दोस्तोयव्स्की एक लत

दोस्तोयव्स्की एक लत

दोस्तोयव्स्कीबारे जब चर्चा सुरु हुन थाल्छ, म भन्छु- उनी लत हुन् । एउटा एडिक्सन । अरू लेखक रुचिकर हुन्छन्, आदरणीय हुन्छन् तर दोस्तोयव्स्की ? उनी त लत हुन् । जब मानिसले उनलाई पढ्न थाल्छ उसलाई लत लाग्न थाल्छ । उनको भाषा, चरित्र चित्रण र पात्रको मनोदशाको जीवन्त अभिव्यक्ति दिने कलाले यति लती बनाइदिन्छ, पाठकले उनले नलेखेका कृति पनि खोजीखोजी पढ्न चाहन्छ । हो, उनी लत हुन् ।

दोस्तोयव्स्की पढ्नुअगाडि नै मैले रुसका घगडान लेखकहरू टोल्सटोय, चेखव, गोर्की, पुस्किन, ग्रिनएब्स्कीका केही कृति पढिसकेको थिएँ । त्यति बेलासम्म दोस्तोयव्स्कीलाई पढ्नु त परै जाओस् सुनेको पनि थिइनँ । एक दिन पुस्तक पसलको गोदाममा धुलाम्मे र्‌याकका किताब टक्टकाउँदै गर्दा उनी भेटिए । धुलोमैलो लागेको मोटोमोटो किताबको कालो गातामा खैरो दाह्री बोकेर बसेको उनको बूढो हुँदै गरेको उदास अनुहारमा थिए उनी । उनका आँखा भने तीरजस्ता लाग्थे ।

'अपराध और दण्ड' मलाई त्यो पुस्तक कुनै कानुनवेत्ताले लेखेको दस्तावेजजस्तो लाग्यो । सायद, संसारका सारा अपराधको फेहरिस्त त्यसमा संगृहीत छ, यस्तै ठानेँ मैले । यद्यपि दोस्तोयव्स्कीको तस्बिरले भने त्यो कुनै मुद्दाको मिसिल नभएको जिकिर गरिरहेको थियो । सुरुमा त पाना फर्काउन पनि उदासीनता आयो ।

त्यसैले मैले एक अध्यापकलाई दोस्तोयव्स्कीबारे सोधेँ । ती अध्यापकले दोस्तोयव्स्कीले चुम्बकले जस्तो तान्छ भनेपछि म सरासर पुस्तक पसलको त्यही अँध्यारो गोदाममा पुगेँ । त्यो बूढो अनुहार टाँसिएको मोटो किताब उठाएँ । धुलो टक्टक्याएँ । पैसा तिरेर घरमा आउनेबित्तिकै समातेको पुस्तक मैले कति बेला छोडेँ आफैलाई थाहा थिएन । अन्तिम पाना सकिएपछि पनि म पढिरहेको थिएँ । पहिलो डोजमै मलाई दोस्तोयव्स्कीको लत लागिसकेको थियो ।

मैले उनलाई छोड्ैन सकिनँ । हिन्दीमा 'अपराध और दण्ड' पढेँ । लगत्तै अंग्रेजीमा 'द इडियट', 'काजामारोभ ब्रदर्स', 'द डेभिल', 'नोट्स फ्रम अन्डरग्राउन्ड', 'वाइट नाइट्स' फेरि हिन्दीमै 'नगदनारायण' र अंग्रेजीमा केही छोटा कथाहरू पढेँ । हरेक आख्यान पढेको महिना दिन म त्यसैको ह्याङमा हुन्थेँ, मानौं मैले चालीस वर्ष पुरानो रक्सी खाएको हुँ । सकडमा, गल्लीमा, चोकमा जहाँसुकै म तिनै पात्रहरू भेटिरहन्थेँ । मलाई संसारको उच्चतम लेखनी पढेको अनुभव भयो ।

दोस्तोयव्स्कीको लेखनी कलाको चरमोत्कर्ष हो । पहिला मलाई टोल्सटोय धुरन्धर उपन्यासकार लाग्थ्यो । अब गाह्रो भयो । यी दुईमा को धुरन्धर हुन् ? कसरी छुट्याउने ?

दोस्तोयव्स्कीको लेखनीमा एक खालको सनक भेटिन्छ । उनी पात्रमा खर्लप्पै छिर्छन् । यस्तो लाग्छ, उपन्यासका नायक स्वयं उनी नै हुन् । उनका जीवनवृत्तिका फरकफरक मोडमा देखिने चरित्रहरू हुन् । व्यक्तिका क्षणिक सनकहरू उतार्न उनी छुटाउँदैनन् । 'अपराध र दण्ड'को मुख्य पात्र रस्कोलनिकोभले एउटी विधवा बूढीको हत्या गरेसँगै कथा सुरु हुन्छ ।

त्यो विधवा बूढी चर्को ब्याजदरमा रस्कोलनिकोभजस्ता गरिब युवाहरूलाई ऋण दिने गर्थी । रस्कोलनिकोभलाई लाग्छ, त्यो बूढी समाजको क्रूरतम मानवीय प्रवृत्तिको प्रतिनिधि पात्र हो जसको हत्या एउटा सामान्य नालीको कीराको हत्याजस्तै हो । उसको हत्या हुनु मनासिब छ । हत्या गरेपछि एकातर्फ उसलाई मानवताको रक्षा गरेजस्तो लाग्छ भने अर्कोतर्फ हत्या गरेकोमा ग्लानिबोध हुन्छ ।

उसलाई लाग्छ, कानुनले नदेखे पनि अदृश्य शक्तिले देखिसकेको छ । कानुनले नसमाए पनि जीवनभर प्रताडनाले बाँच्नुपर्ने डर उसमा पलाउँछ । उसलाई लाग्छ, हरेक मान्छेले उसको पीछा गरिरहेछ । हरेक मान्छे उसकै खोजीमा छन् । उ भाग्न थाल्छ । लुक्न थाल्छ । यसरी लुक्दा लुक्दै पनि उसले क्षणिक सनकहरू देखाउन थाल्छ । जस्तो, सामान्य कुरामा पनि प्रफुल्ल भएर हाँसेजस्तो गर्छ । केही नभएजस्तो गरेर सुसेली हाल्दै हिँड्छ बाटोमा ।

 

कोठामा लुकिरहेको हुन्छ तर बाहिर मानिस आउँदा, ढोका ढक्ढकाउँदा बाहिर निस्केर ती मान्छेलाई जिब्रो निकालेर जिस्क्याइदिऊँ भनी सोच्छ ।

पात्रहरूमा भेटिने मनोदशाहरूको जीवन्त चित्रण उनको विराट् क्षमता हो । उनका पात्रहरूले पाठकका मस्तिष्क र हृदय छेड्छन् । कहालीलाग्दो शून्यबोध र मौनताले द्रविभुत हुन्छन् । 'द इडियट'को पात्र 'प्रिन्स मिस्किन' एक दोषरहित पात्र हो । प्रिन्स मिस्किनलाई दोस्तोयव्स्कीले जिसस क्राइस्टको प्रतीकका रूपमा उभ्याउन खोजेका छन् ।

प्रिन्स जतिसुकै स्वच्छ, उच्चतम, दोषरहित, निर्दोष भए पनि उसमा एउटा कमजोरी छ । एउटा हीनताबोधले सधैं ग्रसित छ । ऊ छारेरोगले ग्रसित छ, जसको कारणले उसमा हीनताबोध पलाएको छ । भीडमा नै ढल्छु कि भन्ने हीनताले गर्दा उसमा पूर्णता देखिँदैन । उसको यही हीनताबोधको वरिपरि उपन्यास घुम्छ ।

- दोस्तोयव्स्की दार्शनिक हुन्थे भने नित्से बन्थे र यदि नित्से साहित्यकार हुन्थे भने दोस्तोयव्स्की बन्थे ।

दोस्तोयव्स्कीका नायक होमरका नायकजस्ता वीरता र सौर्यले भरिएका पात्र होइनन् । यी आधुनिक मानव हुन् जो उच्चतम गुण हुँदाहुँदै पनि केही साना र तुच्छ कमजोरीले बाँधिएका छन् । सामाजिक बाध्यताले घेरिएका छन् । 'ब्रदर्स कारमाजोभ'मा उनले दुईवटा यस्तै पात्र उभ्याएका छन्, इभान र दमित्री । इभान आदर्शवादी छ तर जीवनवादी छैन ।

जीवनको बहुआयामिक रसरंगबाट टाढिएर रुमल्लिइरहेछ । अर्कोतर्फ उसको दाइ दमित्री अति नै जीवनवादी हुने बहानामा आदर्शवादी मूल्यमान्यताबाट एकदमै टाढा छ । यी दुई पात्रमार्फत दोस्तोयव्स्कीले जीवन जिउनु मुख्य हो वा जीवनबारे चिन्तन गर्नु मुख्य हो भन्ने अन्तरविरोधलाई उभ्याएका छन् । सिंगो उपन्यास पढिसिध्याउँदा पाठक पनि अलमलमा पर्छन् को सही हो, को गलत । दोस्तोयव्स्कीले समाधान होइन भयंकर प्रश्न छोड्छन् ।

दोस्तोयव्स्की र सेक्सपियरमा केही समानता देखिन्छ । १९औं शताब्दीमा सेक्सपियर जन्मिएका भए दोस्तोयव्स्कीको आवश्यकता नै हुने थिएन । सेक्सपियरको 'ह्याम्लेट' र दोस्तोयव्स्कीको 'रस्कोलनिकोभ' एउटै क्याफेमा भेट भएको भए उनीहरूबीच धेरै कुरा मिल्थ्यो । ती गज्जबका दोस्त बन्ने थिए ।

टोल्सटोय र दोस्तोयव्स्की भने फरक छन् । टोल्सटोय बेलाबेलामा व्याख्यान दिन थाल्छन् । बेलाबेलामा पात्रहरूलाई बिर्सेर व्याख्यानमा व्यस्त हुन्छन् । उनी दर्शन पोख्न थाल्छन् । साहित्यमार्फत एउटा विचारधारा उभ्याउन खोज्छन् तर दोस्तोयव्स्कीले त्यसो गरेनन् । त्यसको अर्थ उनको रचनामा दर्शन छैन भन्ने होइन । उनी भयंकर अस्तित्ववादी हुन् ।

दोस्तोयव्स्की दार्शनिक हुन्थे भने नित्से बन्थे र नित्से साहित्यकार हुन्थे भने दोस्तोयव्स्की बन्थे । जीवन साँच्चै नै पीडादायी र दुखद छ । दोस्तोयव्स्कीको विचारमा पीडाको कारण प्रवृत्तिगत र मनोगत विविधता हो जसको कुनै समाधान छैन ।

- दोस्तोयव्स्कीका नायक होमरका नायकजस्ता वीरता र सौर्यले भरिएका पात्र होइनन् । यी आधुनिक मानव हुन् । जो उच्चतम गुण हुँदाहुँदै पनि केही साना र तुच्छ कमजोरीले बाँधिएका छन् । सामाजिक बाध्यताले घेरिएका छन् ।

सुखको खोजी आफैंमा आदर्श हो । यो विषादको बीचमा नै जीवन छ । यो अस्तव्यस्तताकै बीचमा जीवन छ जसको विकल्प छैन । तर, दोस्तोयव्स्कीले एक ठाउँमा विकल्प भेटेका छन् । त्यो हो, ईश्वरप्रतिको आस्था । उनका लागि शक्तिशाली ईश्वर होइन । त्यो ईश्वर आदर्शको प्रतिरूप हो । उनका लागि ईश्वर छैन भने मानवहितका लागि ईश्वरको रचना गरिनुपर्छ ।

दोस्तोयव्स्कीले मानवीय संवेदनाको उच्चतम अभिव्यक्ति दिएका छन् । उनी भावभंगिमाको मिहिन चित्रण गर्छन् । कलाको मुटुको स्पन्दनलाई हत्केलाले स्पर्श गरेका छन् । मान्छेमा हुने हरेक मनोदशा उनले चित्रण गरेका छन् । दोस्तोयव्स्की पढेपछि पाठक र लेखकमा एउटा 'इन्फेरियरिटी कम्प्लेक्स' छाउँछ । दोस्तोयव्स्कीले मानवीय प्रवृत्तिको हरेक सीमा लेखिसकेका छन्, अब के पो लेख्न बाँकी छ र ? हरेक आख्यानकारलाई दोस्तोयव्स्की चुनौतीका ठूलै पहाड हुन् ।

दोस्तोयव्स्की आख्यानकार होइनन् । उनी त आख्यानकारका पनि आख्यानकार हुन् । उनी उपन्यासकारका पनि उपन्यासकार हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.