पृथ्वीको तापक्रम कम गर्न यसरी गर्नुहोस् कार्बनको कटौती
![पृथ्वीको तापक्रम कम गर्न यसरी गर्नुहोस् कार्बनको कटौती](https://annapurnapost.prixacdn.net/media/albums/Climate-Change-burning-earth-in-hand-584038d79f34a6.01497368_3NlhcqOCZ4.jpg)
पेरिसः पृथ्वीमा मौसम परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य पूरा गर्न विश्वका महानगरले एक दशकभित्र संयुक्त रूपमा करिब आधा कार्बन अवशेष कटौती गर्नुपर्ने बिहीबार एक विश्लेषणमा देखिएको छ ।
यसै साता मेक्सिको नगरमा भेला हुने ८४ महानगरका मेयरहरूले कार्बन प्रदूषण कम गर्न दीर्घकालीन बचनबद्धता व्यक्त गर्ने सी ४० नामक सहरी शिखर सम्मेलनका आयोजकले जानकारी दिएका छन् ।
यस संस्थाले जारी गरेको प्रतिवेदनमा यसका लागि तत्कालै काम गर्नैपर्ने उल्लेख गरिएको छ ।
सी ४० नामक संस्था महानगरको विश्वव्यापी सञ्जाल हो । यसका कार्यकारी निर्देशक मार्क वाट्सले पेरिस सम्झौताको महत्वाकाँक्षी भागमा विश्वका महानगरहरूले योगदान दिनसक्ने वा नसक्ने भन्ने कुरा आउँदो चार वर्षमा निर्धारण हुने बताए ।
तीनदिने सम्मेलन अगाडि उनले पत्रकारलाई नगरहरूले उग्र रूपमा काम नगरे १९६ मुलुकको मौसमसम्बन्धी सम्झौता कार्यान्वयन हुन नसक्ने बताए । उक्त सम्झौतामा गत डिसेम्बरमा फ्रान्समा हस्ताक्षर भएको थियो ।
पेरिस सम्झौतामा विश्वको तापक्रम वृद्धि पूर्वऔद्योगिक स्तरभन्दा माथि पुर्याउन दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने उल्लेख गरिएको छ ।
उक्त सम्झौतामा राखिएको र मुलुकहरूले बचन दिएको कार्बन कटौतीलाई हेर्दा पृथ्वीको तापक्रम तीन डिग्री सेल्सियसले बढ्ने देखिन्छ । वैज्ञानिकले त्यसैले पनि पृथ्वीको मौसममा ठूलो प्रभाव पार्ने बताएका छन् ।
हाल पृथ्वीको तापक्रमका कारण यस ग्रहमा सुखा, ठूला आँधी लु चल्ने गरेको र समुद्रको सतह बढ्दा तटीय क्षेत्रमा बाढी आउने गरेको बताइन्छ ।
मुलुकहरूले आफ्नो बचनबद्धतामा धेरै वर्षसम्म पुनरावलोकन गरेका छैनन् ।
न्यु योर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले विश्वको तापक्रमको नराम्रो प्रभाव पर्न नदिन नगरहरूले आउँदा दिन तथा वर्षमा ठूलो भूमिका खेल्नुपर्ने बताए । उनी संयुक्त राष्ट्रसङ्घको मौसम परिवर्तनका विषयमा विषेश दूत तथा सी ४० संस्थाका अध्यक्ष हुन ।
उनले पत्रकारलाई महानगरका मेयरहरूले यो कुरा उनीहरूको अभिरुचिको विषय भएको थाहा पाएको बताए । सी ४० मुलुकमा ९० नगर सदस्य छन् र उनीहरूले ६५ करोड जनतालाई आवास दिएका छन् ।
एक सय पृष्ठको यस प्रतिवेदनको नाम ‘‘डेडलाइन २०२०’’ रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)