ओरालो लाग्दै बारफोनको बजार

ओरालो लाग्दै बारफोनको बजार

काठमाडौंः मोबाइल प्रयोग गर्ने सबैलाई बारफोन बोकेको अनुभव त पक्कै होला ? किप्याड भएको सानो अनि हातमा बोक्न सजिलो त्यो बारफोनको बजार पछिल्लो समय घट्दै गएको छ । स्मार्टफोनको बढ्दो प्रयोगले बजारमा बारफोन प्रयोगमा केही कमी आएको छ ।

विस्तारै बारफोन प्रयोग गर्ने प्रयोगकर्ताको आकर्षण स्मार्टफोनतर्फ हुने भएकाले बारफोनको प्रयोगमा कमी आएको हो । बजार घट्दो भए पनि नेपाली फोन बजारमा बारफोनले ठूलो हिस्सा ओगटेको छ । विशेष गरी ग्रामीण भेगमा ठूलो बजार हिस्सा ओगटेको बारफोनले काठमाडौंजस्ता ठूला सहरमा पनि राम्रो स्थान बनाएको छ ।

बजारमा कलर्स, सामसुङ, जियोनी, माइक्रोम्याक्स, डीटीसीलगायतका दर्जनौ कम्पनीले बारफोनको बिक्री गरिरहेका छन् । आठ सयदेखि चार हजार मूल्यसम्मका बारफोन बजारमा उपलब्ध छन् । सेफ्टीफोनका रूपमा स्थापित हुँदै गएको बारफोन पछिल्लो समय स्मार्टफोन बोक्ने मानिसका हातमा पनि देखिन थालेको छ ।

एउटा पकेटमा स्मार्टफोन बोक्ने मानिसले अर्को पकेटमा बारफोन बोक्ने गरेका छन् । यस्तो अवस्था भए पनि बारफोनको बजार प्रतिदिन घट्दो क्रममा रहेको माइक्रोम्याक्स मोबाइलका मार्केटिङ प्रमुख भुपाल क्षेत्री बताउँछन् । उनका अनुसार प्रयोगकर्ताको आम्दानी र आवश्यकता परिवर्तन हुँदै जाँदा बारफोनको बजार खस्किदै गएको हो ।

‘मानिसहरू स्मार्टफानेमा रमाउँन चाहान्छन्, स्मार्टफानले मानिसका आवश्यकता परिपूर्तिका लागि केही हदसम्म सहयोग नै गरेको छ ।' क्षेत्री बताउँछन्, ‘तर अझै पनि नम्बरको आधारमा बारफोनको बजार हिस्सा ठूलो छ ।'

 

मार्केटिङ प्रमुख क्षेत्रीले माइक्रोम्याक्सले भारतबाट मोबाइल ल्याउँदा ६० प्रतिशत बारफोन र ४० प्रतिशत स्मार्टफोन ल्याउँने गरेको बताए । नेपाली बजारमा फोन बिक्री भएको आधारमा माइक्रोम्याक्सको स्थिती पनि ६०–४० नै रहेको उनले थपे । तर यो स्थिती अबको केही वर्षमा पूर्णरूपले परिवर्तन हुने उनको भनाइ छ ।

मानिसले सेफ्टी फोनका रूपमा अहिले बारफोन प्रयोग गर्ने गरेका छन् । ब्याट्री ब्याकअप र चलाउन सजिलो हुने भएकाले बारफोनलाई ब्याकअपका रूपमा बोक्ने मानिसको संख्या पनि धेरै रहेको कलर्स मोबाइलका मार्केटिङ म्यानेजर राजजंग थापा बताउँछन् ।

बारफोनको बजारमा आफ्नो छुट्टै पकड बनाएको कलर्सले बार र स्मार्टफोनको अनुपात नेपालमा ६०–४० रहेको उनले बताए । उनका अनुसार ग्रामीण भेगमा मोबाइल नबोक्ने मानिसको संख्या ठूलो भएकाले पनि त्यो समुदायका लागि बारफोनको बजार अझै पर्खिरहेको छ ।

अवस्था जस्तो भए पनि बारफोनको बजार निरन्तर खस्कदै गएको थापा बताउँछन् । यतिसम्मकी जियोनीले बारफोनको बिक्रीलाई नेपालमा रोक्ने सोच बनाइसकेको छ । जियोनी मोबाइलका मार्केटिङ म्यानेजर समिर ढुंगानाले बजारमा बारफोनको बिक्रीलाई रोक्ने सल्लाह भइरहेको बताए ।

उनका अनुसार बार र स्मार्ट दुबै फोन उत्पादन गर्दै आएको जियोनीले बारफोनलाई देखाउँनकै लागि मात्र उत्पादन गरेको हो । बारफोनले जियोनीको कुल बिक्रीमा पाँच प्रतिशत पनि बजार नओगटेको ढुंगानाको भनाइ छ ।

मोबाइल पसलेहरूले पनि बारफोनको बिक्री निरन्तर घट्दै गएको बताएका छन् । मानिसहरूले थोरै पैसा थपेर भए पनि स्मार्टफोन नै किन्न चाहन्छन् । मोबाइल बजारमा बारफोन र स्मार्टफोन ६०–४० को अवस्थामा भए पनि कारोबारको हिसाबले यसको स्थिती २०-८० भएको ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेत बताउँछन् ।

उनका अनुसार बारफोनको सेल्स ६० प्रतिशत भए पनि आर्थिक कारोबार २० प्रतिशत पनि छैन । दिनमा १० वटा फोन बिक्री हुँदा बारफोन धौ धौले दुईवटा बिक्री हुने गरेको सन मोबाइल कोटेश्वरका सञ्चालक सुरेश बानिया बताउँछन् ।

तर डीटीसी मोबाइलका मार्केटिङ म्यानेजर रोशन न्यौपाने यसमा पूर्ण रूपमा असहमति जनाउँछन् । उनका अनुसार जुन रूपले स्मार्टफोन अपगे्रड हुँदै गएका छन्, त्यही अनुसार बारफोन पनि अपगे्रड हुँदै गएका छन् । त्यसले बारफोनको बजारलाई पनि स्मार्टफोनसँगै अघि बढ्न मद्दत गरेको न्यौपाने बताउँछन् ।

मानिसले बारफोनलाई ब्याट्री ब्याकअप र रेडियो सुन्न प्रयोग गर्दै आएका छन् । साथै लोडसेडिङले पनि बारफोनको बजारलाई थामिराखेको छ । उनका अनुसार कम्पनीले अहिले वार्षिक चारदेखि पाँच लाखको हाराहारीमा बारफोन बिक्री गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.