राष्ट्रिय मियोमा एमाले

राष्ट्रिय मियोमा एमाले

भनिन्छ, इतिहास दोहोरिँदैन तर घटना दोहोरिन सक्छन् । एमालेको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा समेत यतिखेर २०५३ र ०५४ साल दोहरिने खतरा छ । त्यसबेला पनि संसद् अहिलेजस्तै त्रिशंकु आकारको थियो । सरकार परिवर्तन, सांसद खरिदबिक्री, राज्यसत्ता र पार्टी सत्तामा पकड जमाउन समीकरणको खेती र त्यसको लागि सोम लगायो, मंगल फाट्यो पिरती शैलीका चलखेल त्यसबेलाका राजनीतिक विशेषता थिए । २०५२ भदौ १२ गते सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको मध्यावधि चुनाव घोषणालाई खारेज गरेर राजनीति गरेको थियो ।

आफ्नै पार्टीका छत्तीसे सांसदहरूको असहयोगका कारण संसद्मा अल्पमतमा परिसकेका गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा घोषणा गरेको मध्यावधि चुनाव स्वीकार गरेको नजिर छँदाछँदै सर्वोच्चले कांग्रेसलाई काखा र एमालेलाई पाखा गरेको थियो । देशका विरुद्ध त्यतिबेला जनताका बैरीले मनमोहन नेतृत्वको लोकप्रिय सरकार ढालेका थिए । यतिखेर केपी ओली नेतृत्वको सरकार ढालेर मोदी पोस्ने र मातृभूमि झोस्ने कृत्य कांग्रेस र माओवादी केन्द्रले गरेका छन् । यसरी युगदेखि युगसम्म देश र जनताको लागि एमाले बलि चढेको छ ।

सरकारबाट बाहिरिए पनि एमालेसँग त्यो बेला मनमोहन नेतृत्वको नौमहिने सरकारले जगाएको जनताको अपार साथ, समर्थन र सहानुभूति थियो । एमालेले मनमोहनलाई यथाशीघ्र पुनः प्रधानमन्त्री देख्न चाहने जनमतको मर्म बुझ्ने, रक्षा गर्ने र सम्भावनालाई वास्तविकामा बदल्ने राजनीति घ्राण शक्तिको आपूर्ति गर्न सकेन । भारतमा धेरैपछि तेह्र दिन मात्र प्रधानमन्त्री भएका अटल विहारी वाजपेयीलाई भाजपाले धैर्य, सौर्य र दूरदर्शी रणनीति अख्तियार गरी केही वर्षमै सुविधाजनक बहुमतका साथ पाँच वर्षसम्म प्रधानमन्त्री बनाउन सक्यो ।

एमाले भने सस्ता प्रतिक्रिया, अस्थिर राजनीति र सत्ता समीकरणको बल्छीमा बल्झियो । संसदीय दलको नेतालाई सडक छोडेर अरूको उक्साहट र वैशाखीका भरमा उपप्रधानमन्त्रीका रूपमा उपयोग गरिएको वामदेव गौतम मिसाइल एमालेका लागि माकुराले बोकेको भ्रूणजस्तै घातक बनेको थियो । महासचिव हटाऊ अभियानमा गौतमका पक्षमा बहुमत जुटेकाले माधव नेपाललाई महासचिवको पद रक्षा गर्नै हम्मे परेको थियो । सतहमा देखिने गौतमको अवसरवादलाई पद रक्षाको लागि जे पनि गर्न पनि छुट दिने नेपालको पदलोलुपताको अकर्मण्यताले सघाएका कारण एमाले झन् संकटमा फस्यो ।

पुष्पलाल श्रेष्ठले जस्तै माधव नेपालले पनि खराब सहकर्मीको चक्रव्युह भेदन गर्न नसकेपछि पचासको दसकमा एमाले सफलताको ढोकानेर पुगेर पनि फर्कनुपरेको थियो । आज पनि अनुकूलता र प्रतिकूलता उस्तै छ । अध्यक्ष ओली चक्रव्युह भेदन गर्ने अर्जुन हुने र अभिमन्युहरूको पंक्तिमा लामबद्ध हुने, दुवै सम्भावना उत्तिकै दरिला छन् । हिजो एमालेले मनमोहनरूपी अनमोल मणि चिन्न सकेन ।

आफ्नो पक्षमा उछालिएको देशभक्त जनमतको रक्षा र दलाल एवं निमित्त पात्र राजनीतिप्रतिको जनसमुदायमा व्याप्त तीव्र घृणाको जगमा एमालेले देशको मियो बन्नु छ ।

आज पनि ओलीलाई भिल्लको देशको मणिजस्तै माल पाएर पनि चाल नपाउने खतरा जीवित छ । ओलीले संगठन, व्यवस्थापन र त्याग, गौतमले धैर्य, खनाल र नेपालले संयमको पोषण नदिएको खण्डमा एमालेका जरा उखेल्न कांगे्रस र केन्द्रले कुनै मोदी धाम चहारिरहनुपर्ने छैन । किनकि एमालेलाई बाहिरी एम्बुसले बिगार्दैन बरु आन्तरिक तुसले थला पार्ने गर्दछ ।

हिजो महाकाली सन्धि विवादले एमालेलाई विभाजनसम्म पुर्‌यायो । पार्टी विभाजन भएको पीडा र धपेडी बयोवृद्ध नेता मनमोहनको जीर्ण शरीरले थेग्न सकेन । यसरी एमालेरूपी जननीको शिर छेदन र मनमोहनको अकाल मृत्युको रगतबाट एमालेका शीर्ष नेताका हात रंगिएका थिए । हिजो नौमहिने उपप्रधानमन्त्री र फुटेको पार्टीकै किन नहोस्, महासचिव नभइनछोड्ने गौतमको हतारोले ल्याउने संकटको पूर्वानुमान गर्न नसक्नु एमालेको कमजोरी थियो ।

संगठन, व्यवस्थापन, तर्क, अनुशासन तथा साम, दाम, दण्ड र भेदको आड लिएर अवसरवादको उपचार गर्न माधव नेपालले आवश्यक नदेख्दा एमालेसँगै देशको राजनीति बिथोलियो । आज पनि एमाले अरूले थाप्ने बल्छी र केही हप्ताको लागि किन नहोस्, प्रधानमन्त्री हुने भोक जागेका वामदेव गौतम मिसाइलको खतराबाट मुक्त छैन । विगतबाट पाठ नसिक्ने हो भने एमालेको आन्तरिक जीवनले वियोगान्त नाटकले जस्तै एकाएक मति, गति र सरस्वती गुमाउने खतरा छ ।

बुद्धिमान को हो भन्ने यक्षप्रश्नको उत्तरमा युधिष्ठिरले वृद्धजनको सेवा भनेका थिए । सामथ्र्य र समयले साथ दिए पनि भण्डारीले अधिकारीको अपमान र अनादर गरेको देखिएन । सहकर्मीको चलखेल र तलतलसामु मनमोहनले रक्षात्मक, एक्लो र निरिह बन्नुपर्‌यो । मदन भण्डारीले सिर्जना गरेको रापतापमाथि नौमहिने सरकारले थपेको जनलहर रक्षा गर्न एमालेले मनमोहनलाई फेरि प्रधानमन्त्री बनाउनतिर अर्जुनदृष्टि राख्न सकेन । पदप्राप्ति, महत्त्वाकांक्षा पूर्ति र समीकरणको खेतीमा एमाले पारंगत हुँदै गयो । केही दर्जन बाठालाई मन्त्री नामको रोजगार सिर्जना गर्नमै दुई दसक बर्बाद भए । धैर्य गरेर विपक्षीको भूमिकामा रहेर जनमत निर्माण गर्ने रणनीति परित्याग गरियो ।

आज पनि जनतामा केपी ओलीप्रति जुन भरोसा र विश्वास छ, त्यसबाट पार्टी, लोकतन्त्र र जनतालाई लाभ पुर्‌याउनुपर्छ भन्ने चेत, विवेक र धैर्य एमालेका हस्तीमा देखिँदैन । दुई दसकपछि एमाले बल्ल सम्हालिँदै छ । ओलीको नेतृत्वकालमा आउँदो दसक युवा नेतृत्वको दसक बनाउने गृहकार्यको दरकार छ । किनकि एमालेले नमरुन्जेल कुर्सी नत्याग्ने सूर्यबहादुर थापा प्रवृत्ति बोक्नु छैन । मदन भण्डारीलाई ३७ वर्षको उमेरमा महासचिव बनाउने एमाले स्कुलिङले केही थान नेताको सौन्दर्यकर्मी हुन रमाउने राता मण्डले उत्पादन गर्ने कारखाना बन्नु छैन । प्रतिभाको टहल, नयाँलाई अवसर र विकल्पको प्रचुरता जबजको स्कुलिङको अर्को विशेषता हो ।

आजको एमालेसँग वैकल्पिक नेतृत्वको पंक्ति पनि छ । हरेक पार्टी प्रमुखको आगमनमा काँध थापी सर्व श्रेष्ठ किङमेकरको भूमिका निर्वाह गरेर पनि गुन बिर्सिएर आरिस गर्नेजतिले तेस्र्याएका तगारा हटाइदिएर कार्यकर्ताको अदालतले महासचिव ईश्वर पोखरेललाई न्याय दिन सक्छ । देशभक्ति र अखण्डताको ओली अडानमा थपेको आवाज र ऊर्जाले उपाध्यक्ष भीमबहादुर रावलको उठेको व्यक्तित्वलाई नजरअन्दाज गरी कसैले पनि आफ्नो लागि मात्र रोटी सेक्न खोज्नु बबन्डर गल्ती हुनेछ ।

राजनीतिलाई जनजीविकासँग जोड्ने जनमुखी बजेट निर्माण गर्ने भरतमोहन अधिकारीको विरासतलाई नयाँ पुस्तामा नवीकरण गर्न सफल पूर्व अर्थमन्त्रीद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे, जबजका व्याख्याताद्वय प्रदीप ज्ञवाली र शंकर पोखरेलदेखि अविजित एवं दुष्कर आलोचक घनश्याम भुसालसम्मको सही आकलन नगर्नु भ्रममा रहनु हो । आफूविना पृथ्वी शून्य हुने ठान्ने चरम महत्त्वाकांक्षीको घैंटोमा घाम लगाउन सक्ने औकात नयाँ पुस्ताले राख्नुपर्छ ।

परिवर्तन संसारको नियम हो । पुराना पात झर्छन्, नयाँ पात पलाउँछन् । अन्डाबाटै नौरंगी डाँफे बन्छ । झुसिलकीरा रंगीचंगी पुतली बन्छ । भारतमा भाजपामा नरेन्द्र मोदी, राजनाथ सिंह, सुसमा स्वराजको पुस्तासामु लालकृष्ण आडवाणीको पुस्ताले हात उठाइसकेको छ राहुल गान्धी, अरविन्द केजरीवाल, अखिलेश यादव, आधुनिक भारतको राजनीतिमा जमिसके । चीनमा सी जिनपिङ नेतृत्वको नयाँ पुस्ता मातृभूमिको सेवामा कम्मर कसेर लागेको छ । एमालेजस्तो गतिशील पार्टी वासी अनुहारको मोहजालबाट मुक्त नहुने हो भने आगामी दिनमा कमजोर नेतृत्व र रणनीतिको खतरा दोहोरिन सक्छ । राजनीतिमा एउटा गल्ती गर्नु अस्तित्वबाट राजीनामा दिनुसरह हुन जान्छ । किनकि इतिहासले अर्थशास्त्रको बेरुजु फस्र्यौट गर्न अनुमति दिन्छ, तर राजनीतिको अकर्मण्यता मेट्ने अनुमति दिँदैन ।

एमाले अहिले गर्भिणी आमाजस्तो संवेदनशील चरणमा छ । आफ्नो पक्षमा उछालिएको देशभक्त जनमतको रक्षा र दलाल एवं निमित्त पात्र राजनीतिप्रतिको जनसमुदायमा व्याप्त तीव्र घृणाको जगमा एमालेले देशको मियो बन्नु छ । त्यसैले एमालेले समीकरणको राजनीति होइन, जनमत निर्माणको चुनावी रणनीति अख्तियार गर्नुपर्छ । स्थिर सरकारको लागि चाहिने जनमत सिर्जना गर्न स्थिर रणनीति, दूरदर्शिता र धैर्यको दरकार पर्दछ । कसैलाई पराहीको दलाल भनेको केही महिना नबित्दै एउटा चुनावमा सम्म नगएर फेरि तीनै दलको समर्थनमा सरकारको नेतृत्व गर्नु वा सहयोगी हुनु भनेको अवसरवादी खेलाडी बन्नु हो ।

एमालेले भविताको भर पर्ने गिद्द होइन, हात्तीमाथि हमला गर्ने सिंहले जस्तै पौरखमा विश्वास गर्नुपर्छ । ताजा जनादेशमार्फत सुविधाजनक बहुमतको लागि जनता गुहार्नुपर्छ । राजनीतिक अस्थिरता अन्त्यको लागि लक्षमा अटल रहनुपर्छ । पौरख होइन, भविताको भर परेमा विगत दुई दसकमा पस्किएको अस्थिर राजनीतिको एक हिस्सा फेरि पनि एमाले भइरहनेछ । यसले अन्य पार्टीजस्तै सरदर पार्टी हुने खतरा बढ्नेछ । मरेको सिनोलाई लक्ष बनाउने गिद्द सफल हुनुभन्दा हात्तीमाथि हमला गर्ने सिंह असफल हुनु अर्थपूर्ण हुनेछ । यसर्थ एमालेले लक्षवर्ती र एकताबद्ध भएर युग नेतृत्वको नमुना पस्किन सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.