कथा-हात

कथा-हात

अमेरिकी लेखक सेरउड एन्डरसन (१८७६-१९४१) आफ्ना स-साना कथाका कारण चर्चित छन् । उनका उपन्यास खासै सफल नभए पनि कथाले भने निकै प्रभाव जमाए । एन्डरसनको लेखन प्रभाव उनीपछिका लेखक अर्नेष्ट हेमिङ्वे, विलियम फल्कनरलगायतमा पाइन्छ । आख्यानको माहोलले ढाकिएको समकालीन नेपाली साहित्यमा एन्डरसनको लेखन कला छलफलको विषय बन्न सक्नेछ ।

वाइन्जबर्ग नगरनजिकैको खोलाको किनारमा एउटा सानो घर उभिएको थियो । घरको आधा भत्केको बरन्डामा एउटा सानो गाँठीको पाको मान्छे यताउति गरिरहेको थियो । ऊ अधीर देखिन्थ्यो । घर अगाडि सोतो परेको खेत थियो । क्लोभरको बीउ छरेको त्यो खेत तोरी झारले पूरै ढाकेको थियो । उसले खेतपारिको राजमार्ग हेर्‌यो । स्ट्रबेरी टिपेर घर फर्किंदै गरेकाहरूले भरिएको एउटा ब्यागन अर्थात् मालगाडी गाउँ फर्किंदै थियो ।

गाडीका युवायुवती उत्ताउलो पाराले होहल्ला गर्दै थिए । नीलो कमिज लगाएको केटो गाडीबाट फुत्त हामफाल्यो र एउटी केटीलाई आफूतिर तान्न लाग्यो । केटी चिच्याउँदै उसको हातबाट फुत्कन खोजी । केटाले भुइँमा एक लात्ती हान्यो । उसको खुट्टाबाट उँडेको धुलो बिदावारी हुन लागेको साँझको घाममा टल्कियो । त्यो सोतो परेको खेतको पारिबाट कुनै केटीको आवाज आयो, 'ए, विङ्ग बिडलबौम, कपाल कोर्ने गर । आँखैँ छोपिसक्यो ।' त्यो आवाजले त्यस्तो मान्छेलाई कपाल कोर्ने सुझाव दिइरहेको थियो जो तालुखुइँले थियो । निधारमा झरेका लट्टा मिलाउन खोजेझैं उसले खिरिला चञ्चले औंलाहरूले आफ्नो मुडुलो टाउको मुसार्‌यो ।

विङ्ग बिडलबौम सदा त्रस्त र दोधारको बोझले थिचिएको देखिन्थ्यो । ऊ यस नगरमा बीस वर्षदेखि बस्दै आएको थियो । तर उसलाई आफू यहाँको कुनै अंश हुँ भन्ने कहिल्यै पनि लागेन । पूरै वाइन्जबर्ग क्षेत्रमा केवल एकजना उसकोमा आउने-जाने गर्दथ्यो । ऊ थियो जर्ज विल्लार्ड- टम विल्लार्डको छोरो, नयाँ विल्लार्ड भवनको मालिक । ऊ र बिडलबौम साथीजस्तै भइसकेका थिए । जर्ज विल्लार्ड 'वाइन्जबर्ग इगल' पत्रिकामा रिपोर्टरको काम गथ्र्यो । ऊ कहिलेकाहीँ साँझमा अगाडिको राजमार्ग हुँदै बिडलबौमकोमा आउँथ्यो ।

आफ्ना दुवै चञ्चल हात अघिपछि हल्लाउँदै वरन्डामा यताउति गरिरहेको यो पाको मान्छे यही रिपोर्टरको पर्खाइमा थियो । स्ट्रबेरीले भरिएको गाडी आँखाबाट कटिसकेपछि ऊ अगाडिको खेततिर लाग्यो । अग्लिएको तोरी-झार पन्छाउँदै पारिपट्टि गयो । खेतको बारमा चढ्यो र सहरतिर जाने बाटोलाई व्यग्र आँखाले हेरिरह्यो । एकछिन त्यहीँ उभिरह्यो । त्यसपछि हात मल्दै सडकको तलमाथि हेर्‌यो । एकाएक उसलाई भयले छोप्यो । हतासमा ऊ त्यहाँबाट फर्कियो र घरको पिँढीमा आएर फेरि यताउति हिँड्न थाल्यो ।

विङ्ग बिडलबौम २० वर्षदेखि यस सहरको एक रहस्य बनेको थियो । केवल जर्ज विलार्डको अगाडिमात्र ऊ सहज देखिन्थ्यो । उसको उपस्थितिमा बिडलबौमको डर हराउँथ्यो । सदा आशंका र दोधारको समुद्रमा डुबेको झैं देखिने त्यो चिन्तित अनुहार त्यस युवा रिपोर्टरको साथ पाएपछि भने दुनियाँ हेर्न कहिलेकाहीँ बाहिर निस्कन्थ्यो । छायाँझैं धुमिल यो व्यक्ति दिउँसोको उज्यालोमा मूल सडक निस्कने साहस गथ्र्यो । कहिले भने उत्साहपूर्वक कुरा गर्दै आफ्नै घरको जीर्ण पालीमा यताउति गर्दथ्यो । अरू बेलामा सानो र कापेको झैँ लाग्ने उसको स्वर ठूलो र चर्को सुनिन्थ्यो । कुप्रो शरीर तन्किन्थ्यो ।

अरू बेलामा मौन रहने बिडलबौम जिउ पूरै मर्काउँदै बोल्न थाल्थ्यो । ऊ मछुबारेको हातबाट खोलामा फर्किएको माछो झैं जीवन ऊर्जाले भरिएको देखिन्थ्यो । धेरै वर्षदेखि उसका मनमा खात लागेको विचारलाई शब्दमा व्यक्त बल गथ्र्यो ।
बिडलबौम आफ्ना मनका अधिकांश कुरा हातले व्यक्त गथ्र्यो । संवादमा हरपल सक्रिय आफ्ना हातका औंलालाई कहिले गोजीमा लुकाउने प्रयत्न गथ्र्यो भने कहिले पछाडि । तर ती खिरिला औंलाहरू मौका पाउनासाथ अगाडि आइहाल्थे र अर्थपूर्ण तरिकाले चल्मलाउन थाल्थे । ती वास्तवमा उसको अधिव्यक्त संयन्त्रका पिस्टोन रडहरू थिए ।

विङ्ग बिडलबौमको कथा भन्नु नै उसको हातको कथा हो । पिँजडामा थुनिएको चराले पखेटा फटफटाएझैं ती अधीर हातका कारणले नै उसले यो नाम पाएको थियो । यो नाम नगरको कुनै अपरिचित कविले जुराएझैं लाग्छ । बिडलबौम आफ्ना हातदेखि सधैं सजग रहन्थ्यो । ऊ सदा तिनलाई लुकाउने प्रयत्न गथ्र्यो । खेतमा काम गर्दा आडैका खेतालाका अभिव्यक्तविहीन हातहरू देखेर ऊ अचम्ममा पथ्र्यो । त्यस्तै, उङ्दै गरेका वस्तुभाउ अघि लगाएर घर फर्किरहेका गोठालाहरूका मौन हात देख्दा उसलाई उदेक लाग्थ्यो ।

जर्ज विलार्डसँग बात मार्न थालेपछि बिडलबौम मुठ्ठी कस्थ्यो । जोसले कहिले टेबलमा त कहिले भित्तामा मुड्की बजाथ्र्याे । यसो गर्दा उसको अनुहारमा एक प्रकारको सन्तुष्टि झल्कन्थ्यो । खेतखेतै टहल्दै गर्दा उसलाई केही भन्ने इच्छा भयो भने ऊ कुनै ठुटो या बारको घोचोतिर आँखा लगाउँथ्यो । नजिकमा जे भेटिन्थ्यो त्यसैमा मुड्की बजार्दै आफ्ना कुरा भन्न थाल्यो । हातको हाउभाउसँगै बोल्दा उसमा नयाँ ऊर्जा थपिन्थ्यो ।

विङ्ग बिडलबौमको हातको आफ्नै कथा छ । यसको एउटा किताब नै बन्छ । संवेदनशील हृदयले लेख्ने हो भने उसका हातको कथामा दुर्बोध मान्छेहरूका अनौठा, सुन्दर विशेषताहरू प्रकट हुन्छन् । यस्तो रहस्यभित्र छिर्न कवि हृदय नै चाहिन्छ । उसका यी चञ्चल हातले नगरवासीको ध्यान खिचेको थियो । विङ्ग बिडलबौमले आफ्ना यिनै हातले एक दिनमा एक सय चालीस क्वाटर्ससम्म स्ट्रबेरी टिप्न सक्थ्यो । हातका दु्रत चाल नै उसको विशेष खुबी बनेको थियो ।

 

उसको ख्यातिको कारण पनि यही थियो । तर यिनै हातका कारण उसको रहस्यमयी, दुर्बोध व्यक्तित्व अझ रहस्यमयी बनेको थियो । वाइन्जबर्ग नगरवासी उसका हातमा गर्व गर्दथे जसरी उनीहरू गर्व गर्दथे ब्यांकर ह्वाइट्सको ढुंगाको नयाँ महलमा र वस्ले मोएरको विजयी घोडामा ।

जर्ज विलार्डले धेरैचोटि उसका हातबारे सोध्ने मन गरेको थियो । एकपटक त उसको उत्सुकता झन्डै मुखबाट फुत्केकोे थियो । उसका हातका पारा देखेर विलार्ड एउटा निष्कर्षमा पुगेको थियो- यी हात यसरी चलमालाई रहनुको अवश्य कुनै कारण हुनुपर्दछ । कुनै रहस्य लुकेको हुनुपर्छ हरपल आफ्ना हात लुकाउन खोज्नुका पछाडि ।

ऊ बिडलबौमलाई आदर गथ्र्यो । त्यसैले आफ्ना मनमा उठ्का प्रश्नहरू मनैमा रहन दियो ।अर्को एक पटक पनि जर्ज विलार्डलाई उसका चञ्चल हातबारे सोधुँसोधुँ लागेको थियो । गर्मी महिनाको दिन थियो । ती दुईजना खेतको बाटो हुँदै खोलातिर गइरहेका थिए । केहीबेर हिँडेपछि उनीहरू घाँसे किनारमा बसे । दिनभर नै बिडलबौम निकै उत्साहका साथ बोलिरह्यो । हिँड्दै गर्दा खेतको बार नजिकै ऊ टक्क अडियो । अजंगको काठफोरा चराले रूखलाई ठुँगेझैं बारको किलोमा धेरैपटक मुड्की ठोक्यो ।

जर्ज विलार्डलाई हकार्‌यो, 'तिमी अरूबाट अति प्रभावित हुन्छौ ।' हकारेको स्वरमा उसले त्यस युवकलाई सम्झायो, 'तिमी आफूलाई सिध्याउँदै छौ । तिम्रो वास्तविक स्वभाव भने एक्लो रहने खालको छ । सपना देख्ने खालको तर तिमी आफ्नै सपनादेखि भागिरहेको छौ । सहरका अन्य मान्छेजस्तै बन्न खोज्दैछौ । तिनका कुरा सुन्छौ, तिनकै अनुकरण गर्छौ ।'

टेबलमुनिको सघन छायाँमा घुँडा मारेको त्यो आकृति चर्चको कुनै अनुष्ठानमा व्यस्त पादरी झैं देखिन्थ्यो । अर्थपूर्ण रूपले चलेका उसका औंलाहरू बत्तीको प्रकाशमा झल्याकझुलुक गरिरहेका थिए । ती औंला वर्षौंदेखि जपमालामा व्यस्त कुनै भक्तालुका औंला जस्ता लाग्दथे ।

एकछिन पछि फेरि खोलाको घाँसेकिनारामा बस्दै बिडलबौमले उसलाई सम्झाउने यत्न गर्‌यो । अब उसको स्वर नरम बन्दै गयो । उसको बोलीमा पुरानो स्मृति मिसिएको थियो । सन्तुष्टिको सास तान्दै ऊ दिनभर बहकिरह्यो । दूर सपनामा डुबेर बोलिरह्यो ।

उसले आफ्नो सपनामा जर्ज विलार्डको चित्र खिच्यो । उसको स्वप्नील दृश्यमा सुनौलो ग्रामीण युगका मानिसहरू आराम गरिरहेका थिए । खुला हरियाली गाउँ थियो । परबाट कञ्चन हातखुट्टा भएका एक जमात युवाहरू गाउँतिर आउँदै थिए । कोही पैदल हिँडेर त, कोही घोडामा । तिनीहरू सानो बगैंचाको एउटा रूखमुनि बसिरहेको बूढोमान्छेको खुट्टा नजिकै आए । उसको वरिपरि बसे । अनि बूढो मान्छे तिनीहरूसँग बात मार्न थाल्यो ।

त्यस स्वनील दृश्यले विङ्ग बिडलबौम निकै उत्साहित देखियो । केहीबेरका लागि उसले आफ्ना हात बिर्सियो । विस्तारै उसका दुवै हात बाहिर निस्किए र जर्ज विलार्डको काँधमा पुगे । उसको बोली नवीन ऊर्जाले भरिएको थियो ।
'तिमीले आजसम्म जे जति सिक्यौ ती सबै बिर्सिदेऊ ।' बूढो मान्छेले सम्झायो । 'अब तिमीले आफ्नै सपना देख्नुपर्छ । आफ्नै सपना । बाहिरको कोलाहललाई आफ्ना कानमा पर्न नदेऊ ।'

विङ्ग बिडलबौमको बोली बीचैमा रोकियो । उसले जर्ज विलार्डलाई निकैबेर हेर्‌यो । उसको हेराइमा एक प्रकारको व्यग्रता झल्कन्थ्यो । उसका आँखा धपक्क बले । केटालाई सुम्सुम्याउन फेरि उसले आफ्ना हात उठाएको मात्र के थियो अनुहारमा भय फैलियो ।

विङ्ग बिडलबौमको पुरै शरीर थर्थरायो । ऊ जुरुक्क उठ्यो र दुवै हात हतपत ट्राउजरको गोजीमा भित्रसम्म घुसार्‌यो । उसका आँखा आँसुले भरिएका थिए । 'अब म घर जानुपर्छ । अब धेरै बोल्न सक्दिनँ ।' उसले कापेको स्वरमा भन्यो ।
बूढो मान्छे पछाडि नफर्किइ हतारमा ओरालो लाग्यो । तल परको चउर काट्यो । यता जर्ज विलार्ड भने त्यही भिरालो ठाउँमा किंकर्तव्यविमूढ र भयभीत भएर बसिरहर्‌यो । डरले काप्दै ऊ त्यहाँबाट उठ्यो र अगाडिको बाटो हुँदै सहरतिर लाग्यो ।

'अहँ, यो बूढाको हातबारेमा केही सोध्ने छैन ।' बूढाको आँखामा देखेको भय सम्झेर उसले आफैंलाई सम्झायो । 'पक्कै केही गडबड छ । तर मलाई यो थाहा पाउनु छैन । ऊ पक्कै पनि आफ्ना हातका कारण अरूसँग डराएको हुनुपर्दछ । '
जर्ज विलार्डको अनुमान सही थियो । विङ्ग बिडलबौमको हातको कथा संक्षेपमा सुनौं । हुनसक्छ यस कथाले कुनै कविलाई जगाउनेछ जसले सुनाउनेछ यी हातले छाडेका रहस्यमयी प्रभावको कथा । उसका हात सपना देखाउन सक्ने फर्फराउँदा पतका थिए ।
०००

युवा अवस्थामा विङ्ग बिडलबौम पेन्सिलभेनियाको एउटा सानो सहरको विद्यालयमा पढाउँथ्यो । उतिबेला ऊ विङ्ग बिडलबौम थिएन । ऊ अलि कम सुप्रिय नाउँले चिनिन्थ्यो- एडोल्फ मेयरर्ज । ऊ छात्रहरूले अधिक प्रिय शिक्षक थियो ।
एडोल्फ मेयरर्ज स्वभावले नै दुर्लभ युवा शिक्षक थियो । ऊ यस्तो दुर्लभ र दुर्र्बोध मान्छेहरूमध्ये एक थियो जो आफ्नो प्रेमको मन्द तापले अरूको हृदयमा शासन गर्न सक्दथे । उसले केटाहरूप्रति देखाउने माया कोमल हृदयकी महिलाले पुरुषप्रति देखाउने मायाभन्दा फरक थिएन ।

उसका हातबारे यस्तो टिप्पणी अलि सतही हुन सक्छ । यसका लागि कवि नै चाहिन्छ । एडोल्फ मेयरर्ज स्कुले केटाहरू लिएर साँझमा बाहिर निस्कन्थ्यो । कहिले भने विद्यालय भवनको सिँढीमा उनीहरूसँग साँझसम्म बसिरहन्थ्यो कुनै सपनामा डुबेझैँ । बोल्दा उसका हात यताउता चलमलाइरन्थे । ती हात कहिले केटाहरूको काँधमा पुग्थे भने कहिले तिनका खजमजिएका कपाल चलाउँथे । उसको स्वर मधुर सुनिन्थ्यो । ऊ आफ्नो स्वरले ती केटाहरूको हृदय सुम्मुमाउँथ्यो ।

त्यो स्कुले मास्टर आफ्नो बोलीको लयले, हातका चालले ती कोमल मस्तिष्कहरूमा सपना भर्ने यत्न गर्दथ्यो । आफ्ना औंलाका प्रेममयी स्पर्शका माध्यमबाट ऊ आफूलाई व्यक्त गर्दथ्यो । ऊ त्यस्ता मान्छेहरूमा पर्दथ्यो जसको जीवन-ऊर्जा एकै ठाउँमा केन्द्रित नभई विकेन्द्रित भई छरिएको हुन्छ ।

शिक्षकको प्रेममयी स्पर्श पाएका ती कलिला मस्तिष्कबाट द्विविधा, अविश्वास विस्तारै हराउन थाल्यो । उनीहरू सपना देख्न थाले ।त्यसपछि आइलाग्यो विपद् ।

विद्यालयको एउटा मन्दबुद्धिको केटो आफ्नो शिक्षकप्रति अति आकर्षित भयो । राति ओछ्यानमा उसले व्यक्त गर्नै नसकिने कामनाहरूको कल्पना गर्न थाल्यो र बिहान उठेपछि आफ्नो सपनालाई वास्तविक घटनाका रूपमा बताउन थाल्यो । झोलिएको उसको ओठबाट अनौठा, घिनलाग्दा आरोपहरू निस्कन थाल्यो । पेन्सिलभेनिया सहरमा एक प्रकारको कम्पन छुट्यो । एडोल्फ मेयरर्जका बारेमा मान्छेहरूका मनमा दबेर रहेका छायाँजस्तो धुमिल शंका विश्वासमा बदलिन थाल्यो ।
विपद् खस्न लामो समय लागेन ।

केटाहरू थरथर काप्दै ओछ्यानबाट जुरुक्जुरुक् उठ्न थाले । अर्धनिद्रामा तिनीहरू बर्बराउन थाले । 'सरले मलाई अँगालो मार्नु भो । एउटाले भन्यो । सर सधैं मेरो कपाल खेलाउनु हुन्छ ।' अर्को बर्बरायो ।

एक मध्यान्ह हेनरी ब्राडफोर्ड नाम गरेको मान्छे विद्यालयको ढोकामा आएर उभियो । ऊ तल टाउनमा सैलुन चलाउँथ्यो । उसले एडोल्फ मेयरर्जलाई चउरमा बोलायो र भकाभक मुड्याउन थाल्यो । उसका कडा आँख्ले मुड्की त्यस स्कुल मास्टरको भयभीत अनुहारमा बर्सिन थालेपछि क्रोधले ऊ झन्झन् भयानक बन्न थाल्यो । भयभीत केटाकेटीहरू आत्तिएका कीराझैं चिच्याउँदै यताउति कुद्न थाले । 'मेरो छोरालाई कसरी छुने, तँ पशुलाई आज म बताउँछु ।' सैलुनवाला गर्जियो । मुड्की हान्दाहान्दा थाकेपछि उसले लात्ती बर्साउन थाल्यो ।

एडोल्फ मेयरर्ज रातारात पेल्सिलभेनियाको त्यस नगरबाट लखेटियो । हातमा लाल्टिन बोकेका करिब बाह्रजनाको एक समूह ऊ एक्लै बस्दै आएको घरको ढोका अगाडि उभिए । तिनीहरूले उसलाई लुगा लगाएर तत्काल बाहिर आउन आदेश दिए । पानी परिरहेको थियो । एकजनाले हातमा डोरी बोकेको थियो । उनीहरू स्कुले मास्टरलाई झुन्ड्याउने आशयले आएका थिए । उसको त्यति सानो, गारो, टिठलाग्दो जीउ देखेर तिनीहरूको मन बदलियो । उसलाई भाग्ने मौका दिए ।

अँध्यारोमा ऊ भाग्न थालेपछि भने त्यो झुन्डलाई लाग्यो- 'यसलाई जिउँदै छाड्नु हाम्रो भूल हो ।' त्यसपछि गाली गर्दै, झटारो हान्दै, माटोको ठूलाठूला डल्ला फ्याँक्दै त्यस भयभीत आकृतिलाई खेद्न थाले । त्यो निःसहाय आकृति भने चिच्याउँदै बेतोडले अँध्यारोतिर कुदिरह्यो ।
०००
उमेरले ऊ केवल ४० को थियो तर ६५ वर्षको बूढोजस्तै देखिन्थ्यो । बितेको २० वर्षदेखि ऊ वाइन्जबर्गमा एक्लै बस्दै आएको थियो । त्यहाँ उसको काकीको घर थियो । अगाडिको एउटा दाँत कालो भएको त्यो बुढीमाऊ कुखुरा पाल्ने गर्थी । काकीको सास रहुन्जेल ऊ पनि सँगै बस्यो । पेन्सिलभेनियाको त्यो घटनापश्चात् ऊ एक वर्ष बिरामी पर्‌यो । तङ्ग्रिएपछि खेतमा ज्यालादारी गर्न थाल्यो । डराइडराइ बाहिर निस्कन्थ्यो र सकेसम्म आफ्ना हात लुकाउने प्रयास गथ्र्यो । पिटिनु र लखेटिनुमा आफ्नो के दोष थियो भन्ने उसले अझै बुझ्न सकेको थिएन । तैपनि यसको मुख्य दोष आफ्नै हातहरू हुनपर्छ भन्ने उसको निष्कर्ष थियो । क्रोधले भाउन्निँदै सैलुनवाला गर्जेको थियो- 'तेरा हात आफैंसँग राख । तेरा हात...।'
०००
त्यो साँझ खोला नजिकैको आफ्नो घरको बरन्डामा विङ्ग बिडलबौम तलमाथि गरिरह्यो । उसको यो क्रम घाम पश्चिममा नबिलाएसम्म र खेतपारिको बाटो धमिलो छायाँमा नडुबेसम्म चलिरह्यो । त्यसपछि ऊ घरभित्र पस्यो । चक्ला पारेर पाउरोटी काट्यो र मह दल्यो । स्ट्रबेरीले भरिभराउ डब्बाहरू बोकेको साँझको रेलगाडी गडगडाहट गर्दै सहरबाट परपर हुँदै गयो । गृ्रष्म यामको साँझको मौनता फर्किएपछि ऊ फेरि बरन्डामा निस्कियो र यताउति हिँड्न थाल्यो ।

अँध्यारोमा उसका हात अदृष्य थिए । शान्त पनि । ऊ अझै पनि त्यो युवा रिपोर्टर आउँछ कि भन्ने आशामा थियो । त्यो केटो उसको प्रेम व्यक्त गर्ने माध्यम थियो । यो आशा उसको एकांकीपन र पर्खाइको अभिन्न अंश बनेको थियो । उसले बत्ती बाल्यो र जुठाभाँडा माझ्न थाल्यो । बरन्डातिर फर्केको ढोकाको छेउमा दोबार्न फिल्ने चारपाई लगायो र सुत्ने तरखर गर्दै कपडा काड्यो । टेबलको खुट्टा नजिकै सफा गरी पुछेको भुइँमा पाउरोटीका झुर्काहरू छरिएका थिए ।

आडैको होचो स्टुलमा बत्ती राखेर ऊ ती झुर्काहरू एकएक गरी टिप्दै मुखमा हाल्न थाल्यो । उसका औंलाहरू अविश्वसनीय गतिमा चलिरहेका थिए । टेबलमुनिको सघन छायाँमा घुँडा मारेको त्यो आकृति चर्चको कुनै अनुष्ठानमा व्यस्त पादरी झैं देखिन्थ्यो । अर्थपूर्ण रूपले चलेका उसका औंलाहरू बत्तीको प्रकाशमा झल्याकझुलुक गरिरहेका थिए । ती औंला वर्षौंदेखि जपमालामा व्यस्त कुनै भक्तालुका औंला जस्ता लाग्दथे ।

(अनुवादः बलराम अधिकारी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.