प्रस्तावित गाउँपालिकाको विरोधमा बर्दियामा चक्काजाम
बर्दियाः बर्दियाको खैरीचन्दनपुर गाविसलाई पाताभार गाविससँग जोडेर गाउँपालिका बनाउन प्रस्ताव गरेको विरोधमा त्यस क्षेत्रका स्थानीयबासीले अनिश्चितकालीन चक्काजाम गरेका छन्।
जिल्ला बिकास समिति बर्दियाको प्राविधिक समिति र राजनीतिक दलहरुले स्थानीयको माग अनुसार खैरीचन्दनपुन गाविसलाई राजापुर नगरपालिकामा समावेश नगरेकाले भन्दै स्थानीयबासीहरु त्यसको विरोधमा चक्काजाम गरेका हुन्।
चक्काजामका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्। कुटनीतिक नियोग र अत्यावश्यक सवारी साधनको आवागमन खुला गरिएपनि भाडाका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। आन्दोलनकारीहरु नेपालकै लामो गेरुवा (कर्णाली) पक्कीपुलमा वसेर खैरीचन्दनपुर गाविस क्षेत्र बन्द गरेका हुन्।
जिल्लास्थित प्राविधिक समितिले खैरीचन्दनपुर गाविसलाई पाताभारमा जोड्दै गेरुवा गाउँपालिका वनाउने प्रस्ताव जनचाहना विपरित रहेको आन्दोलनका संयोजक देवीप्रसाद घिमिरेले वताए। खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा जोड्दा सवैलाई पायक पर्ने उनको भनाइ छ । पाताभार गाविस अपायक पर्ने भउकाले अविलम्व निर्णय सच्चाइनु पर्ने उनले बताए।
आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरिए आन्दोलनका थप कार्यक्रम अघि वढाइने उनले चेतावनी दिए। उनले माग पूरा नहुँदासम्म दिनहुँ विहान ५ वजेदेखि बेलुकी ५ वजेसम्म चक्काजाम गरिने बताए। खैरीचन्दनपुर, मनाउ, पाताभार, गोला र पशुपतिनगर गाउँविकास समितिलाई गेरुवा गाउँपालिका बनाउने प्रस्ताव केन्द्रमा पठाइएको छ।