्र्यो रे । राजा मान सिंहले राज गरेको आमेर र उनैले भोगचलन गरेको यो दरबार । आज लाखौं पर्यटकको आकर्षणको केन्द्र बनेको छ । मुगल शैलीमा निर्मित भव्य दरबार फोर्टको वर्णन सम्भव छैनन् यी शब्दहरूमा । मात्र मेरो आँखामा टाँसिन्छ तस्बिर । अवाक् भइदिन्छु यो भव्यताको अघि ।

हेर्नुपर्ने यति धेरै चीज छन् कि यो भगौटे दुई/ तीन घन्टाको समय कहाँ पुग्नु र ! ३५ डिग्री तापक्रममा निथ्रुक्क भिजेको छ ज्यान पसिनाले तर उत्सुकता उत्तिकै छ कायम केही हेर्ने देख्ने । यही फोर्टकै दक्षिणी भागमा रहेको ग्यालरी आर्टचिल कहाँ छुटाउन सकिन्छ त । हिजै त हो सुनेको मीठो कला विश्लेषण यस ग्यालरीका डिरेक्टर संगीता जुनेजाको । उनले आर्टिस्ट अर्पणा कौरको पुस्तक विमोचनमा गजब बोलेकी थिइन् ।

उनैले गरिन् स्वागत र मीठो खातिरदारी । इन्टरन्यासनल डेलिगेट्सको रूपमा पनि हामी प्रिभिलेजमै पर्यौं । समकालीन आर्टको सुन्दर संग्रहालय रहेछ यो ग्यालरी । त्यसमा पनि अर्पणा कौरको एउटा छुट्टै सेक्सन । आखिर हकदार पनि हुन् उनी वास्तवमा ।

उनका चित्रहरू विश्वका धेरै ठूला संग्रहालयहरूमा संग्रृहीत छन् । जयपुर हिँड्नु अघि चुपचाप निह्यालेका थिए उनका चित्रहरू एकेडेमी अब फाइन आर्टको ग्यालरी दिल्लीमा । थाहा पाएकी थिएँ उनको चित्रको शक्ति । आज यो ग्यालरीको एक भागमा सजिनुले पनि त्यो प्रमाणित गरेकै छ ।

कम बोल्ने मिस्टर नगरकोटीको अनायासै वाक्य फुट्छ – ‘हाम्रो देशमा पनि संगीता नामकै एक प्रसिद्ध आर्ट क्युरेटर हुनुहुन्छ ।’

जवाफमा एक मधुर मुस्कान दिन्छिन् संगीता । हामी पनि मिसाउछौँ आफ्नो मुस्कान उनीसँगै । उनको कलाप्रेम सम्माननीय छ । २० वर्ष भइसक्यो रे ग्यालरीमा बिताएको । बाफरे कति धेरै धैर्यता । एकै ठाउँमा, एकै काममा यति लामो समय अडिनु चानचुन हैन ।

समय कति छिट्टै बगिसक्छ । यति मीठो माहोल छ । तर अब त फर्किनु छ सहर । मन फुकाएर घुम्नै पुगेन । तलतल झर्दै गर्दा साँझबत्तीको उज्यालोमा अझ बढी सुन्दर रहस्यमयी देखिँदैछ आमेर फोर्ट ।

रुबाबको धुन

कार्यक्रमको तेस्रो दिन १६ अक्टोबरसम्म त निकै फैलिइसकेको छ मित्रताको जालो । सुनिभ्याइसकिएको छ धेरैको कविता अनि सुफीसँग सम्बन्धित कार्यपत्रहरू पनि । विशेष दिलचस्प लाग्दैछन् अफगानी डेलिगेट्सहरू । अफ्गानिस्तानप्रतिको आमधारणा तय गराइएको छ तालिवान, आतंककारी, कट्टरपन्थीको रूपमा । तर यहाँ अफ्गानी साहित्यकार संगीतकारहरूको संगतमा उनीहरू त बिलकुल फरक लाग्छन् ।

हामीले बनाएको आमधारणाभन्दा कति हो कति फरक । बहुत शालीन अनि भद्रजनहरू । अग्ला कदका, हट्टाकट्टा सुन्दर अनि सिर्जनशील । उनीहरूको मन अझ बढी सुन्दर र प्रेमिल । त्यस टोलीमा एकजना छन् डेप्युटी मिनिस्टर पनि । – मिस्टर अब्दुल घफुर लिवाल । निकै मार्मिक लाग्छ उनको अनुभूति । एक वार्तालापमा भन्छन्ः ‘मिनिस्टर भएर प्रोटोकलहरूमा बाँधिनु बहुत कठिन लाग्छ । कविको रूपमा पाइने यो स्वतन्त्रतालाई छुटाउन चाहँदिन । त्यसैले यस्ता कार्यक्रममा आउने गर्छु ।’

हो त । एक कवि मन कहाँ बाँधिन चाहन्छ र प्रोटोकलहरूमा । यस्ता कार्यक्रमहरू भन्नु नै परिचय, भावना र सद्भावको साटासाटका लागि महŒवपूर्ण हुँदा रहेछन् । अन्तिम दिनको एक प्यानल डिस्कसनमा छ बोल्नुपर्ने ‘सुफिज्म र कविता’को बारे । हिजोको कार्यक्रममा अर्चना म्यामले सुफी र नारीवादको गजब संयोजन गरिदिनुभएको थियो । वास्तवमा ज्ञानको क्षितिज फराकिलो हुँदोरहेछ कुनै सीमाले बाँधेर नबाँधिने । जसलाई जता पनि जोड्न सकिने ।

ब भुटानी, श्रीलंकाली, भारतीय र अफगानी, डेलिगेट्ससँगै बसेर प्यानल डिस्कसन सुरु हुन्छ तब सुन्नेहरूको टिप्पणीपछि थाहा लाग्छ, जानअञ्जानमै पनि बोलिगइएछ राम्रै केही सुफी र कवितासम्बन्धी । साथ दिँदै गरेका आफ्ना साथीहरू अनि एक अफगानी कवि जालान्दको ताली र मधुर मुस्कानले अझ बढी हौसाएको हुन सक्छ यति बोल्नमा । बारम्बार मेरो फोटोहरू खिचिदिन्छन् जालान्द । अचम्म लाग्दै छ खासमा कसरी भए उनी यति नजिक ?

१६ तारिख । कार्यक्रम समापन हुने दिन । समापनपश्चात् सहभागीहरूलाई सहर घुमाउने कार्यक्रम छ । जयपुर मेन सिटी र जन्तरमन्तर नामक अचम्मको आर्किटेक्चरल एस्ट्रोनोमिकल संरचनाहरू भएको ठाउँहरूको घुमाइपछि हामी आफूखुसी घुम्न छाडिन्छौं केही घन्टाका लागि । मेरा साथीहरू इच्छा लागेका ठाउँहरूमा घुम्न लाखापाखा भए पछि मलाई साथ दिन आइपुग्छन् उही अफ्गानी कवि जालान्द ।

उनैले त हुन् घुमाएका अचम्मको ‘हावा महल’ । अनि गरिदिएका हुन् किनेका केही सामानको भाउताउ पनि । उनैले किनेर ल्याएछन् नरिवल पानी पनि । लाग्छ अपरिचित सहरमा पनि भेटिँदा रहेछन् अपरिचित बन्न नचाहने मानिसहरू जो भइदिन्छन् यति आत्मीय र नजिक ।

उनको अंग्रेजी र मेरो हिन्दी उस्तै छ, कमजोर । तर आत्मीयता र सामीप्यतालाई कहाँ रोक्न सक्छ र भाषाको अदृश्य पर्खालले ? अलिकति बुझ्दै अलिकति नबुझ्दै पनि हुँदोरहेछ मीठो कुराकानी । सायद यही बुझ्नु र नबुझ्नुबीचको मिठास निकै प्रिय हुन्छ । मनमनै भन्छु – ‘ओ जालान्द ! कति माया गरेको । भारिपर्ने भो तिम्रो खातिरदारी ।’ मेरो मनको कुरा सुने झै मुस्कुाराइदिन्छन् उनी ।

 

जालान्दले त आफ्ना म्युजिसियन साथीहरूलाई भनेर एक मेहफिल बसाइदिए र गुल्जार पारिदिएँ त्यो साँझ पनि । वास्तवमा प्रेम र समर्पणका ती कोमल शब्दहरू कतिखेर मुटुभित्र पसिसक्छन् थाहै नहुने । उनीहरूको संगीतले दिललाई छोइसकेछ । त्यो तारबाजा रुबाबको मधुर धुन अझै गुञ्जिरहेछ मभित्र । (यस कारणले पनि हुन सक्छ कि रुबाबवादक तेमोर ससाह र तबलावादक अहमद शाहले त्यस मेहफिलमा मेरो नाममा बजाइदिएका थिए – एक प्रेमिल धुन ।)
म मक्ख पर्छु । टाढा कतैका यी अजनवीहरू मेरा लागि भइदिएका छन् यति आत्मीय ।

आँखीझ्याल

समय त निकै अघि बढिसकेको छ । राजा सवाई प्रताप सिंहले नौ सय ५३ वटा झ्यालहरू भएको भव्य हावा महल बनाएका थिए निकै समयअघि । मुख्य कारण थियो, उनका रानीहरू र अन्य राजघरानिया महिलाहरूले सडकको पर्व जात्रा र मानिसका आवत्जावत सजिलै देख्न सकुन् तर उनीहरू भने छेकिउन् अरूको नजरबाट । ती महिलाहरूलाई त मनाही थियो ओलर्न र देख्न हेर्न अरूलाई ।

सारा सुखका बीच बाँधिएकाहरू । तर म र मजस्ता धेरै आइपुगेका छौ यो इतिहास हेर्न पार गरेर यस्तै अनेकौ आँखीझ्यालहरू । यो यात्रा एउटा खोजी पनि त हो । सम्भवतः आफ्नै खोजी । आफैंभित्रको ईश्वरको खोजी । जसरी सुफियाना रुमीले खोजी हिँडेथे आफैं भित्र केही, त्यागेर सबै थोक । बेवास्ता गरिदिएका थिए सारा भौतिक सुखसुविधा । र अन्ततः लीन भएका थिए आफ्नै ईश्वरसँग ।

भर्खरै हेरेको सोहाइला कपुरको निर्देशनको नाटक ‘रुमी’ मा देखाइएको यही रुमीको खोजको कथाले अलि बढी नै भावुक भएछु कि क्या हो ! केही हलचल जसो भएको छ मन । वास्तवमा केको खोजीमा छौं हामी ? नाम, इज्जत, वैभव या आफ्नै ? प्रश्नहरू निकै उठेका छन् ।

अघि भर्खरै हो कश्मिरी कवि तारानाम रियाजले जल्दै गरेको कश्मीकको सम्झना र प्रेम भरिएको कविता वाचन गरेकी र झक्झकाएकी हुन् सबैलाई जो दम्भको लडाइँमा छन् । भएको हो अभाव उही प्रेम र सद्भावको र नै जल्दैछ श्रीनर । मानवता टाढिँदै छ दिनदिनै हामीबाट । यो प्रेमिलभरि मेहफिलमा भइरहेको कवाली कन्सर्ट या कबिर, मीरा र अन्य सुफिका गीतहरू सबैले नै बोल्दै छ प्रेम । निम्त्याउँदै छ सबैलाई एक हुन र गाउन उही मानवताको गीत ।

केही दिनमा नै हस्ताक्षर पाइसकेकी छु मनमा यस सहरको, डिग्गी प्यालेसको रुम नम्बर २०७ को, सुफिमय मनहरूको अनि छुट्टिने बेला अजित कौर र अर्पणा कौरको मायालु अंकमालको । कार्यक्रम स्थगनको अप्रत्याशित खबरले दिएको त्यो क्षणिक पीडा अब छुटिसकेको छ कतै ।

तर अझै पनि मनको कुनै चेम्बरमा खट्किरहेको छ पाकिस्तानी कलाकार साहित्यकारहरूको अभाव । पक्कै अर्को वर्ष हुने सुफी फेस्टिबलमा ती अनेकन आँखीझ्यालहरू खोलेर आउनेछन् र भेट हुनेछ उनीहरूसँग । त्यसबखत पक्कै भरिनेछ मनको खाली चेम्बर प्रेमले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.