'रंगभेदवारे धेरै चर्चा गर्नु जरुरी छ'

'रंगभेदवारे धेरै चर्चा गर्नु जरुरी छ'

 तनावग्रस्त इलाकालाई आधार बनाउँदै लेखिएको छ तपाईंको उपन्यास ‘द सेलवाउट' । घोडामा सवार हुँदै अनि थरीथरीका चर्तिकला देखाउँदै कथावाचक विचरण गर्छ त्यो पृथक भूगोलमा । उपन्यासमा वर्णित लस एन्जेलस र वास्तविकतामा के भिन्नता छ ?

-किताबको बडापत्रमै लेखिएको छः चिनियाँ, स्पेनी, फ्रान्सेली कसैले पनि प्रवेश पाउने छैनन् डिकेन्स सहरमा । कोम्प्टन भन्ने ठाउँको बडापत्रबाट लिइएको हो यो घारणा ।

 उपन्यासको रचनागर्भबारे केही भन्नोस् न । काल्पनिक डिकेन्स सहरको अनौठो सेटिङबाहेक उपन्यासमा अरू त्यस्तो उल्लेख्य के छ ?

-‘द लिटल रास्कल्स' भन्ने टीभी धारावाहिक हेर्दै म हुर्किएँ । हाम्रै टोलमा भएको थियो यसको सुटिङ । साथीहरूसँगै स्कुल बंक गर्थें म यो कार्यक्रम हेर्न । त्यसमा भएका पात्रमध्ये एउटा कालो मान्छे पनि थियो । समूहमा सबैभन्दा चलाख थियो ऊ । तर हाँसोको पात्र भने उसैलाई मात्र बनाइथ्यो सधैं । पछि कलेजको पढाइको लागि म बोस्टन पुगेँ । ‘द लिटल रास्कल'मा गरिएको उपहासको घन मैमाथि बज्रियो त्यहाँ ।

त्यहाँ पढ्नेहरूमा मै मात्र रहेछु कालो विद्यार्थी । थरीथरीका अपमान सहनुपर्‍यो मैले । टीभीमा कार्यक्रम हेर्दा पनि सबै हाँस्दै मलाई नै हेरिरहन्थे । तब मैले बुझेँ, रंगभेद भनेकै यही हो । त्यतिबेला मलाई बोध भयो- साँच्चै रंगभेद कायम नै छ, हटेको छैन ।

हलिउडको एउटा चर्चित सिनेमा छ- स्टेफन फेचित । सिनेमाको केन्द्रीय पात्र हुन्छ फेचित । ऊ अप्ठ्यारो गरी विस्तारै बोल्छ, साह्रै ढिलो गरी । खासमा उसलाई त्यसरी देखाउनु भनेको छालाको रङको आधारमा गरिएको विभेद नै हो । त्यो कलाकारलाई त्यसरी प्रस्तुत गर्नुले अमेरिकी समाजको रंगभेदी सोच देखाउँछ । पछि दोहोर्‍याएर हेरेँ त्यो फिल्म । साँच्चै जोकर बनाइएको रहेछ उसलाई । रत्तिभर बौद्धिकतालाई स्थान दिइएको छैन उसको कमेडी चरित्रमा ।

विख्यात लेखक आमिरी वाराकाले पनि फेचितबारे लेखेका छन् । सिनेमाको एक ठाउँमा उसलाई गिराउन कुनै कन्टेनरको ढक्कन खोल्न अह्राइएको छ । तर, ऊ अटेर गरी बस्छ केहीबेर, तुरुन्तै आदेश पालन गर्दैन । संस्थापनविरुद्वको विद्रोह हो यो फेचितको, आमिरी वाराकाको बुझाइमा । मलाई पनि फेचितको त्यो कदम साँच्चै दमदार र प्रतिरोधी लाग्यो । यिनै सन्दर्भहरूले ऐतिहासिक घटनालाई पुनर्मूल्यांकन गर्न बाध्य भएँ म ।

रंगभेदी यस्ता घटनालाई अझ उल्टाएर देखाउने दुःसाहस पैदा भयो मभित्र । रंगभेदी मुद्दालाई फरक ढंगले उठाउने हुटहुटी पैदा भयो मनमा । यसैले त मैले यो उपन्यासमा डिकेन्स सहरको अनौठो चित्रण गरेको छु जहाँ ‘मी' नाम गरेको कालो पात्रले रंगभेदी शासन चलाउँछ । मेरो उपन्यासको गोरो पात्र होमिनी यस्तै विपरीत प्रयोगको सिकार बनेको छ । पहिलेको विख्यात कलाकार हुन्छ ऊ तर कालाहरूको राज्यमा दास बन्न पुग्छ ।

 तपाईंले त अफ्रिकी अमेरिकी परिहास समेटिएको संग्रह ‘होकुम'को सम्पादन पनि गर्नुभयो । यसको भूमिकामा तपाईंले एउटा उपहासको सन्दर्भ उल्लेख गर्नुभएको छ । रंगभेदी यो उपहासको निशाना तपाईं आफैं बन्नुभएको रहेछ हैन ?

- ममात्रै होइन उपहासको निशाना । कलेज पढ्दाका घटना सम्झन्छु अझै । कालाहरूलाई हियाएर थुप्रै किस्सा कहानी सुनाउँथे गोरा विद्यार्थीहरू । म प्रतिवाद गर्दै प्रश्न तेस्याउँथेँ- ‘हाँस्नु पर्ने कहाँनिर हो, के छ यसमा त्यस्तो रमाइलो ? ' हाम्रो समूहमा थुप्रै गोरा केटाहरू थिए । यस्ता भद्दा ठट्टा गरिरहँदा म पनि उनीहरूको समूहमा छु भन्ने यादै गर्दैनथे । निष्फिक्री भनिदिन्थे यस्ता जोक ।

 ‘द सेलवाउट'लाई त व्यंग्य उपन्यास भनी प्रचार गरिएको छ, किताबको कभरमा पनि त्यही लेखिएको छ । पक्कै पनि तपाईंलाई यो ‘क्याटागोराइजेसन' उचित लागेको छैन ।

- यो उपन्यासलाई फगत मनोरञ्जनप्रदायक छ भनी देखाउन त्यस्तो गरिएको हुन सक्छ । मार्क ट्वेनबारेको एउटा वृत्तचित्र हेर्‍याथेँ मैले । त्यसमा पनि उनलाई व्यंग्यकार भनेर हल्का रूपमा प्रस्तुत गरिएको छ । पटकथाकार तथा निर्देशक प्रेस्टन स्टर्जिजले व्यंग्यकारको रूपमा सीमित गर्दाको खतराबारे कतै बोलेका छन् ।

ट्रम्प त वाहियात मान्छे हो । उसबाट केही राम्रो हुने आशा राख्दिनँ म । तर विडम्बना ! यस्तो मान्छेलाई पनि धेरैको समर्थन छ । बाहिरियाले गोराहरूको काम खोसेको आरोप लाउँछन् उसका पक्षधर- पल बिटी

किताबलाई व्यंग्यविधामा राखेकैमा मेरो आपत्ति त होइन । तर पनि यसले खुम्च्याउँछ, किताबको व्यापक धरातल । अनि यसो गर्दा यो किताब त त्यतिखेरको एउटा निश्चित कालखण्डमा मात्र सान्दर्भिक थियो तर अहिले छैन भन्ने हल्काफुल्का सन्देश जान्छ । व्यंग्यविधाको रूपमा मेरो उपन्यासलाई राखिनु हुन्न भन्छु म, मैले गर्न सक्ने यतिमात्रै हो ।

 तपाईंले त उपन्यासमा कालाको अलग संसार बसाउनुभएछ । दासप्रथालाई फेरि ब्युँताउनुभएछ । असान्दर्भिक होइन र यो उठान ? रंगभेदको मुद्दालाई यति गम्भीर ढंगले उठाउनु जरुरी थियो ?

- व्यंग्यको चर्चा गर्दा ‘ए, यो त हँसाउने खालको रहेछ, गम्भीर मुद्दा छैन सायद यसमा' भनेर हल्का रूपमा लिने गरिन्छ । त्यसैले व्यंग्य भन्नासाथ यसले कता इंगित गर्दैछ भनी तपाईं कहिल्यै प्रश्न गर्नुहुन्न । किताबमा निहीत तीता प्रसंग, आघात अनि उद्दीग्नताबारे तपाईंको ध्यान कहिल्यै जाँदैन ।

अलि अगाडि तपाईंले मार्क ट्वेनको नाम लिनुभा'थ्यो । यो उपन्यासमा पनि काला जातिका बौद्धिकहरूको एउटा समूह छः डम डम । दुनोट पसलमा नियमित भेट्छन् उनीहरू । एकजनाले त ट्वेनको ‘हकलवेरी फिन' लगायतका अमेरिकी क्लासिकल किताबहरूको पुनर्लेखन नै सुरु गर्छ । यो सन्दर्भ उपन्यासमा मात्रै सीमित छैन सायद । यस दिशामा प्रशस्त छलफल भइरहेको छ, अमेरिकी समाजमा । यस्ता किताबहरूको पुनर्लेखनको यो प्रयास कस्तो लाग्छ तपाईंलाई ?

- मेरो एउटा साथी छ, ऊ पनि यस्ता प्रयासको पक्षमा देखिन्छ । ऊ भन्ने गर्छः ‘क्लासिकल किताबहरू राम्रा छन् तर बदलिँदो रंगभेदी परिदृश्यमा ती नयाँ पिँढीका जिज्ञासा र आक्राशलाई सम्बोधन गर्न सक्षम छैनन् ।' उसको तर्कमा दम छ ।

तर, तत्कालीन समाज कस्तो थियो, त्यतिखेरका मान्छेले ती घटनालाई कसरी बुझ्थे भन्नेबारेको आँखीझ्याल चाहिँ ती किताब । पहिलेका अधिकांश सिनेमामा कालालाई होच्याइएका छन् । गोराको सर्वोच्चता अर्थात् ह्वाइट सुप्रेमेसी स्थापित गर्ने प्रयत्न गरिएका छन् । तर विभेद, तिरस्कार र अपमान बुझ्न पहिले ती किताब, सिनेमा पढ्ने/हेर्ने त गर्नुपर्‍यो नि । अनि मात्र पुनर्लेखनको उठान गर्न सकिन्छ ।

 

एकपटक एउटा कलेजमा पुगेथेँ म, आफ्नो उपन्यास वाचन गर्न । कार्यक्रम सकिएपछि एउटी युवती मेरो नजिक आइन् । उनको समूहले एउटा शुक्रबारे छलफल सुरु गरेका रहेछन् । नाम दिएका रहेछन् ‘फ्राइड चिकन फ्राइडे' । उनी भन्दैथिइन्, ‘मलाई फ्राइड चिकन खुब मन पर्छ । तर शुक्रबारे छलफलमा गोरा विद्यार्थीहरूसँग बसेर खान आँटै आउँदैन ।' मन परेको चीज खान नसक्ने यो पाराले कहाँ परिवर्तन हुन्छ र ? छलफल गर्ने तर व्यवहारमा उतार्न नसक्ने यो त फगत सैद्धान्तिक परिवर्तन भयो । मृगतृष्णामात्र राखियो परिवर्तनको ।

 म्यानबुकर पुरस्कार ग्रहण समारोहमा तपाईंले ‘सांस्कृतिक फट्याइँ'को प्रसंग उठाउनुभएको थियो । के भन्न खोज्नु भएको ? अलि खुलस्त पार्नोस् न ।


- ह्यारिएट विचर स्टाउको प्रसिद्ध उपन्यास ‘अंगल टम्स क्याबिन'मा टोप्सी नाम गरेको एउटा पात्र छ । उसलाई साहै्र मूर्ख र हास्यास्पद चरित्रमा देखाइएको छ । कालाबारे गैरकालाहरूले लेखेका लेखहरूको सँगालो निकाल्ने मनसायले त्यस्ता लेखकहरूलाई पढ्दैछु म यतिखेर । यत्रो लामो कालखण्डमा के परिवर्तन भएछ भनेर म हेर्न खोज्दैछु । एउटी महिला लेखकको किताब पनि पढिसिध्याएँ भर्खरै । विचरको टोप्सीजस्तै अर्को कालो दास चरित्र जन्माएकी छन् उनले पनि ।

सांस्कृतिक फट्याइँबारे लिओनल स्रिभरको मन्तव्य पढेँ हालसालै । मान्छेहरूले मेक्सिकाली लामा जुँघा लगाएको वर्णन छ त्यसमा । तर, उनको तुलना होच्याउने खालको छ । तटस्थ हुन नसक्ने यस्ता रचना सांस्कृतिक फट्याइँबाटै जन्मिन्छन् । त्यसै मन्तव्यको एक ठाउँमा ‘कसैलाई रंगभेदी भन्नु उसलाई निषेध गर्नु हो' भनिएको छ । तर म भन्छु- यो निषेध होइन, आफूलाई मन नपरेको कुरा नसुनाऊ भनेको हो । रंगभेदवारे धेरै चर्चा गर्नु जरुरी छ । त्यसैले त मैले यो विषयलाई फेरि बहसमा ल्याएको, नयाँ स्वरूपमा । सबैले एकै किसिमबाट हेर्नेछन् मेरो किताबलाई भन्ने मलाई लाग्दैन । साँघुरो सोचका कतिले त मेरो प्रयासलाई दासप्रथा फर्काउने प्रयास पनि भन्ठान्लान् ।

 यो उपन्यास बाराक ओबामाको कार्यकालको उद्घाटन समारोहको वर्णनसहित अन्त्य गरिएको छ त ?

- ओबामा नभनी कालो मान्छेभन्दा ठीक होला । मलाई साह्रै मन परेको उपन्यासको खण्ड हो यो । उपन्यासको मनोवैज्ञानिक ढाँचा पनि हो यो । वास्तविक सन्दर्भ जोडिएको छ यसमा । ओबामाले जित्नेबित्तिकै मेरो हितैषी साथी मलाई भेट्न मेरो घर आयो, गाडीमा अमेरिकी झन्डा फहराउँदै । ‘तिम्रो गाडीमा किन अमेरिकी झन्डा ? ' मैले सोधें । उसले भन्यो, ‘ओबामाको विजयसँगै अमेरिकाले कालाप्रति गरेको अपराध मेटिएको छ । त्यही खुसीमा हो यो ।' तर त्यस्तो कहाँ हो र ? आदिवासी अमेरिकीमाथि गरेको अपराधको क्षतिपूर्ति कसरी गर्ने ? एकजना कालो राष्ट्रपति हुनासाथै कालाप्रतिको सबै अपराध पखालियो त ?

डोनाल्ड ट्रम्प प्रसंगबाट तपाईं अचम्भित हुनुभो त छैन नि ?

- ट्रम्प त वाहियात मान्छे हो । उसबाट केही राम्रो हुने आशा नै राख्दिनँ म त । तर विडम्बना ! यस्तो मान्छेलाई पनि धेरैको समर्थन छ । बाहिरियाले गोराहरूको काम खोसेको आरोप लाउँछन् उसका पक्षधर । अचम्म त के भने अमेरिका/युरोपमा मात्र कहाँ र, दक्षिण अफ्रिकामा पनि यही मानसिकता हावी भइरहेको छ । त्यसैले त आप्रवासीहरूको हत्या बढ्दैछ त्यहाँ ।

डरलाग्दो कुरा त के भने, ट्रम्पको प्रतिद्वन्द्वी हिलारी पनि कुनै कामकी छैनन् । उनको चुनावीसभा हेर्दा त रिपब्लिकनको सम्मेलनजस्तै लाग्छ मलाई । गरिबीबारे कहिल्यै केही बोलेकी छैनन् उनले, यसको सम्बोधन गर्ने त टाढाको विषय भइगयो ।

म त क्यालिफोर्नियामा हुर्केबढेँ । ठूलो भूकम्पभन्दा पनि सानो सानो धक्काले तर्साउँछ त्यो क्षेत्रमा । तर स-साना धक्काहरू थपिँदै छन् जताततै- सामाजिक, राजनैतिकलगायत अन्य क्षेत्रमा । भयानक भूकम्प आउने संकेत त होइन यो ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.