संस्मरण: कुनै एक दिन

संस्मरण: कुनै एक दिन

अघिल्लो साँझ बासका लागि म पाल्पाबाट भैरहवा झरेको थिएँ ।
त्यस रात भैरहवाको सयपत्री लजमा थियो मेरो बास ।
बिहान लज छाडेपछि रिक्सामा बिहानी-जीवनको चहलपहल हेर्दै म सुनौली पुगेको थिएँ ।

तिनताक म तानसेनस्थित राष्ट्रिय वाणिज्य बैंकको पाल्पा शाखा कार्यालयको प्रबन्धक पदमा कार्यरत थिएँ । म प्रत्येक बिदाको दिन तानसेनको खुम्चिएको परिवेशबाट उछुट्टिएर नजिक/टाढा कहीँ न कहीँको यात्रामा लाग्थेँ । त्यसै क्रममा मैले गौतम बुद्धसँग सम्बन्ध जोडिएको भूमि लुम्बिनी, तिलौराकोट, देवदह र माता मायादेवीको जन्मस्थान मानिएको रामग्रामको यात्रा गरिसकेको थिएँ । बाँकी कुशीनगर थियो- त्यसको पनि तिर्खा मेट्न म त्यसबिहान सुनौलीबाट गोरखपुर जाने भारतीय राज्य परिवहन सेवाको बसमा उक्लेको थिएँ ।

बस गुड्दा लगभग ८ बजेको थियो । बसभित्रका सबै आसनमा यात्रुहरू विराजित थिए । आसनवञ्चित केही डन्डी समातेर उभिएका थिए । तथापि बसभित्रको परिवेश त्यत्ति उकुसमुकुस लाग्दो थिएन । मेरो छेउको सिटमा एउटा झुम्रे पर्यटक बसेको थियो । जिंग्रिङ्ग परेका लामालामा कपाल, हप्तौंदेखि नखौरिएका उत्तर-दक्षिण फर्केएका छाडा दाह्री-जुंगा । उस्तै मैलो पहिरन र त्यस्तै रङ उडेको उदास अनुहार प्रकट गरेर उदेकिरहेको ऊसँग मलाई बोलौं वा नबोलौं भइरहेको थियो । त्यसो त ऊ पनि मसँग बोल्न उत्सुक देखिएको थिएन ।

मैले पनि ऊसँग बोल्ने पहल गरिनँ । म झ्यालबाट बाहिर वैशाखको चर्कन थालेको नवप्रवेशी घामको रनक र प्रकृतितिर मग्न हुन थालेँ । बाहिर खेतहरूमा पाकेका गहुँबालीका विस्तारित मोहक दृश्य थिए । पाकेका गहुँका ती सुनौला बालामाथि घामको चौबीस क्यारेटको सुनौलो रङले अझ मोहक चमक थपिदिएको थियो । मेरा आँखा प्रकृति र किसानको गोडमेलले बनेको सुनौलो प्रकृतिमा लठ्ठिरहेका थिए । आफू बसभित्र छु भन्ने सत्यबाट पनि असम्पृक्त म गहुँ बालीहरूको तिनै सुनौला सामुद्रिक विस्तारको बैसाखी दृश्यमा उड्दै थिएँ ।

गुडेको एक घन्टा चानचुनपछि बस राजपगडियाँमा रोक्कियो । यो उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लामा पर्ने राजपगडियाँ भन्ने गाउँ हो । बसबाट म पनि लुरे झुम्रे टुरिस्टसँगै ओर्लिएँ । केही यात्रु आ-आफ्ना विस्फोटक मूत्राशय रित्याउन पाकेको गहुँ खेततिर र केही परपरका रूखका फेदहरू ताक्दै लागे । बस राजपगडियाँमा रोक्किनुको उद्देश्य पनि यात्रुलाई यही विस्फोटक स्थितिबाट मुक्त गर्नु थियो । त्यसकारण प्रायः यात्रुहरू त्यही मुक्तिमार्गतिर लागे । म बस अडिएको सडकछेउको एक फुट्टो घरको नजिक गएँ ।

घरछेउमै रहेको ट्युबेल चलाउँदै एउटी २०/२२ वर्षकी युवती आफूले माझेका जुठाभाँडा पखाल्दैरैछे । म अनायासै उसलाई हेरेर टोल्हाइरहेको थिएँ । झुम्रे टुरिष्ट पनि ट्युबेल चलाउँदै भाँडा पखालिरहेकी त्यही युवतीलाई उत्सुक टोल्हाइरहेको थियो । हाम्रा आँखा आफूतिर एकोहोरिरहेको चाल पाएर युवतीले मसँग सोधी, 'पानी पियमका साहेब ? '

मलाई पानी पिउनुपर्ने थिएन । तर, युवतीले सोधेपछि मलाई भन्न करै लाग्यो । मैले भने, 'हाँ, पियम ।'

मेरो उत्तर पाउनेबित्तिकै युवतीले नजिकै भुइँमा लडेको लोटा उठाएर भाँडा माझ्ने लुँडोले त्यसलाई मस्काउन थाली । लोटा टल्कने गरी मस्काएपछि उसले राम्रोसँग पखाली र लोटाभरि पानी भरेर मलाई दिई । मैले लोटाको पूरै पानी एकै सासमा रित्याएँ । र, लोटा युवतीलाई फर्काएँ । लोटा हातमा लिँदै युवतीले फेरि सोधेकी थिई, 'और लाउँ का साहे'ब...? '
'ना...।'

झुम्रे टुरिस्टतिर हेर्दै युवतीले फेरि मैसँग सोधी, 'ऊ साहे'ब भी पानी पीएमका साहे'ब ? '
अनि मैले झुम्रेलाई सोधेँ, 'डु यु लाइक वाटर ? '
'ओ... नो... नो... जस्ट लुकिङ ।'

झुम्रेको यो उत्तर पाएपछि मैले युवतीलाई भनेका थिएँ, 'उनका नाचाहिँ... ।'
झुम्रेको दाह्री-जुँगा, कपाल, पहिरन र रङ्गरोगन अचम्मले नियाल्दै युवतीले मसँग सोधेकी थिई, 'यी अंग्रेज हुँ का साहे'ब..? '
'मालुम नहीँ पुछता हुँ' भनेर मैले सहयात्री झुम्रेसँग सोधेको थिएँ, 'ह्वेर यु फ्रम ? '
'अस्ट्रेलिया ।'

झुम्रेले भनेपछि मैले युवतीलाई बुझाउँदै भनेको थिएँ, 'अस्ट्रेलिया के अंग्रेज...।' युवतीले बुझेजस्तै गर्दै मुन्टो हल्लाई र फेरि ट्युबेलतिर लागी । झुम्रेले मसँग सोध्यो, 'हाउ इज दि वाटर...? '
'नाइस, डु यु लाइक ? ' मैले फेरि ऊसँग सोधेँ ।

'नो' भन्दै उसले मसँग युवतीको राम्रो व्यवहारको प्रशंसा गर्‌यो । वास्तवमा म पनि युवतीको निश्चल र निर्मल व्यवहारबाट सम्मोहित भएको थिएँ । युवतीको व्यवहार कविताको विषय थियो । व्यवहारका यस्तै क्षणहरूबाट कविताहरू स्फुरण हुन्छन् पनि । अवधका जनताका घरदैलोका यस्तै व्यवहारबाट बुद्धका वाणीहरू पनि प्रभावी थिए । बुद्धले पाइला चालेको भूमिकी त्यस युवतीको प्रशंसा त्यो सुदूर अस्ट्रेलियाको पर्यटकले गर्दाको क्षण मेरो मन पूर्णतः संवेदित गौरवले भरिएको थियो ।

मभित्र उसको प्रशंसा गर्ने त्यस पर्यटकप्रति पनि श्रद्धा उम्लिएको थियो । मलाई युवतीले पानी होइन श्रद्धा पिलाएको जस्तो लागेको थियो । म त्यही श्रद्धाले भरिएर राजपगडियाँका खेतहरूमा लहलहाएका सुनौलो गहुँबालीका अनन्त विस्तारतिर मोहित भइरहेको थिएँ ।

राजपगडियाँमा बस ३० मिनेट जति रोक्किएको थियो । त्यसपछि गुड्न थालेको बस अगाडि दुई घन्टा चानचुन गुड्यो । र, गोरखपुर पुगेर आफ्नो बिसौनीमा थामियो । म बसबाट ओर्लिंदा दिन मध्यान्हको संघारमा पुगिसकेको थियो । घामको ताप उग्र हुँदै थियो । रिक्सा, बस, जिप, ठेलागाडा, खोम्चावाला र ओहोर-दोहोर गर्ने मानिस र यात्रुहरूको घुइँचो र हल्लाले बनेको वाक्क-व्याक्क पार्ने वातावरण भोग्दै म सोधखोज सकेर कुशीनगर जाने राज्य परिवहन सेवाकै अर्को लाम्चो बसभित्र फुत्त छिरेको थिएँ ।

गोरखपुरको भीड, धूलो, घाम, पसिना मेरो लागि नयाँ भोगाइ र अनुभूतिको थिएन । धेरैपटक मैले गोरखापुर भोगेको छु । कहिले नेपालकै भैरहवा, बुटवल पस्न र कहिले भारतकै अन्य भूमि जान, मैले गोरखापुरलाई ट्रान्जिट बनाएको छु । र, गोरखपुरको चाखिलो परिक्रमा गरेको छु । त्यसकारण गोरखनाथ मन्दिर, गीताप्रेस, गोरखपुर विश्वविद्यालय जाने बजार, गल्ली, सडक र चोकसँग मेरो अलमल नपर्ने परिचय छ ।

त्यसदिन चढेको कसिया जाने बसले पनि मलाई तिनै सडक, गल्ली र स्थान देखाउँदे मैले नदेखेको रामगढ ताल, हवाईमैदान, कस्मही बजार, जगदीशपुर हाता, एतिमपुर खोला, भैंसवाजस्ता अनेक गाउँ र भुरे बजार देखाउँदै एक घन्टा चानचुनमा कुशीनगर पुर्‌याएको थियो ।

बसमा एक स्थानीय युवकसँग मेरो कुरा हुँदा उसले कुशीनगरलाई भीआईपी नगर भनेको थियो । यो आश्चर्य सुनेर मैले उसलाई सोधेको थिएँ, 'किन ? '

कुशीनगर आउनुभन्दा वरै पर्ने भैँसवामा ओर्लिएको त्यो युवकले मैले यसरी सोधेपछि जवाफमा भनेको थियो, 'किनभने यहाँ संसारका भीआईपी आउँछन्... यहाँ भीआईपी बस्ने होटेल छन्... यहाँ देश विदेशका भीआईपीहरू आइरहन्छन्... त्यसैले यो भीआईपी नगर हो...।'

भारतीय भूमीअन्तर्गतको उत्तरप्रदेश राज्यको देवरिया जिल्लामा पर्ने त्यस भीआईपी नगरमा बसबाट झर्नेबित्तिकै सडकको दाहिनेतिर एउटा स्थायी प्रवेशद्वारबाहिर काँक्रा, खिरा र खरबुजाका चिरा बेच्ने खोम्चावालहरूले बाटोबाहेकको ठाउँ ओगटेको थिए ।

सम्भावित दिने मान्छे कुरेर बसेका माग्नेहरू प्रत्येक आगन्तुकको अनुहार पर्गेल्दै थिए । प्रवेशद्वार पारिपट्टिको पक्की र कच्ची घरहरूमा दालभात, रोटी, समोसा, पकौडा, चना, चिउरा, भुजा र मिठाइका थुप्रै झिँगे होटेलहरू थिए । तर, चार पाँच तारा अङ्के भीआईपी तारेहोटेलहरू कुशीनगर प्रवेशद्वारभित्रको बुद्धको संसारमा छिरेपछि मात्र देखिएका थिए ।

वास्तवमा कुशीनगर प्रवेशद्वारभित्र र बाहिरको संसार निक्कै फरक र भिन्नको देखिन्थ्यो । बाहिर जनसरोकारको साधारण चलपहल धूलो, फोहोर, गरिबी र आम भारतीय सबअर्वन (कस्वा) चरित्रको गति थियो । तर, त्यहीको विपरीत प्रवेशद्वार भित्र छिरेपछि मैले धार्मिक सम्भ्रान्तता र सांस्कृतिक गतिविधि देखेँ । भित्रको स्तूप, मन्दिर, भिक्षु बस्ने घरहरू, पार्क, उत्खनन स्थलको सरसफाइले बाहिरको सडक छेउछाउको गरिबी फोहोर र धूलोसँग मेल गरेर बसेको विवश जीवनलाई खिसी गरिरहेका थिए ।

तिनले सरसफाइ जीवनलाई होइन अस्तित्वमा नभएको ईश्वर र धर्म, अध्यात्म र सम्भ्रान्तलाई मात्र हो भन्ने जनाइरहेको थिए । बाहिरबाट भित्र छिरेर डुल्दै गर्दा मलाई यस्तै भास भएको थियो । तथापि त्यहाँको रागात्मक अध्यात्मिक गतिविधिले मेरो मनभित्रको यो भासलाई गौण बनाएको थियो ।

प्रवेशद्वार छिरेपछि देब्रेपट्टि देखिएको 'सन' नाम दिइएको बुद्ध मन्दिरबाट मैले अवलोकन सुरु गरेको थिएँ । त्यसपछि बर्मिज बिहार, बर्मेली मन्दिर, महापरिनिर्वाण धर्मशाला, गुरुभूमि मन्दिर हेर्दै म बुद्ध महापरिनिर्वाण स्थलमा बनाइएको निर्वाण मन्दिरमा पुगेको थिएँ ।

म सायद त्यही भूमिबाट परिनिर्वाण स्थल पुगेको थिएँ जुन भूमिमा महान चिनियाँ यात्री ह्वेनसाँगले पाइला राखेको थिए । तथागतले अनन्त वि श्राम सुरु गरेको ह्वेनसाँग महानले देखेको भग्नावशेष र झाडीको रूप अहिले छैन । ह्वैनसाँगको यात्राको हजारौं वर्षपछि अहिले तथागतको अन्तिम बेलाका सम्भावित सारा प्राप्त चिन्हहरूलाई प्रायः उजागर गरिएको देखियो ।

 

भित्र छिर्नुभन्दा अगाडि म परिनिर्वाण मन्दिरको ढोकाबाट ढोकैपट्टि मुखमण्डल फर्काएर कोल्टे परेर सुतेको ६ मिटर लम्बाइको बलौटे रातो प्रस्तरमा कुँदिएको बुद्धको विशाल मूर्ति नियालिरहेको थिएँ । ह्वैनसाँगले पनि माटोमा ढाकिएको पातपतिंगरले छोपिएको झाडीले घेरिएको तथागतको परिनिर्वाण मुद्राको यही मूर्ति देखेका थिए जसको उद्धारित स्वरूप म त्यस अपरान्ह नतमस्तक हेर्दै थिएँ । ती पस्तर तथागतलाई निक्कैबेर शान्त नियालेर तृप्त भएपछि म मन्दिरभित्र छिरेको थिएँ ।

मन्दिरभित्र पहरेदार मोहम्मद नाथु भेटिए । ढोका बाहिरबाटै तथागतलाई नियालिरहेका मेरा आँखा उसले पढिरहेको रहेछ । त्यसकारण मेरो त्यही उत्सुक र जिज्ञासु नेत्र हेर्दै उसले मलाई भनेको थियो, 'बुद्ध आराम गरिरहेको बेला कुँदिएको मूर्ति हो यो... आराम गर्दा बुद्ध यसैगरी कोल्टे पर्थे...।'

त्यसरी आफैंले देखेसरी भनिरहेको मोहम्मद नाथुसँग मैले सोधेको थिएँ, 'बुद्ध यसरी नै कोल्टे पर्थे भन्ने कसरी थाहा पाउनुभयो तपाईंले ? '

'विद्वान्हरूले भनेको सुनेको हजुर... यहाँ विद्वान्हरू धेरै आउँछन्...।'
मलाई नाथुको यो जवाफ तर्कपूर्ण लागेको थियो ।

त्यो अस्ट्रेलियनले मसँग युवतीको राम्रो व्यवहारको प्रशंसा गर्‌यो । वास्तवमा म पनि ती युवतीको निश्चल र निर्मल व्यवहारबाट सम्मोहित भएको थिएँ । युवतीको व्यवहार कविताको विषय थियो । व्यवहारका यस्तै क्षणहरूबाट कविताहरू स्फुरण हुन्छन् ।

बुद्धको अन्तिम क्षणको मुद्रा मानिएको, पश्चिम मुहार पारेर कोल्टे परेको बुद्धको त्यो मूर्तिलाई भित्र पसेपछि पनि मैले चारैतिरबाट नियालेँ । सायद आराम गर्नुपर्दा पनि बुद्ध यै अवस्थामा पल्टने गर्थे कि ? यसैले उनले आफ्नो परिनिर्वाण पनि यै मुद्रामा गरेको हुनुपर्छ ।

यै मुद्रामा बुद्धले आफ्नो चेला आनन्दलाई आफ्नो महाप्रस्थानको शैया तयार गर्न अह्राएको हुनुपर्छ । तथागतको त्यो अद्भूत कोल्टे मूर्ति नियाल्दै म यही सोचिरहेको थिएँ । तर, फेरि त्यो नाथु गुरु बन्दै बोलेको थियो, '...बुद्धलाई खुट्टातिरबाट हेर्नुस् बुद्ध मृत देखिन्छन्... छातिअगाडि उभिएर हेर्नुस्, बुद्ध चिन्तनशील भएको देखिन्छन्... र शिरतिरबाट हेर्नुस् बुद्ध मन्द मुस्काइरहेका देखिन्छन्... यस मूर्तिको विशेषता नै यै हो हजुर... ।'

त्यसकारण मैले फेरि तथागतको त्यो मूर्तिलाई नाथुले भनेको पद्धतिअनुसार छातिअगाडि उभिएर, शिरपछाडि उभ्भिएर र पाइतालाअगाडि उभिएर हेर्न थालेँ । त्यसरी हेर्दा नाथुले भनेको जस्तैजस्तै आभास भएको थियो मलाई । मैले सोचेको थिएँ, ढुंगामा बुद्धको त्यस किसिमको अद्भुत मुद्रा र भाव जीवन्त पार्न सक्ने व्यक्ति अवश्य तथागतको अनन्य भक्त र तथागतको उपदेशमा डुबेको महान् कलाकार हुनुपर्छ ।

वास्तवमा वस्तु, पात्र र अनुभूत भावमा आत्मविस्मृत भएर नडुबिकन लक्षित कलाको सम्प्रेषणलाई जीवन्त पार्न सकिन्न पनि । त्यसकारण त्यस महान् कलाकारले पनि तथागतलाई आफ्नो भक्तिमय मनमा पूर्णतः श्रद्धासाथ साक्षात्कार गरेको हुनुपर्छ र थालेको हुनुपर्छ आफू अगाडिको दैत्याकार ढुंगो कुँद्न । त्यो अज्ञात कलाकारको शिल्पमा उत्रिएका परिनिर्वाण मुद्राका तथागतलाई यसरी हेर्दै म त्यस महान् कलाकारबारे यस्तै सोचिरहेको थिएँ ।

मन्दिरबाट बाहिरिने बेलामा मैले नाथुलाई सोधेको थिएँ, 'तपाईं मोहमड्न हुनुहुँदो रहेछ, बुद्ध मान्नुहुन्छ...? '
नाथुको जवाफ थियो,
'बुद्ध पनि अल्लाह नै हो...।'

बुद्धलाई अल्लाह मानेर २० वर्षदेखि पहरेदारीको जागिर खाएको अधबैंसे मौलवीकट दाह्रीवाल नाथुसँग म निकै प्रभावित भएर बिदा भएँ । त्यसपछि बुद्धसँग सम्बन्धित बुद्धप्रेमीहरूले संरक्षण गरेको बाँकी स्तूप, पार्क र उत्खनन स्थल डुल्दै त्यस दिन नगरको पुछारतिरको तथागतको दाहसंस्कार स्थल रामाभार स्तूपसम्म पुगेको थिएँ । रामाभार स्तूपका इँटाहरू निक्कै जीर्ण र खिइएका थिए । खिइएका काइग्रस्त ती छ्याके इँटाले आफ्नो प्राचीनता र उमेर जनाइरहेका थिए ।

तिनबाट म आध्यात्मिकता र इतिहासको रोमाञ्चक भाव-लहर पाइरहेको थिएँ । म त्यहाँ पुग्दा त्यो स्तूप विचरण गर्ने कोही थिएनन् । म एक्लो थिएँ । त्यसछेउको अर्को बगैंचा पनि सुनसान थियो । म स्तूपको परिक्रमापछि त्यही बगैंचाको एउटा सानो रूखमुनि सुस्ताएको थिएँ । त्यसपछिको मेरो पडाव बुद्धको अन्तिम प्रवचनस्थल मानिएको भूमिमा बनेको माया कुँवरको सानो प्रतीकस्वरूपको मन्दिर थियो । त्यताबाट म फेरि कुशीनगर प्रवेशद्वार बाहिरको धूलो, फोहोर, गरिबीको संघर्षपूर्ण जनसंसारमा निस्किएको थिएँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.